साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मङ्गलीको मन

कथा

Chovar Blues Mobile Size

सूर्यको लालीले बिहानीलाई रङ्गीन बनाएको छ । चराको चीरबीर गुञ्जनको मिठास जो कोहीलाई मोहनी लगाउने खालको छ । कोइलीको कुहुकुहु…ले त निःसन्देह उराठ मनमा पनि रङ भरिदिन्छ । वनपाखा मुस्कुराइरहेका छन् । गाउँ छेउको अग्लो झरनाको कलकल आवाजले मनै आनन्दित बनाउँदैछ । अनेकथरीका पुष्प सुवासले त्यसै उसै लठ्ठ बनाउँछ ।
वातावरण नै आखिर छ प्रेमिल ।
“ङा नाङकाई झकालाङ ।”
गोरेले आज साहस जुटायो । सास रोकेर मातृभाषामा मनको कुरा खोल्दै मङ्गलीलाई रातो गुराँसको फूल दियो । मौका पारेर जम्माजम्मी तीन शव्दमा मनका कुरा राख्दा पनि उसको मुटु ढक्क फुलेजस्तो भयो । केही दिनदेखि उसले यो मौकाको खोजी गरिरहेथ्यो । मङ्गलीको चढ्दो बैंशले गोरे मोहित बनेको थियो । पानी पँधेरो जाँदा बाटोमा एकान्त पारेर मङ्गलीसँग मनको कुरा राख्न पाएकोमा ऊ मनमनै बिछट्टै खुसी छ ।
गाउँकै माइला चेपाङको छोरो हो, गोरे ।
मङ्गली पनि असमञ्जसमा परी, के सोची खै ! लजाउँदै फूल समाती । एक पटक गोरेलाई छड्के नजर लगाई । केटोले चाल पाएन । लाग्थ्यो, पाखा पखेरामा यो जोडीलाई आज ‘भगवान्’ले समय जुराइदिएका छन् । मङ्गली पनि गोरेले मन पराएर माया गरेकोमा मनमनै मख्ख थिई ।
बोलीचालीमा प्रायः नेपाली भाषाकै प्रयोग गर्ने गोरेले आज आफ्नी मनकी रानी मङ्गलीलाई आफ्नो मातृभाषा (चेपाङ भाषा)मै प्रेम प्रस्ताव राख्यो । यसको पनि आफ्नै अर्थ छ । उसका ‘बाउ’ले आमालाई र काकाले काकीलाई मातृभाषा (चेपाङ भाषा)मै प्रेम प्रस्ताव राख्दा सफल भएको भन्ने उसले सुनेको थियो । त्यसैले उसको मनमा आफ्नै भाषामा प्रेम प्रस्ताव राख्दा सफल हुन्छु भन्ने एक प्रकारको विश्वास नै बसिसकेको थियो ।
उमेरले मात्र चौधमा टेकेको गोरेले हातमा ढकमक्क फक्रेको रातो गुराँस त दिएको थियो तर उमेरमा प्रेम गर्नका लागि ऊ फक्रिसकेको भने अवश्य थिएन । उमेर नफक्रँदै विवाह गर्नु उसको वंश परम्परा जस्तै बनिसकेको थियो । उसका ‘बाउ’ बिहे हुँदा तेह्र वर्षका मात्र थिए रे ! अनि काकाले पनि त चौध वर्षमै काकी भित्र्याएको उसले सुनेको थियो । चौध वर्षको गोरे कानुनका लागि नाबालिग थियो होला तर उसको समुदायका लागि लक्का जवान ।
मङ्गलीले गोरेलाई आफूप्रति आकर्षित गर्न त सकी तर उमेरले तेह्र मात्र लागेकी मङ्गलीलाई यो प्रेम गर्ने बेला हो वा होइन के थाहा ! उसको लजालु मुस्कान नै जवाफ थियो । सल्बलाएका ओठ र आँखाको भाव नै काफी थियो । ऊ केही बोल्नै सकिन । लजालु मुस्कान र आँखाको भावभित्र गोरेप्रतिको अव्यक्त प्रेम छचल्किएको थियो । केही क्षणसम्म वतावरण मौन रह्यो । बोले त केवल आँखाआँखा, मनमन ।
गोरेले मौनतालाई भङ्ग गर्यो । “नाङ ङकाइ झन् कतेना ?” (तिमी मलाई मन पराउँदिनौ ?)
मङ्गली झनै लजाई । ऊ केही बोल्नै सकिन । गोरेले दिएको गुराँसको फूल हातमा चरप्प समातेर घरतिर दौडी । गोरे पनि मङ्गलीको पछि लाग्यो । मङ्गली पर पुगिसकेकी थिई । उसले भेटेन । अनि ऊ आफ्नै घरतिर हिँड्यो । गोरे पर पुगेपछि मात्रै मङ्गली फेरि पँधेरोतिर लम्किई ।
यो मौसम पनि प्रेमिल जोडीहरुको पक्षमा छ । गोरेको घरभन्दा माथि डाँडामा ढकमक्क फुलेको गुराँसले पनि यसलाई सङ्केत गरिरहेको आभास गराउँछ । त्यहीमध्येको एउटा थुँगा उसले मनकी रानी मङ्गलीलाई दिएर प्रेम प्रस्ताव राखेको थियो ।
जसै मङ्गलीसँग छुटेर ऊ घरतर्फ लाग्यो आफैँमा हराउन थाल्यो । खुला आकाश । रातै फुलेका गुराँसको अलिक माथि जस्तो टलक्क टल्केका देखिने हिमालले आफूलाई गिज्याइरहेको महसुस गर्‍यो उसले ।
मङ्गली र गोरे चेपाङ सहपाठी हुन् । गाउँकै विद्यालयमा पाँच कक्षाका विद्यार्थी हुन् उनीहरु । यो कक्षा उनीहरुले दोस्रो वर्ष पढ्दै छन् । कक्षा उत्तीर्ण भएर पनि ६ कक्षा पढ्न झण्डै चार घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यताले उनीहरुले आफ्नै घर नजिकको विद्यालयमा कक्षा दोहो¥याएका हुन् । मङ्गलीलाई पछिल्लो समय विद्यालयभन्दा पनि दिनभरिजसो आफ्नै घरमा भाइबहिनीको धरालो बस्नुपर्ने बाध्यता छ । गरिबीका कारण परिवार पाल्नकै लागि बाबुआमा दैनिक ज्यालादारीमा काम गर्न निस्किएपछि मङ्गलीलाई आफूभन्दा साना चारजना भाइबहिनीको धरालो बन्नुपर्ने बाध्यता भएको हो ।
––– ––– ––– –––
मङ्गली र गोरे एउटै गाउँका हुन् । एउटै गाउँ अनि सँगै स्कुल जाने आउने गरेकै कारण उनीहरुबीच हिमचिम बढ्यो । गोरेको प्रेम प्रस्तावले मङ्गलीको मन बेचैन छ । मनको अग्नि तापमा होमिएकी छे । के उत्तर देओस् बिचरी उसले पनि ! ‘के भन्ने ?’ ऊ दोधारमा परी । बालमस्तिस्क न हो, के के सोची सोची । जुरुक्क उठी अनि गोरेको घरतिर लागि ।
गोरेले मङ्गली आउँदै गरेको देख्यो । घरमा ऊ पनि एक्लै थियो । ‘मङ्गली किन आई ?’ गोरेको मन छटपटिन थाल्यो । ऊ आँगन छेउ उभिइरह्यो । गोरेको घर पुग्ने बेला मङ्गलीले अलि सुस्त सुस्त पाइला चाल्दै गई । गोरेको नजिकै पुग्न लाग्दा च्यात्तिएको मजेत्रोले शीर र मुख छोपी ।
मङ्गलीले पनि साहस जुटाएरै भनि, “गोरे, ङा नाङकाई झकालाङ ।” गोरे खुसीले बुरुक्क उफ्रियो, भन्यो, “म तिम्रो बुबासँग छिट्टै तिम्रो हात माग्न आउँछु ।” मङ्गलीले टाउको हल्लाएर सहमतिको सङ्केत दिई । गोरेको मुखमा पुलुक्क हेरी अनि फर्किएर आफ्नो घरतिर दौडिई । मङ्गलीले आफ्नो प्रेम प्रस्ताव स्वीकार गरेकीले गोरेलाई संसारै जितेजस्तो भयो आज ।
––– ––– ––– –––
भेट हुँदा अक्सर गोरे जिस्काउँथ्यो, मङ्गली लजाउँथी ।
आज अर्को परीक्षाको घडी छ । साँझ बढ्दै छ, गोरे आफ्नो बुबालाई लिएर मङ्गलीको घर आएको छ । नङ पनि नफाली सफा गरेर सिङ्गै पकाएको भोर्ले कुखुराको भाले र १२ बोतल हुने गरी एक घैँटो कोदाको तीन पाने रक्सी लगिएको छ, मङ्गलीको हात माग्न । गोरेका बाबु छोरालाई मङ्गलीका परिवारले स्वागत गरे ।
चेपाङ समुदायमा सगुन लग्दा कुखुराको नङ नफाल्नुको पनि आफ्नै सांस्कृतिक महत्त्व छ । नङ फालेको कुखुरा लगे केटी थोते छ भनेर जिस्काएको भनेर केटी पक्षले दोष लगाउँछन् ।
केटा पक्षले यसरी केटी पक्षलाई मासु र रक्सी उपहार दिएर छोरी माग्ने परम्परालाई पुङ् खुवाउने भनिन्छ । चेपाङ समुदायमा पनि यो परम्परा छ । केटी पक्षले केटाको घरबाट लगेको पुङ्ग स्वीकार गरे भने विवाह पक्का हुन्छ, नत्र भत्कन सक्छ ।
मङ्गली बुबाले पुङ् स्वीकार गरे हुन्थ्यो भन्ने पक्षमा छे । उसले विवाह गरेर गोरेसँग संसार सजाउने सपना बुनिसकेकी छ ।
घरमा सबै जम्मा भएका छन् तर कोही बोलेका छैनन् । सन्नाटाकै बीचमा गोरेलाई बाबुले इशारा गरे । हिम्मत जुटाएर मङ्गलीका बुबातिर फर्किएर टाउको अलिकति झुकाएर गोरे बोल्यो, “नाङको चोङ्याङ ङाकाई बइची” (तपाईंकी छोरी मलाई दिनुहोस्) । मङ्गलीका बुबा केही बोलेनन्, हाँसे मात्रै । घरकै दलिनमा आड लागेर बसेकी छोरीतिर पुलुक्क हेरे अनि मुन्टो हल्लाएरै ‘हुन्छ’ भन्ने सङ्केत दिए । कुरा मिल्यो, सबै मिलेर रक्सी, मासु खान थाले । मङ्गलीले रक्सी भाग लगाइदिई । विवाहको कुरा टुङ्गो लगाएर छुट्टिने बेला सबै रक्सीले मातिसकेका थिए । गोरेका बा छोरालाई मङ्गलीका बाले आँगनको डिलसम्म पुगेर बिदा गरे ।
––– ––– ––– –––
मङ्गलीका परिवारले पुङ् स्वीकार गरेसँगै दुईको विवाहले परिवारबाटै स्वीकृति पायो । चेपाङ परम्पराअनुसार पहिलो पुङ् कार्यक्रमपछि उनीहरुले फेरि विवाह गर्ने दिन टुङ्ग्याउनका लागि ‘ठेगान पुङ्ग खाने कार्यक्रम’ राख्नुपर्ने हो । तर दुवै परिवारकै सहमतिमा यो कार्यक्रमलाई छोट्याएर विवाहकै दिन सबै गर्ने योजना बन्यो ।
निर्धारित मितिभित्र आफ्नो परम्पराअनुसार विवाह सम्पन्न भयो । विवाहको दिन पनि आफ्नो परम्पराअनुसार गोरेले जन्ती लिएर आउँदा आफ्नै आमाले कानमा लगाएको पुरानो ढुङ्ग्रीसहित पाँचभारी रक्सी र मासुका लागि कुखुरा, बाख्रो उपहारमा आयो मङ्गलीका घरमा । मङ्गलीका बाबुले पनि आफ्नो परम्पराअनुसार छोरीलाई आफ्नो घरभन्दा तल रहेको चिउरीको बोट उपहार दिए ।
चेपाङ समुदायमा छोरीलाई दाइँजोमा चिउरीको बोट दिने चलन छ । चिउरीको बोटको पनि आफ्नै महत्त्व छ । यो बहुउपयोगी रुख हो भन्ने थाहा छ मङ्गलीलाई । उसका घरमा चिउरीको बियाँको घ्यू बनाएको देखेकी छे मङ्गलीले । फलले रक्सी बनाउने, तेल तथा घ्यू हातगोडा फुटेको र हिलोले खाएको औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । चिउरीको फूल त झनै उपयोगी मानिन्छ । फलको तेल निकालिएको पिना खेतवारीमा मल र औषधिका रुपमा पनि प्रयोगमा ल्याइन्छ । यस्तो बहुउपयोगी चिउरीको बोट दाइजो पाएकोमा गोरे पनि मख्ख छ ।
सानै उमेरमा मङ्गलीले विवाह गरेको कुरा उसकै साथी आइतीलाई भने कत्ति मन परेको छैन । आइती मङ्गलीको बालसखा हो । सँगै खेल्ने, स्कुल जाने सबैभन्दा नजिकका मिल्ने साथी हुन्, मङ्गली र आइती । पाँच कक्षा उत्तीर्ण गरेपछि आइतीले चार घण्टा हिँडेरै भए पनि पढाई रोकिन । आइतीका बाबुआमा ऊ स्कुल नजाओस् भन्ने चाहन्थे । त्यति टाढाको स्कुल ! सधैँका दिन कहाँ उस्तै हुन्छन् र ! बरु घरकै काममा सहयोग गरोस् भन्ने चाहना उनीहरुको थियो तर उसले मानिन । दुःखै गरेर भए पनि स्कूल पढ्न छाडिन । सँगैकी साथी मङ्गली भने विवाह बन्धनमा बाँधिई । बेहुली भएर पराइ घर गई । त्यो दिन आइतीलाई साह्रै नरमाइलो लाग्यो । मङ्गलीलाई बिदाई गरेपछि आइती मजेत्रोले आँशु पुछ्दै घरतिर लागि । मन थाम्न सकिन । बाटोमा सुँक्कसुँक्क गर्दै गई । पधेँरोमा मुख धोएर घरतिर लागी, मन गह्रौँ भयो ।
––– ––– ––– –––
बिहेपछि गोरे र मङ्गली दुवैले पढाइ छाडे । ज्याला मजदुरी, साँझ बिहान घरको काम उनीहरुको दैनिकी हुन पुग्यो । हुन पनि जीवन धान्न मजदुरीको कुनै विकल्प पनि त छैन उनीहरुका लागि । आफ्नो बारीमा उब्जाएको अनाजले चार महिना पुग्न पनि गाह्रो छ । भीरपहरामा भेटिएका गिठ्ठा भ्याकुर उनीहरुको आहारा थियो । ज्याला मजदुरी गरेरै रुखोसुखो जीविकोपार्जन गर्नुपर्ने बाध्यता उनीहरुको पुस्ता परम्परा बनिसकेको छ ।
बिहे गरेको तीन वर्ष पनि नबित्दै दुई सन्तानकी आमा भई मङ्गली । वर्षौँटे सन्तान अनि त्यसमा पनि कम उमेरमै जन्माउनु पर्दा कम्ती पीडा भोग्नु परेन उसले । पहिलो सन्तान जन्माउँदा ऊ १४ वर्षकी मात्रै थिई । बच्चा त बस्यो, सुत्केरी हुने बेलामा बढी रक्तश्राप भएर झण्डै ज्यान गएको !
कम उमेरमै विवाह गरी छिट्टै गर्भवती हुँदा आफ्नै भाउजू अनि पल्लो घरकी ठूल्दिदीले ज्यान गुमाउनु परेको अवस्था सम्झँदा त मङ्गली खुब डराएकी थिई । परिस्थिति यस्तै भयो । अरु केही नभए भगवानले हात थाप्छन् भनेर उसले आफूलाई सान्त्वना दिनुको अर्को उपाय थिएन ।
सानै उमेरमा बच्चा जन्माउँदा आमाले बच्चालाई स्याहार गर्ने कि आफ्नै स्याहार गर्ने ? मङ्गलीको अवस्था पनि यस्तै छ । आफूसँगैकी साथी आइती सधैँ किताब बोकेर आफ्नै घर अगाडिबाट विद्यालय गएको देख्दा मङ्गलीको मन एकतमासको बन्छ । आइतीको ठाउँमा आफूलाई उभ्याएर हेर्छे । झस्किन्छे, अनि आफूले विगतमा लिएको निर्णयमा पश्चाताप गर्छे । सोह्र वर्षमै दुई सन्तान र काँधमा घर सम्हाल्ने जिम्मेवारी छ । कल्पना गर्छे, ‘म पनि आइतीसँगै पढ्न पाएको भए…।’
––– ––– ––– –––
दिन बित्दै जान्छ । घर मेलापात गर्दै दुई सन्तानकी आमा मङ्गली १६ वर्षमै उमेर ढल्किएजस्तो देखिन्छे । न त सुत्केरी हुँदा पोषणयुक्त खाना, न त आङ ढाक्ने राम्रो कपडा नै छ । गोरे पनि त बल्ल १६–१७ वर्षको लोर्के ठिटो हो । झिल्के, सर्लक्क परेको छ । उसलाई अब आफ्नै श्रीमती नराम्री लाग्न थाली । अनि बिस्तारै ऊ अरु केटीहरुप्रति आकर्षित हुन थाल्यो । यो कुरा मङ्गलीलाई पाच्य हुने कुरै भएन । यसै कुराले उनीहरुको घरमा कलह हुन थाल्यो ।
“अहिले अरु केटीसँग यस्तो गर्ने भए मलाई किन बिहे गरेको त ?” मङ्गली झर्कन्छे । गोरे नाजवाफ हुन्छ । सुरुमा त गोरेले आफू कसैसँग नजिक पनि नपरेको बताउँछ । झूट लामो समय छिप्दैन भनेझैँ गोरेका नाजायज सम्बन्धहरु बाहिर आउँछन् । श्रीमतीले आफ्ना दुई सन्तानलाई हेरेर यस्तो व्यवहार त्याग्न आग्रह गर्छे तर गोरेले सुन्दैन । यही कुराले गोरे र मङ्गली बीचको सम्बन्ध बिग्रन थाल्छ । गोरे कयौँ दिन घर नै नआई बाहिरै बस्न थाल्छ । यही क्रमले एक दिन दुई दिन हुँदै वर्ष बित्छ । गोरेले घरमा अर्की श्रीमती भित्र्याउँछ । अर्की श्रीमती भित्र्याएसँगै गोरेको मङ्गलीप्रतिको व्यवहार पनि रुखो बन्दै जान्छ । एक दिन रक्सी खाएर आएको गोरेले मङ्गलीमाथि हात उठाउँछ ।
दिनदिनैको आफूमाथिको कुटपिट र अन्याय मङ्गलीले कति सहोस् ! मङ्गलीले गाउँलेहरुसँग गुहार माग्छे । उसले यति अन्याय सहेर गोरेसँग बस्न नसक्ने भनाई राख्छे । गाउँलेहरुको भेलामा रुँदै उसले भन्छे, “अब म योसँग बस्न सक्दिन ।” गोरे समाजकै अगाडि रिसाउँछ र भन्छ, “नाङ ड्याह् ल्याउको ल्याम कानु ङा लैको ल्याम कन्नाङ” (त्यसो हो भने तँ आफ्नो बाटो लाग,् म पनि आफ्नो बाटो लाग्छु) ।
गोरेले चाहेकै यही थियो । उसलाई भन्न सजिलो पनि छ । उसले दोस्रो विवाह पनि गरिसकेको छ । तर महिलालाई छोराछोरी छोडेर बाटो लाग्न के सजिलो छ र ? मनले यो कुरा सजिलै मान्ला ? मङ्गली के सोच्दै थिई । त्यसै बेला समाजका भद्र भलाद्मीले उनीहरुलाई मिलेर बस्न गरेको आग्रहले झस्किई । समाजको कुरामा दुवै टसका मस भएनन् । एउटै भान्छामा सधैँ झगडा गरेर बस्न त्यो पनि सम्भव ठानेनन् । भद्रभलाद्मीले भनेझैँ त्यही घरको पाली बारेर मङ्गली एक्लै बस्न राजी भई ।
छुट्टिएपछि मङ्गलीलाई आफ्ना दुई सन्तान पाल्न सजिलो थिएन । उमेरकै थिई । हरेक दिन ज्याला मजदुरी गर्थी । दुःख गरेरै आफ्नो र बालबच्चाको जीविका चलाउँदै आएकी थिई । यसरी नै जीवन निर्वाह गर्दै गर्दा मङ्गली पनि बीस वर्षकी भई । उसका सन्तान पनि अब स्कुल जाने उमेरका भए । अहिले त उसकी साथी आइती त्यही विद्यालयको शिक्षक बनेकी छ । आफ्नो बालसखा शिक्षिका भएकै कारण पनि विद्यालयमा छोराछोरी भर्ना गर्न उसलाई गाह्रो भएन ।
“हेर तिमी पढ्यौ र त गाउँमै शिक्षक भएर आयौ, म पढिन । अहिले दुःख पाइरहेकी छु”, मङ्गलीले आइतीलाई भनी । आइती पनि मुसुक्क हाँस्दै भन्छे, “मोरी तँलाई पनि त मैले बिहे नगर्, पढम् भनेकै हो नि ! मानिनस् ।”
उनीहरु बीचको भलाकुसारी चल्दै थियो । दुईवटा गिलासमा चिया लिएर कोही आयो । दुवै जनाले मीठो मानेर चिया खाए । मङ्गली आफ्ना दुवै छोराछोरीलाई स्कुलमा भर्ना गरेर फर्की ।
––– ––– ––– –––
छोराछोरी स्कुल जान थालेपछि मङ्गली दिउँसोमा अलि बढी फुर्सदिली भई । काम गर्न टाढाटाढा जान पनि भ्याउने भई । यसरी नै काम गर्ने क्रममा उसको पनि आफ्नै गाउँको ठूलेसँग मायाप्रेम बस्यो ।
एक वर्षअघि सुत्केरी हुन नसकेर ठूलेकी श्रीमतीको १४ वर्षमै ज्यान गएको थियो । ठूलेको प्रेममा मङ्गलीले अलिकति भए पनि आड भरोसा गरेकी छे । तर उसलाई आफ्ना दुई सन्तान छाडेर ठूलेसँग कसरी जाने भन्ने चिन्ता छ ।
‘उल्ले मछँदै कान्छी ल्यायो । ममाथि मात्र अन्याय गरेन आफ्ना यी सन्तानमाथि पनि ठूलो अन्याय गरेको छ । अब मैले पनि छाडेर गए यी लालाबालाको के हालत होला ?’ मङ्गली ठूलो चिन्तामा परी ।
उता, मङ्गलीको मन ठूलेले तानिसकेको छ । फेरि मनमनै भुटभुटिन्छे, ‘जसको बीउ हो उसैले त मतलब गर्दैन भने मैलेमात्रै उनीहरुको रेखदेख गर्न केको कर ?”
मङ्गली पछिल्लो समय यस्तैयस्तै कुराले विचलित छे । छोराछोरी छाडेर जाऊँ, उनीहरुको बिचल्ली हुन्छ । नजाऊँ, अहिले ठूलेले पनि बिहे गर्न दबाब दिइरहेको छ । श्रीमती नभएपछि ठूलेलाई पनि घर धान्ने श्रीमती चाहिएको छ । उसले आफ्ना दुई सन्तान लिएरै विवाह गर्ने प्रस्ताव गर्छे तर ठूले त्यो कुरा मान्न तयार हुँदैन । अनि मातृत्वको ममतालाई बिर्सिएर जे त होला भन्दै उसले पनि ठूलेसँगै जीवन बिताउने निर्णय गर्छे । उनीहरु भागेरै विवाह गर्छन् ।
मङ्गलीले दोस्रो विवाह गरेको कुरा गाउँमा ठूलै चर्चाको विषय बन्यो । पुरुषले दोस्रो विवाह गर्दा सजिलै पचाउने हाम्रो समाज महिलाले दोस्रो विवाह गर्दा किन सजिलै पचाउन सक्दैन ? उमेरकै हिसाबले त भरखरै विवाह गर्ने उमेरकी छे मङ्गली पनि । आफ्ना इच्छा, चाहनाहरु पनि किन नबुझेर कुरा काटेका होलान् भन्ने लाग्छ मङ्गलीलाई ।
आमाले पनि छाडेर गएपछि गोरे र मङ्गलीका छोराछोरी अहिले झनै बिचल्लीमा परेका छन् । सौतेनी आमासँग बसेको बाबुले पनि उनीहरुलाई वास्ता गर्दैन ।
ती दुई बालबालिकाको बिचल्ली भएको छरछिमेकीले हेरेर बस्न सकेनन् । गाउँलेले उनीहरुलाई अनाथालय पठाउने सल्लाह गरे । यो कुरा कता कता मङ्गलीको कानमा पनि पर्‍यो ।
बाबु आमा छँदाछँदैका अनाथ भए उनीहरु । आज छिमेकीको सहयोगमा ती दुई बालबालिकालाई विदेशी लगानीमा स्थापित अनाथालयमा पठाइँदैछ ।
मङ्गलीलाई आज बिहानैदेखि संसारै अँध्यारो लागिरहेको छ । खाना पकाइवरी ठूलेलाई खुवाई । आज अलि सञ्चो छैन भनेर काममा पनि गइन । ठूले काममा निस्कियो । मङ्गलीले खाना खान सकिन । वनको बाटोको अलि माथिपट्टि छेलिएर बसी । मैलो मजेत्रोले मुख छोपेर बाटोतिर टोलाइरही । ‘अब भेट होला नहोला, देख्न पाइएला नपाइएला’, उसलाई आफूले दश महिना कोखमा राखेर जन्माएका, आफूले खाइनखाई बडो प्यारले हुर्काएका सन्तानको एकपटक मुख हेर्ने उत्कट इच्छा जाग्यो ।
एकैछिनपछि गाउँकै केही छिमेकी र दुई जना नयाँ मान्छेले आफ्ना कलिला लालाबालालाई डो¥याएर जाँदै गरेको देखी, मङ्गलीले । मन भक्कानिएर आयो, आँखाबाट बलिन्द्र आँशु बग्न थाल्यो । आँशु पुछ्दै एक तमासले हेर्दै छे ऊ । दौडदै गएर छोराछोरीलाई च्याप्प अँगालो हालेर छातीमा टासिरहुँ जस्तो लाग्यो, फर्काएर ल्याउँ जस्तो पनि लाग्यो । तर त्यसपछि के ? बाध्यताको भूमरीमा छ मङ्गली । हेर्दाहेर्दै उनीहरु टाढा हुँदै गए, अलप भए ।
वन जलेको भए सबैले देख्थे, मङ्गलीको मन जलेको कसले देख्नु ? ऊ घण्टौँसम्म बसेको ठाउँबाट उठ्न सकिन । आँशु पनि सहारा बन्दोरहेछ जीवनमा कहिलेकाहीँ, मङ्गलीको जीवनमा पनि यस्तै भयो आज । टाउको फुट्ला जस्तो भएको छ, रुँदारुँदा ऊ निकै थकित र कमजोर बनेकी छ । साँझ पर्न लाग्यो, ठूलेलाई सम्झिई अनि आड लागेको रुखको सहारामा बिस्तारै उठी । आखिर आमाको मन न हो । शरीर घरतिर घिस्रिदै छ, मन उतै लालाबाला गएतिर दौडिरहेको छ ।

प्रतिक्रिया
Loading...