पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो प्रकाशनमा आएको छ । डेड वर्षअघि ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीको मोम्चो दोस्रो कथासङ्ग्रह हो ।

भुँडी पुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा ११ वटा कथाहरू रहेको जानकारी प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले दिनुभयो ।

momcho

मोम्चो चेपाङ भाषाको शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठान गरिएको कृति भएको बताउनुभयो ।

“यस कृतिमा रहेका ११ वटा कथाहरु मध्ये मोम्चो शीर्ष कथा हो जसको नामवाट कृतिको नाम नै राखिएको छ”, पराजुलीले भन्नुभयो, “मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।”

मङ्सिर १९ गते गैँडाकोटस्थित द नारायणी रिसोर्टमा अक्षर समूह चितवनको आयोजनामा विशेष कार्यक्रमका बिच यो कृतिको विमोचन हुँदै छ । विमोचनमा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गर्नुहुने कार्यक्रम तय भएको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।