भरतपुर । वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ यस वर्षको ‘शहीद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार’का लागि छनोट भएको छ।

साहित्य संगम चितवनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक पराजुलीको ऐतिहासिक कृतिलाई प्रदान गर्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष शशिकिरण रेग्मीका अनुसार आगामी शनिबार विशेष कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिनेछ । पुरस्कारमा नगद २० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिनेछ ।

उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित रहेको छ । कृतिमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको जनाइएको छ ।

वि.सं. २०६४ मा स्थापना भएको उक्त पुरस्कारबाट यसअघि १२ जना स्रष्टा सम्मानित भइक्नुभएकाे छ । पराजुलीका ‘कुमाता’, ‘मोम्चो’ तथा अंग्रेजी कथासङ्ग्रह ‘ड्रिमी आइज’ प्रकाशित कृतिहरू हुन् । उहाँ लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै चितवनलाई केन्द्र बनाएर काम गर्दै आउनुभएकाे छ ।