साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पत्रकार पराजुलीको कथासङ्ग्रह मोम्चो सार्वजनिक

Chovar Blues Mobile Size


पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो आज एक कार्यक्रमका बिच विमोचन गरिएको छ । भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिको आज एक कार्यक्रमका बिच चेपाङ किशोरी रमिताले विमोचन गर्नुभएको हो । मेम्चो चेपाङ शब्द भएकाले चेपाङ किशोरीबाट पुस्तकको विमोचन गरिएको हो ।

चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नु परेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित नारीवादी विषय उठान गर्नुभएको छ । यस कृतिमा ११ वटा कथाहरू रहेका छन् । जसमध्ये मोम्चो शीर्ष कथा हो । यसको नामवाट कृतिको नाम नै राखिएको कथाकार पराजुलीले बताउनुभयो । पराजुलीले भन्नुभयो, “मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।” चेपाङ समुदायमा बालबिबाह हुने गर्दछ । कतिपयले यो समुदायमा बच्चाले बच्चा पाउँछन् भनेर भन्ने गर्दछन् ।

मेम्चोमा समसामाहिक विषय विस्तुमा केन्द्रित कथाहरु रहेका छन् । पराजुलीको यो दोस्रो कथासङ्ग्रह हो । पराजुली एक वर्ष ६ महिना अघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गर्नुभएको हो ।

अक्षर समूह चितवनको आयोजनामा गरिएको विमोचन कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र आख्यानकार तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले समिक्षा गर्नुभएको थियो । श्रेष्ठले कथाको दम कथाकारितासँगै कथाशक्तिमा पनि उत्तिकै जोडिएको बताउनुभयो । कोइरालाले यो स्तरको कथा सबै पुस्तकमा भए पराजुली राम्रो साहित्यकार बन्ने भन्दै कथा लामो भएकाले सम्पादनमा ध्यान कम पुगेको टिप्पणी गर्नुभयो । कथा सरल भएकाले जो कोहीले पढ्न सक्ने उहाँको भनाई थियो ।

अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा पराजुलीको कलम चलेको भन्दै उहाँका कृति धेरैले रुचाएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुली, महिला अभियान्ता मिना खरेल, अक्षर समूहकी कोषाध्यक्ष मायाँ गुरुङ, लेखराम सापकोटालगायतले कथासङ्ग्रहको बारेमा चर्चा गर्नुभएको थियो ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...