पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण बजारमा आएको छ । २०७६ सालको फागुनमा प्रकाशन भएको कुमाता कथा संग्रह प्रकाशन भएको डेढ वर्षमै तेस्रो संस्करण प्रकाशन गरेको हो । २०७७ असारमा कुमाताको दोस्रो संस्करण प्रकाशन भएको थियो ।

भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमाता कथासङ्ग्रहको तेस्रो संस्करणमा कभर परिवर्तन गर्नुका साथै कुमातामाथि विज्ञ समीक्षकहरूले गरेका समीक्षाका सारांशलाई पनि समेटिएको कथाकार पराजुलीले जानकारी दिनुभयो ।

सामाजिक विषयवस्तुमा आधारित कथाहरू समेटिएको कुमातामा गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भहरू कथाका वरिपरि रहेका छन् । यी कथाहरूले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका कारण पाठकहरूले कृतिलाई मन पराएकाले छोटो समयमै तेस्रो संस्करण प्रकाशनमा पुगेको लेखक पराजुलीले बताउनुभयो ।

कुमाता कथासंग्रहमा १० वटा कथामा ११६ पेज रहेको छ । कथासङग्रहको मूल्य दुई सय रुपियाँ छ ।

तेस्रो संस्करण प्रकाशनको अवसरमा सम्पूर्ण किताब नारायणढको आयोजनामा आइतबार नारायणगढमा पुस्तकमाथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डित, समीक्षक डा. एकनारायण पौडेल, समीक्षक उदय अधिकारी, लेखक मीनराज वसन्त, लेखक निर्दोष जीवन, पत्रकार रमेशकुमार पौडेल, पत्रकार तुलमान गुरुङ, पत्रकार रामकान्त पौडेल, विवेक पोख्रेल, सूर्य कँडेल लगायतले कुमाता सामाजिक विषय वस्तुमा केन्द्रित रहेका कारण पाठकहरूले मन पराएको प्रतिकृया दिनुभएको थियो ।

कार्यक्रम सम्पूर्ण किताव नारायणगका सञ्चालक लेखराम साकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।