काठमाडौं । लेखक तथा पत्रकार वसन्त पराजुलीद्वारा लिखित ‘बखान’ उपन्यासले चितवनमा बस्ती बसाल्दादेखिको सामाजिक–आर्थिक रूपान्तरण र त्यसका पहलकर्ता बखानसिंह गुरुङको जीवनसंघर्षलाई प्रभावकारी ढंगले उजागर गरेको वक्ताहरूले बताउनुभएकाे छ ।

शिखा बुक्सद्वारा आयोजित ‘बखान’ उपन्यासमाथिको अन्तरसंवाद कार्यक्रममा सहभागी समीक्षक तथा साहित्यकारहरूले प्रजातन्त्रका लागि तन, मन, धन र सन्तानसमेत आहुति दिने गुमनाम योद्धालाई कृतिले उचित न्याय दिएको धारणा व्यक्त गर्नुभएकाे हाे ।

समीक्षक गुरुङ सुशान्तले उपन्यासले बखानसिंह गुरुङले तत्कालीन शासन व्यवस्थाविरुद्ध संघर्ष गर्दा भोग्नुपरेको पारिवारिक विखण्डन, साथै चितवनका थारू, गुरुङलगायत जनजातिको यथार्थ चित्रण गरेको बताउनुभयाे । उहाँका अनुसार इतिहासमा ओझेलमा परेका पात्रलाई उपन्यासमार्फत नयाँ पुस्तासामु ल्याउने काम कृतिले सफलतापूर्वक गरेको छ ।

चितवनकै बखानपुरमा हुर्किएकी शिला बस्नेतले बाल्यकालदेखि आमाबाट सुन्दै आएको बखानसिंह गुरुङको संघर्षगाथा उपन्यासका रूपमा आएकोमा खुशी व्यक्त गर्नुभयाे । उहाँले बखानसिंह गुरुङ नेपालको पहिलो सहकारी आन्दोलनका प्रवर्धकसमेत रहेको जानकारी दिनुभयाे ।

साहित्यकार राजकुमार बानियाँले कृतिले चितवनका सीमान्तकृत समुदायको कथा समेट्नुका साथै प्रजातन्त्र आन्दोलन, बिपी कोइरालासँगको सम्बन्धजस्ता ऐतिहासिक पक्षलाई समेत उजागर गरेको बताउनुभयाे । साहित्यकार कुन्ता शर्माले उपन्यासले नेपालको परिवर्तन यात्रामा योगदान दिएका विभिन्न पात्रहरूको इतिहास समेटेको धारणा राख्नुभयाे ।

प्रा.डा. लक्ष्मण गौतमले उपन्यास स्थलगत अध्ययनमा आधारित रहेको उल्लेख गर्दै लेखक पराजुलीको अनुसन्धानपरक लेखनप्रति प्रशंसा व्यक्त गर्नुभयाे । सर्जक पुरुषोत्तम दाहालले भने कृतिमा बखानसिंह गुरुङका पारिवारिक पीडाका केही आयाम अझ विस्तार हुन सक्थ्यो भन्ने टिप्पणी गर्नुभयाे ।

कार्यक्रममा लेखक वसन्त पराजुलीले प्राप्त सुझावलाई आगामी कृतिमा समेट्ने प्रतिबद्धता जनाउँदै ‘बखान’ केवल जीवनी नभई चितवनको बस्ती विकाससँग जोडिएको सामाजिक–राजनीतिक इतिहास उजागर गर्ने प्रयास भएको बताउनुभयाे । उहाँले यो आफ्नो तेस्रो कृति भएको जानकारी दिनुभयाे ।