नेपाली साहित्यमा यौनकर्मी महिला वा पुरूषका बारेमा लेखिने तर तिनका ग्राहकका बारेमा नलेखिने गरेको समीक्षकहरूले बताएका छन् । साहित्यकारहरूले यौनकर्मीहरूका कुरा धेरै मात्रामा लेखेको पाइए पनि तिनका ग्राहक कस्ता हुन्छन्, तिनको मनोविज्ञान कस्तो हुन्द आदिबारे केही नलेखिने गरेकोमा त्यसतर्फ दृष्टि पुग्न आवश्यक रहेको समीक्षकहरूले बताउनुभयो ।

कथाकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह ‘मोम्चो’माथि हिजो आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा समालोचक प्रा.डा. सावित्री कक्षपतिले यस्तो धारणा राख्नु भएको हो ।

‘कथाकारले अब यौनकर्मीका कुरा मात्रै होइन, तिनकहाँ जाने ग्राहकका कुरा पनि लेख्न थाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘तिनकहाँ जानेहरू कुन वर्गका, कुन तहका र कुन मानसिकताका हुन्छन् भन्ने कुरा थाहा दिन जरुरी छ ।’ उहाँले यौनका कुरालाई सुन्दर रुपमा प्रस्तुत नगरेर भद्दा रुपमा प्रस्तुत गर्दा कथाको गुणस्तर नरहने कुरा बताउनुभयो ।

अर्का सामालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कृतिपरक विवेचना गर्नुभएको थियो । कथाकार आफ्नो विद्यार्थीसमेत रहेको बताउँदै ‘मोम्चो’ भित्रका कथा राम्रा र केही कथा स्तरीय भएको बताउनुभयो ।

‘आफ्नो बच्चालाई बोतलपान गराएर बाहिरचाहिँ मातृत्वको भाषण गर्ने प्रवृत्तिमाथि एउटा कथाले राम्रो व्यङ्ग्य गरेको छ,’ उहाँले भन्नुभयो, ‘पत्रकारिता सन्दर्भका कथा आउनु राम्रो पक्ष हो ।’

साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार अशेष मल्ल, साहित्यपोस्टका सम्पादक अश्विनी कोइराला, पत्रकार महासंघका सभापति विपुल पोखरेल आदिले बोल्नु भएको थियो । पत्रकारितामा व्यस्त भएर पनि जीवन्त कथा लेखेकामा सबै वक्ताहरूले कथाकार पराजुलीको प्रशंसा गर्नुभएको थियो ।

पराजुलीको ‘मोम्चो’लाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।