साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

योगमाया : धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

Chovar Blues Mobile Size

उपन्यासको सारांश

माया बुहार्तन सहन नसकेपछि विवाह गरेको घरबाट रातिमा भागेर माइत आउँछिन् । माइतमा पनि सजिलै उनलाई बस्न दिइँदैन । घरमै फर्काउने प्रयास भैरहँदा संघार नाघेकी बुहारीको चरित्र माथि प्रश्न उठाएर घरमा फर्कन दिँदैनन् । पछि रोजगारीकै लोभमा आसाम पुग्छिन् । साथ लागेर गएको कँडेलको मृत्युपछि उतै विवाह नै नगरी छोरी जन्माउँछिन् । त्यै छोरी लिएर माइत फर्किएकी माया त्यहीँ बस्दाबस्दै घरगृहस्थी त्यागेर संन्यास ग्रहण गर्छिन् ।

काशीनाथ बाजेकी बुहारी मायापछि तुलसीका बाँकी दिदी, तुलसी र गिरीका फूपू, आमा (गंगा )की आमाजु हुँदै संन्यासी बनेसँगै ठूली हजुर र अन्तमा योगमाया नामले चिनिन्छिन् । संन्यासी बनेसँगै सामाजिक विकृति, विसङ्गति, सति प्रथा, कमराकमारी प्रथा, बाल विवाह, जातीय विभेद, धर्म भित्रको विकृतिको अन्त्यका लागि लगातार लागेको उपन्यासमा देखाइएको छ । तत्कालीन श्री ३ महाराजसम्म आफ्ना दूत तथा योगमाया आफैँले पटक पटक धर्म भिक्षापत्र बुझाउँदा पनि धर्म भित्रका विकृतिको अन्त्य हुन नसकेपछि अन्त्यमा सामाजिक विद्रोहको सन्देश दिन आफ्ना अनुयायीहरुसहित ६६ जनाले सामूहिक जल समाधि लिएर उपन्यास सकाइएको छ ।

५०३ पेज मध्ये ४८२ पेजमा उपन्यास लेखनी गर्दैगर्दा उपन्यासकारले तत्कालीन राजनैतिक घटनाक्रम, प्रजातन्त्र प्राप्तिका लागि भएको एतिहासकि आन्दोलन, पूर्वी नेपालको सामाजिक अवस्थाका बारेमा राम्रो वर्णन गरेकी छन् । समाज सुधारको अभियानमा लाग्दा योगमाया सहितका उनका अभियन्ताहरुले खेप्नु परेको विभिन्न खाले आरोप प्रत्यारोप र जेल जीवन समेत उपन्यासमा प्रस्तुत गरिएको छ ।

उपन्यासको यो हरफले तत्कालीन सामाजिक जिवनको यथार्थ चित्रण गर्दछ :

…..“ गरिब ऋण तिर्न नसकेर मरेका छन् । बेसहारा खरीद गर्न नसकेर भोकभोकै मरेका छन् । किसान अत्याचारको जाँतोमा घुन झैँ पिसिएर मरेका छन् । एक धरो न्यानो नपाएको कठ्याङ्ग्रिएरै मरेका छन् । सामन्तको अत्याचार सहन नसकेरै मरेका छन् । भाको खेत खलियाना सामन्तले एैँठेर मरेका छन् । छोरी चेली लुटिएको पिरमा मरेका छन् । तिनको रक्षा को गर्ने ? पहिला गर तिनका ज्यू ज्यानको रक्षा, हैन भने हटाउ यो ऐनको झुटा कुरा ।”……….

उपन्यासमा महामारीको प्रसङ्गमा गाउँभरी फैलिएको ठेउलाका कारण गाउँका बालबालिकाको मृत्यु भएको प्रसङ्ग र १९९० सालको भूइँचालो र त्यसबाट भएको क्षतिको प्रसङ्ग पनि उपन्यासमा छ ।

 

सबल पक्ष

हरेक वर्ष मदन पुरस्कार घोषणा हुँदै गर्दा यसकोआलोचना भने नहुने हैन । २०७४ सालको मदन पुरस्कार बिजेता कृति ‘योगमाया’ भने विषयवस्तुको छनोट र लेखनी दुवै दृष्टिकोणबाट अब्बल मान्नुपर्छ ।

वि.सं १९५० भन्दा पछि झण्डै वि.स.२००० शुरु हुनु पूर्वको नेपालको यथार्थ चित्रण गरिएको ऐतिहासिक उपन्यास हो ‘योगमाया’ । भोजपुरको अरुण नदी किनारलाई मुख्य केन्द्र बनाएर यो उपन्यासमा तत्कालीन अवस्थाको देशकै चित्रण गरिएको छ ।

एक संन्यासी महिला योगमायालाई मुख्य पात्र बनाएर तयार पारिएको यो उपन्यासमा उनले सफल गर्न नसकेकोे धर्म युद्धलाई देखाउन खोजिएको छ ।

अधर्मको नाश होस्

धर्मराज्य स्थापना होस्

अधर्मको अन्त हुने छ

धर्मको उदय हुने छ ।

सामूहिक जल समाधि गर्दै गर्दा वाचन गरिएको यो धार्मिक गीतले समग्र उपन्यासलाई वर्णन गरेको छ । बीच बीचमा भेटिने यस्ता अन्य धार्मिकगीत तथा कविताहरुले उपन्यासलाई बुझ्न सहज बनाएको छ । तत्कालीन अवस्थाको चित्रण गर्दै उपन्यासमा अगाडि भनिएको छ,

……..“हाम्रै दाज्यूभाई दिदीबहिनीलाई कसरी फरक गर्न सक्छौ । जन्माउने बाआमा हाम्रा फरक हुन् तर हौँ त एकै सृष्टिका सन्तान, काटे रगत उस्तै आउँछ । चिमोटे दुख्छ उसैगरी । हाम्रा दुखमा बग्ने आँशु उस्तै हुन् । हाम्रा अनुभूति एकै छन् । नगर फरक नगर । जातपातको नाममा कोही कसैलाई हेला नगर, यो घोर अपराध हो । अधर्म हो ।”……..

……..“पापी सति ढुङ्गा बिलाएर जाओस्”……..

……..“बाहुनी मर्दा बाहुन जलाउँछन् त ?”……..

योगमाया उपन्यासभित्रका यी हरफहरुले तत्कालीन अवस्थाको सामाजिक चित्रण गर्छन् । यसमा विद्रोह गर्दै उपन्यासमा यसो भनिएको छ, जसलाई उपन्यासको सबल पक्ष मान्न सकिन्छः

……..“मान्छेको बेचबिखन घोर अत्याचार हो । पाप हो र यस्तो अत्याचार तथा पापी कर्मको बिरोध गर्नु हाम्रो कर्तव्य हो ।”……..

……..“जोई मरेको विधुरलाई अर्को विहे गर्न रोकतोक नभए पोई मरेको विधवाले विहे गर्न समाजबाट छुट पाउनुपर्छ ”……..

……..“ब्राम्हणको कुलमा जन्मदैमा ब्राम्हण भैदैन । जसले ब्रम्ह जान्दछ उहि ब्राम्हण हो”……..

“ब्राम्हणको कुलमा जन्मिएर ब्रम्हत्वबारे ज्ञान नभए त्यो सुद हुन्छ ”……..

……..“तपस्या शरीर सुकाउने मात्रै हैन । भित्रका माया क्रोध मोह सुकाउन हो । मनवाट ती सारा निकाल्ने हो । बन्धनबाट मुक्त हुन वैराग्य बढ्नु मुक्ति होइन । सत्य अहिंसाको बाटो मात्रै रोज्नुपर्छ । सांसारिक मोह आफ्ना दुर्गुण चिनेर त्याग्नु पर्छ ।”……..

समाजमा घर्ति, नेवार, ब्राम्हण, जैसी, क्षेत्री, कामी, दमाई विभिन्न जातीहरु मिश्रित भएर बसेको तथ्य उपन्यासमा चित्रण गरिएको छ । यो उपन्यासको निकै राम्रो पक्ष हो ।

 

कमजोर पक्ष

उपन्यासमा योगमाया जैसिनी भएको र उनीसँग सङ्गत गरेको भन्दै महानन्दलाई आफ्नै दाज्यूले जात काड्दै बाबुको किरिया गर्नबाट रोके तर उनै योगमायाका चेला भएर बसेका अर्का भाइ पण्डित प्रेमनारायणका बारेमा मौन देखाइएको छ ।

उपन्यासमा मनकामना, स्वर्गद्वारीका प्रसङ्ग छ । हिमालको प्रसङ्ग छ । यसरी ठाउँको प्रसङ्ग गर्दै गर्दा जसरी काठमाडौँका स्थान प्रसङ्ग गरिएको छ ती ठाउँको पनि स्थान प्रसङ्ग थोरै मात्रै वर्णन गरिएको भएपनि सो स्थानका बारेमा पाठकले जानकारी पाउन सक्ने थिए । अझै हिमालमा तपस्या गर्न गएको प्रसङ्ग उठाउँदा कुन हिमाल र त्यो वरपरका बासिन्दाको थोरै वर्णन गर्न सक्नुपर्थ्यो । यसमा उपन्यास कमजोर देखिएको छ ।

उपन्यासमा सामाजिक सुधार जति सबै संन्यास ग्रहणबाट मात्रै सम्भव छ भन्ने देखाउन खोजिएको छ । संन्यास ग्रहण गर्नेहरु भित्रका केही विकृतिहरु पनि देखाउन सक्नुपर्नेमा उपन्यास मौन छ ।

स्थानीय र ठाडा भाषाहरु प्रयोग गरिदा उपन्यास मौलिक त बन्ला तर यसमा अन्य ठाउँका पाठकहरुलाई भाषा बुझ्न कठिन भएको छ ।

कुनै पनि सवाल उठान गरेर बिना निष्कर्ष टुङ्गाउनु उपन्यासको कमजोरी हो । सामूहिक जल समाधिको बाटो अपनाउनु भन्दा उपन्यासलाई त्यो आन्दोलनको सफलतामा लगेर टुङ्गाउन सकिनेतर्फ उपन्यासकारको ध्यान नपुगेको देखियो ।

 

निष्कर्ष

पाल्पामा जन्मिएकी, काठमाडौँमा हुर्किएकी र हाल अमेरिकामा बसेकी लेखिकाले एउटा पूर्वेली झर्रो भाषामा गहन अध्ययन गरेर उपन्यास लेख्नु आफैँमा चुनौती थियो । त्यो चुनौती सहजै पूरा गर्न उपन्यासकार सफल भएकी छन् । स्थानीय भाषा, संस्कृति र मौलिकताले उपन्यासलाई गहन र जीवन्त बनाएको छ ।

कृति : योगमाया
लेखक : नीलम कार्की निहारिका
विधा : उपन्यास
प्रकाशक : साङ्ग्रीला बुक्स
पेज : ५०३
मूल्य : रु. ५९५।–

प्रतिक्रिया
Loading...