साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मोम्चो : कथा कि गन्थन ?

कथाकारले किन बुझेनन् - ऊ भाग्यले होइन, समाजको विवाहबारेको परम्पराले ठगिएकी हो ? अस्ट्रेलिया जाने भनेपछि केटाको अन्य बानी, व्यवहार र चरित्रको मतलब नगरेर उसैसँग आफ्नी छोरी सुम्पिने बा-आमाको जुन हर्कत थियो, श्रुती ठगिनुको कारण त्यो हो ।

Chovar Blues Mobile Size

मलाई सबैभन्दा रमाइलो काम कथा पढ्नु लाग्छ । र सबैभन्दा दिक्दारको काम पनि कथा पढ्नु नै लाग्छ ।

जब ‘कथा’ले पाठकलाई तान्दैन, अथवा उसको हृदयलाई समातेर आफैँसँग हिँडाउन सक्दैन, अथवा पढ्दापढ्दै हृदय-मस्तिष्कभरि एक किसिमको तरंग सिर्जना गर्दैन विस्मयको, हर्षको, आश्चर्यको, प्रेरणाको, आशाको, करुणाको अथवा पश्चातापको । तब ‘कथा’ पढ्नु सबैभन्दा अल्छि काममध्येको एक लाग्छ ।

वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह भनिएको ‘मोम्चो’लाई निर्धक्कसाथ कथासङ्ग्रह भन्न सकिएला र ?

कथा भनेको के हो ? यसको जवाफ दिन जति कठिन छ त्यति कठिन त कथा लेख्नु पनि छैन । कथा केलाई भनिन्छ त्यो अरू कुनै दिन भनौँला । तर कुनै पूर्वाग्रह नराखी भन्छु- मोम्चोलाई कथासङ्ग्रहभन्दा पनि ‘गन्थन’ भन्नु बढी उपयुक्त हुन्छ ।

सङ्ग्रहको पहिलो कथा भनिएको ‘बक्ररेखा’बाटै प्रसङ्ग निकालौँ । कथा होइन कि कुनै घटनाको विवरण सुनाएजस्तो । त्यो पनि एकनासले होइन, निदाउँदै झस्किँदै गरेजस्तो । सङ्ग्रहको नामै ‘मोम्चो’ । यसको अर्थ चितवनतिरको स्थानीय बुझाइअनुसार ‘महिला’ भन्ने हुन्छ रे । मोम्चो अर्थात् महिला भनेर आवरण नाम नै राखेपछि यो कत्ति न महिलामैत्री होला भन्ने मनमा लागेको थियो । बक्ररेखा अर्थात् पहिलो कथाबाटै त्यो विश्वास हराउँदै गयो ।

sagarmani mobile size
momcho

बक्ररेखाको अन्त्यतिर श्रुती बोल्छिन्- “भाग्यले ठगिएकी म कर्मले आफ्नो भविष्य बनाउन सक्छु ।”

कथाकारले किन बुझेनन् – ऊ भाग्यले होइन, समाजको विवाहबारेको परम्पराले ठगिएकी हो ? अस्ट्रेलिया जाने भनेपछि केटाको अन्य बानी, व्यवहार र चरित्रको मतलब नगरेर उसैसँग आफ्नी छोरी सुम्पिने बा-आमाको जुन हर्कत थियो, श्रुती ठगिनुको कारण त्यो हो ।

अन्त्यतिर श्रुतीले आफैँसँग गरेका गन्थनहरू केबल अस्वाभाविक र खोक्रा आदर्शजस्ता लाग्छन् । मानौँ श्रुती एक बालक हुन् जसले आफैँलाई भनिरहेकी छिन्- म ज्ञानी हुनुपर्छ, झगडा गर्नुहुँदैन । राम्रो काम गर्नुपर्छ । ठूलो मान्छे बन्नुपर्छ । अर्काको गल्तीको सजाय मैले भोग्नुहुँदैन । यस्तै यस्तै बालसुलभ आदर्श ।

कुटी नं. २०० । एउटा कुरा भनिहालौँ- कथा भनेको समाचार सुनाएजस्तो हुनुहुन्न । कथामा सुनाइएको समाचारै पनि रेडियोले सुनाउने समाचारभन्दा फरक हुनुपर्छ । आलङ्कृत हुनुपर्छ- कलाले, तर्कले, कल्पनाले, विचारले, अनुभूतिले ।

कुटी नं. २०० मा ती महिलासँग पत्रकारको कुराकानी गर्ने जुन तरिका छ, त्योभन्दा राम्रोसँग त एउटा बालकले अन्तर्वार्ता लिन सक्छ ।

कथामा पत्रकारले भन्छन्- “तपाईंका कथा पत्रपत्रिकामा लेख्न सकियो भने कमसेकम अरूका लागि प्रेरणा बन्न सक्छन् ।” पत्रकारले यत्ति भन्नेबित्तिकै ती महिला भक्कानिएर रुन्छिन् ।

चिन्तन नेपाल

म कथाकारलाई सोध्छु- सांसारिक जीवन त्यागेर कुटीमा बस्न अभ्यस्त एक साधुनी यत्ति जाबो संवादमा कसरी भक्कानिएर रुन सक्छिन् ? रुनै परे उनी विगत सुनाउँदा सुनाउँदै त्यो विगतको सर्बाधिक पीडादायी क्षणमा पुगेर मात्र रुन्थिन् । तर कथामा त्यस्तो छैन । उनी विगतमा नपुगिकनै हु….हु रोएकी छिन् । साधु मात्र होइन, आम मान्छे पनि त्यसरी रुन सक्दैन । त्यसैले कथाकी ती महिला पात्रको रुवाइ नाटकीय छ ।
र यसको अन्त्यतिर त्यो पत्रकारले गरेका गन्थनहरू पनि ‘बक्ररेखा’की श्रुतीले गरेकै गन्थनहरूभन्दा फरक छैनन् । खोक्रो आदर्श ।

एकजना ठुटे उत्प्रेरक वक्ता(मोटिभेस्नल स्पेकर) ले भनेको सम्झन्छु । उनी भन्थे, “रातदिन संघर्ष गर्नुपर्छ, मिहेनत गर्नुपर्छ । संघर्षबाट एकछिन पनि विश्राम लिनुहुन्न । बल्ल सफल भइन्छ ।”

तर के काममा संघर्ष गर्ने ? कसरी गर्ने ? कहाँ गर्ने ? यसबारे उनी बोल्दैनथे । कहिल्यै संघर्ष गरेको भए पो बोल्नु ।

कुटी नं. २०० कै मध्यतिर पत्रकारको मुखबाट कथाकार बोल्छन्- “उनको आवाजमा केही शङ्का अनि ईर्ष्याभाव मिसिएको थियो ।….हरेक विवाहित महिलाको मनमा यो रहन्छ ।” (पृष्ठ- २५)

कथाकारले यो बुझेका रहेनछन्- शङ्का, ईर्ष्या र निगरानी गर्ने मामिलामा स्वास्नीभन्दा लोग्ने नै अगाडि रहँदै आएको छ । लोग्ने घरमै बस्ने र स्वास्नी पत्रकार बनेर डुल्नु हो भने शङ्का मात्र होइन, दिनहुँ स्वास्नीमाथि कुटपिट हुन्थ्यो । अँ, अपवादबाहेक ।

पूँजीवादको अतिवादिताले महिलालाई वस्तुकरण गरिरहेको यथार्थ छताछुल्ल देखिइरहँदा पनि धेरै मान्छेहरू यसतिर सचेत छैनन् । लेखकसमेत सचेत नहुनु त बिडम्बनाकै कुरा हो ।

‘शङ्का’ कथामा कथाकार बोल्छन्- “सधैँजसो लिपिस्टिक पाउडरमा चिरिच्याट्ट भएर बस्ने श्रुती मलाई निकै राम्री लाग्थिन् । राम्री श्रीमतीको श्रीमान् भएकोमा मलाई पनि गर्व लाग्थ्यो ।” (पृष्ठ- ४५)

कथाकारलाई प्रश्न छ- राम्रोको परिभाषा के हो ? कस्मेटिक र आलङ्कारिक सामग्रीको प्रयोगबाट देखिने कृत्रिम सुन्दरता राम्रोको परिसूचक हो ? मुख्य कुरा त के भने कथाकारलाई सुन्दर हुनु र राम्रो हुनु भनेको एकै हो भन्ने भ्रम रहेछ । सुन्दर पनि लिपिस्टिक र पाउडरको प्रयोगले भएको सुन्दर ।

“राम्री श्रीमतीको श्रीमान् भएकोमा मलाई पनि गर्व लाग्थ्यो ।”

यसको आसय के हो ?

महिला सुन्दर हुनुपर्छ । नभए कस्मेटिक सामग्री प्रयोग गरेर भए पनि सुन्दर देखिनैपर्छ । नत्र उनीहरूसँग लोग्ने खुसी हुँदैन । राम्री महिलाको लोग्नेले मात्र श्रीमतीमाथि गर्व गर्छ । यस्तै यस्तै अवधारणामाथि त उभिएको छ पितृसत्ता । कठै ! लेखकले यसकै समर्थन गरे । यो बिडम्बना हो ।

शीर्षकथा ‘मोम्चो’ पनि आलोचित हुनबाट बच्न सकेन । बालविवाहले किशोरीहरूमाथि सिर्जना गर्ने शारीरिक, मानसिक, पारिवारिक, आर्थिक र सामाजिक कठिनाइ कहालीलाग्दो छ । तर यो विषय थोत्रो भइसक्यो । बालविवाहबारे थुप्रो कथाहरू उहिल्यै लेखिसकिए । यसमाथि नै कथाहरू लेखिरहनु भनेको पुनरोक्ति मात्र हो । कथावस्तु थोत्रो (पुरानो) भए पनि केही त नयाँ हुनुपर्ने । प्रस्तुती शैली मात्र नयाँ भए पनि चित्त बुझ्थ्यो । कथामा कुनै नवीनता भेटिएन ।

यसमा केही धारणागत त्रुटीहरू पनि भेटिए । गोरेबाट परित्यक्त मङ्गलीले ठुलेको प्रेम पाउँदापाउँदै पनि उसलाई छोडेर हिँडी । कथाको अन्त्यमा कथाकार भन्छन्- “ऊ पनि त गोइचो थियो । गोइचोको आखिर के भर हुने रहेछ र !”

कथाकार यो निष्कर्षमा पुगेर रोकिए कि सबै पुरुष धोखेबाज नै हुन्छन् । वास्तवमा यो कथाकारको गलत बुझाइ हो । र कथामा कथाकारले पुरुषलाई सुधार्न कुनै प्रयत्न गरेको भेटिएन ।

‘आधुनिक प्रेमोपहार’ले भने अलिकति चित्त बुझाउने ठाउँ दियो । यौन व्यवसायबाट जीविका चलाउनेहरूमा सधैँ महिलालाई मात्र लिइन्थ्यो । यहाँ पुरुष वेश्यावृत्तिको विषय उठाइएको छ । जुन विषयवस्तुको हिसाबले नवीन हो ।

संग्रहमा अर्को एउटा कथा छ ‘हठ’ शीर्षकको । यसले पनि सन्तान जन्माउने विषयमा महिला स्वतन्त्रता निषेध गर्न खोजेको देखियो । सन्तान जन्माउने/नजन्माउने बारे निर्णय लिने स्वतन्त्रता महिलामा हुनुपर्छ । हठ कथाले त्यो स्वतन्त्रताको विपक्षमा वकालत गरेको छ । जुन स्त्रीद्वेषी तर्क हो ।

हठ कथाकै पृष्ठ ८५ मा कथाकारले महाभारतकी एक उत्पीडित पात्र कुन्तीलाई विवेकहीन आमा भनेका छन् । कथाकारले एकपटक ‘मोम्चो’कै परिचर्चा कार्यक्रममा पनि कुन्तीले नवजात शिशु कर्णलाई नदीमा बगाएको प्रसङ्ग निकाल्दै भनेका थिए- “कुन्तीजस्ता कुमाता पनि थिए इतिहासमा ।”

हाय हाय ! लेखकको यो स्तरको चेतना देख्दा ‘कठै’ भन्न मन लाग्छ ।

कुन्तीले नवजात शिशु कर्णलाई नदीमा बगाइन्, त्यसैले उनी ‘कुमाता’ हुन् भन्ने कथित लेखकले कवच कुण्डल मात्र दिएर पितृत्वको जिम्मेवारीबाट पन्छिएका सूर्यमाथि प्रश्न गर्न किन सक्दैनन् ?

कुन्तीले कर्णलाई नबगाएको भए निसन्देह स्त्रीद्वेषी समाजले उनलाई कि ढुङ्गाले हानेर मार्थ्यो कि जङ्गलमै बाँच्न विवश पार्थ्यो । दुष्यन्त-शकुन्तलाको कथामा जस्तै कुन्तीले अनेक प्रताडना भोग्नुपर्थ्यो । त्यसैले कुन्तीले अन्तिम उपाय अपनाइन् । अत: कुन्ती विवेकहीन होइनन् । यदि कुमारी आमा बन्ने स्वतन्त्रता तत्कालीन समाजमा हुँदो हो त कुन्तीले कर्णलाई बगाउनु पर्थेन ।

अझ मुख्य कुरो चाहिँ कुन्तीले आफ्नो ईच्छाले गर्भधारण गरेकी थिइनन् । सूर्यले जबर्जस्ति कुन्तीसँग सम्भोग गरेका थिए । आजको भाषामा भन्ने हो भने बलात्कार गरेका थिए । खोइ लेखकले बलात्कारी सूर्यतिर औँला ठड्याउन सकेको ?

यसर्थ कुन्तीलाई ‘कुमाता’ भन्नु भनेको अन्ततः समस्त नारी अस्तित्वबारेको गलत धारणा व्यक्त गर्नु हो । लेखकले त्यही गरे । लेखकप्रति मेरो सबैभन्दा उग्र असहमति यही कुरामा छ ।

‘बेइमानी’ कथाले चाहिँ धेरै कुरा बोल्छ । राज्यको नागरिकप्रतिको संवेदनहीनताको कारण विदेशिएका नेपाली युवाहरूको प्रतिनिधित्व ‘बेइमानी’ कथाले गरेको छ । परदेशमा पुगेर पनि बिनाकारण जेल बसेर फर्किएका ती पात्र आम नेपाली युवाहरूका प्रतिनिधि पात्र हुन् ।

त्यस्तै अर्को कथा ‘दोधार’ले आम समाजको चित्रण गरेको छ । तर प्रेमाको त्यो सुसाइड नोट चाहिँ आवश्यकभन्दा बढी भएजस्तो लाग्यो । सुसाइड नोट हो कि सिङ्गो कथा हो कन्फ्युज हुने । तर कथावस्तु चाहिँ रोचक छ । अँ, कथाको समापन पनि लोभलाग्दो छ ।

बेचिएको मातृत्व शीर्षकको कथा साह्रै नाटकीय लाग्यो । एउटा शिक्षित श्रीमान् अझ जागिरे भइसकेको श्रीमानलाई उसकै श्रीमतीले त्यसरी झुक्याउन कसरी सक्छिन् ? विदेश गएको नाटक गरेर उनी त्यहीँ कतै नजिकै अर्काको घरमा बसिरहेकी छिन् । भलै नियत जतिसुकै राम्रो भए पनि झुक्याएको चाहिँ जरुर हो । र यसरी झुक्याउनु सम्भव कुरा होइन ।

कथाको सुरुतिर ती महिला पात्रले भन्छिन्- “…सामाजिक स्तर र जातसमेत मिल्ने भएपछि पारिवारिक सहमतिमै हामी वैवाहिक बन्धनमा बाँधियौँ ।”

पारिवारिक स्तर र जात ! लेखक वर्गीय र जातीय पूर्वाग्रहबाट ग्रस्त छन् भन्ने कुरो छताछुल्ल देखियो । भो, गाली गर्दिनँ । ‘बिचरा’ भन्छु ।

सङ्ग्रहको अन्तिम कथा जिजीविषामा एक गरिब परिवारकी एक्ली छोरी ऋणकर्जा गरेर अमेरिका जान्छिन् । अमेरिकामा एकजना शिक्षकबाट गर्भवती हुन्छिन् र छोरी जन्माउँछिन् । घरमा बालाई गैँडाले हानेर बाको निधन हुन्छ । आमा बेहोस । भाइ भयभित । छोरी अमेरिकामा कुमारी आमा बनेर छोरी सम्हाल्दै । यो कथाले के भन्न खोजेको हो ? अहिलेसम्म बुझ्न सकेको छैन । एउटै कथामा केके केके भन्न भ्याएका हौ ? साह्रै अशान्त र अस्थिर मनस्थिति भएको मान्छेले लेखेको जस्तो ।

‘बेइमानी’ र ‘जिजीविषा’ दुवै कथाले देशको अस्तव्यस्त व्यवस्थाले गर्दा विदेशिन बाध्य युवाहरूको दुर्गतिको चित्रण गर्न खोजेको छ । दुईटै कथामा एउटै विषयको पुनरावृत्ति भयो ।
समग्रमा भन्नुपर्दा अधिकांश कथाहरूको कथावस्तु रोचक छ । तर प्रस्तुती शैली देख्दा लाग्छ लेखक अपरिपक्व केटाकेटी हुन् । कथामा धारणागत समस्याहरू बग्रेल्ती छन् । अनावश्यक अथवा नलेखे पनि हुने खालका कुराहरू पनि धेरै छन् । तर पनि आशा गरौँ कथाकारले आगामी दिनमा यी कुरामा ध्यान दिनेछन् । उनको आगामी कथायात्रा सार्थक रहोस् । स्रष्टालाई शुभकामना !

लेखक परिचय

जाजरकोटको शिवालय गाउँपालिकामा जन्मनु भएका चिन्तन नेपाल साहित्य विद्यार्थी हुनुहुन्छ । शिक्षण पेशा गर्दै अध्ययन पनि जारी राख्दै गर्नु भएका चिन्तन हाल व्यवस्थापनतर्फ स्नातक चौथो वर्षको विद्यार्थी पनि हुनुहुन्छ ।

उहाँका थुप्रै कविता, लेख, कथा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन भइरहेका हुन्छन् । उहाँको 'कविताहरूको सगरमाथा' शीर्षकको संयुक्त कवितासंग्रह प्रकाशित छ ।

प्रतिक्रिया
Loading...