नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले “तीन तियाँ” कवि गोष्ठी एवं अमरज्योति साहित्यिक त्रैमासिकको ५२ औँ अङ्क लोकार्पणको कार्यक्रम पुस १६ गते शुक्रबारका दिन सम्पन्न गरेको छ।

नेपाल विध्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्कस्थित रुफ टप हलमा आयोजित सो कार्यक्रममा वाल्मीकि विध्यापीठका प्राचार्य नवराज लामिछाने तथा नेपाल विध्युत प्राधिकरणका स्रस्टाद्वय रीता खत्री र विष्णुप्रसाद आचार्य “अतृप्त ” ले ३ /३ थान गरी विविध भावभूमिका जम्मा ९ थान कविता वाचन गरेका थिए ।

सोही समारोहमा संस्थाका अध्यक्ष कृष्णदेव रिमाल “शब्दसेना”, पूर्व अध्यक्षद्वय कुलप्रसाद पराजुली र पुण्य घिमेरे, नेविप्राका निर्देशकद्वय बेलप्रसाद शर्मा र शिव अधिकारी एवम् आमन्त्रित तीन जना कविहरूले “अमरज्योति साहित्यिक त्रैमासिक”को ५२ औँ अङ्कको संयुक्त रुपमा लोकार्पण गरेका थिए।

तीन जना कविहरूलाई मात्र मन्चमा अतिथिको आसन ग्रहण गराएर सुरु गरिएको उक्त कार्यक्रममा विध्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमालले उपस्थित साहित्य अनुरागीहरूलाई न्यानो स्वागत गर्दै “तीन तियाँ” कवि गोष्ठी आयोजनाको औचित्यमाथि प्रकाश पारेका थिए।

सो कार्यक्रममा वाल्मीकि विध्यापीठका प्राक्शास्त्री प्रशिक्षक नवराज लामिछानेले अलग अलग छन्दमा रचित व्यवहारोपयोगी भावका तीन वटा कविता सुमधुर स्वर लहरीमा वाचन गरेका थिए। कवि रीता खत्रीले समसामयिक विषयवस्तुलाई सम्बोधन गरेर लेखिएका तीनवटा कविता वाचन गरेकी थिइन् भने अर्का कवि एवं अमरज्योति त्रैमासिकका कार्यकारी सम्पादक विष्णुप्रसाद आचार्य “अतृप्त “ले अत्यन्तै छोटा ३ थान कविता प्रस्तुत गरेका थिए।

कोभिड सङ्क्रमणका कारण केही समय यता भौतिक रूपमा कार्यक्रमहरू सन्चालन हुन नसकेको सन्दर्भमा यो नौलो कार्यक्रममार्फत विध्युतकर्मी साहित्यिक समाज पुन: साहित्यिक गतिविधिमा सक्रिय हुन थालेकोमा समाजका अध्यक्ष कृष्णदेव रिमालले खुसी व्यक्त गरेका थिए। कार्यक्रम समाजकी कार्यसमिति सदस्य शारदादेवी भट्टराईले सन्चालन गरेकी थिइन् ।