नेपाल विध्युत प्राधिकरण विध्युतकर्मी साहित्यिक समाजले “सवारी साधनहरूमा राखिने सङ्ख्या पाटी (नम्बर प्लेट) मा देवनागरी लिपिको प्रयोग: आवश्यकता र औचित्य” विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। भदौ १७ गते शुक्रबार नेपाल विध्युत प्राधिकरण प्रधान कार्यालयको रुफ टप हलमा सो कार्यक्रम सम्पन्न भएको हो।

विध्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल “शब्द सेना” को सभापतित्व एवम् प्रथम गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको प्रमुख आतिथ्यतामा संचालन भएको सो कार्यक्रममा प्रमुख अतिथिका साथै वरिष्ठ अधिवक्ता डा.नारायणप्रसाद घिमिरे, नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघका पूर्व महासचिव एवं वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र नेपाल विध्युत प्राधिकरणका उपकार्यकारी निर्देशक डा. तुलाराम गिरीले विषय केन्द्रित विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता एवं प्रमुख अतिथि बाबुराम कुँवरले जागरणले शक्ति पैदा गर्ने र शक्तिले अभियानको रूप धारण गर्ने हुँदा यस प्रकृतिको जागरणमूलक कार्यक्रममा सहभागी हुन पाएकोमा प्रसन्नता जाहेर गरेका थिए। उनले देवभाषा संस्कृतबाट जन्मिएको र संवैधानिक संरक्षकत्व प्राप्त भएको नेपाली भाषालाई नै इम्बोस्ड नम्बर प्लेटमा अभिलेखन गरिनु पर्ने धारणा राख्दै यसका लागि अरूको प्रभाव र दबाब भन्दा पनि “अप्पो दीपो भव” को मूल मन्त्रलाई सबैले मनन गर्नुपर्ने विचार प्रस्तुत गरेका थिए।

अर्का प्रस्तोता अधिवक्ता नारायणप्रसाद घिमिरेले विभिन्न दृष्टान्त प्रस्तुत गर्दै प्रविधिमैत्री भनिएको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गर्न प्राविधिक दृष्टिले सम्भव भएको र रास्ट्रियताको जगेर्नाका दृष्टिले अपरिहार्य पनि रहेको विचार व्यक्त गरेका थिए भने अधिवक्ता ध्रुवलाल श्रेष्ठले अदालतले विधिशास्त्र र संविधानको वर्खिलाप हुने गरी नम्बर प्लेटमा रोमन लिपिको प्रयोगलाई स्वीकृति दिनु खेदजनक विषय रहेको धारणा राखेका थिए।

सोही अवसरमा नेपाल विध्युत प्राधिकरणका उप कार्यकारी निर्देशक, अधिवक्ता तुलाराम गिरीले भाषालाई आबद्दता र आत्मीयताको अभिवृद्धि गर्ने माध्यमका रूपमा चर्चा गर्दै आमाले बोलेको भाषा सबैले सहजै बुझ्ने र व्यवहार गर्न सक्ने भएकाले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाकै प्रयोग गर्दा नागरिकहरूलाई न्याय हुने र राज्यले इच्छाशक्ति देखाएमा यो कार्य सजिलै संभव हुने तर्क राखेका थिए।

सो कार्यक्रममा नेपाल विध्युत प्राधिकरणका कर्मचारी समेत रहेका देवनागरी लिपि बचाउ अभियानका सक्रिय अभियन्ता , अधिवक्ता तथा साहित्यकार रामेश्वर राउत “मातृदास”ले मन्त्रोच्चारण र शङ्खनाद सहित स्वागत मन्तव्य राखेका थिए। उनले रोमन लिपिमा नम्बर प्लेट राख्दा दिवङ्गत भइसकेका पितृहरूको आत्माले सराप्ने, जिउँदा नागरिकहरूको जिब्रो थुतिने र जन्मन बाँकी नेपालीहरूको भाषिक अधिकार हनन हुने भन्दै यस्तो जघन्य र अक्षम्य अपराधका विरूद्ध निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जाहेर गर्दै सङ्क्षिप्त गोष्ठीपत्र समेत प्रस्तुत गरेका थिए।

नेपाल विध्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिना, निर्देशक शिवकुमार अधिकारी, क्रियाशील ट्रेड युनियनका प्रतिनिधिहरू, विध्युतकर्मी साहित्यिक समाजका पदाधिकारीहरू, विभिन्न तह र तप्काका कर्मचारीहरू,साहित्यकारहरू तथा पत्रकारहरू समेतको उपस्थिति रहेको सो कार्यक्रम करिब २ घण्टासम्म संचालन भएको थियो। सो कार्यक्रमलाई समाजका सचिव विष्णुप्रसाद आचार्य “अतृप्त” ले सहजीकरण गरेका थिए।

नेपाल सरकारको निर्णयानुसार २०७४ सालदेखि रोमन लिपिमा आधारित नम्बर प्लेट जडान सुरू भए तापनि यस विषयको विपक्षमा नेपाल प्रज्ञा प्रतिस्ठान, नेपाल बार एशोसिएसन लगायत विभिन्न संस्थाहरूले निरन्तर खबरदारी अभियान चलाउँदै आएका छन् ।