नेपाल विद्युत प्राधिकरणले आफ्नो स्थापना दिवसको ३७ औं वार्षिकोत्सव मनाउने सिलसिलामा साउन २५ गते कविता र २६ गते वक्तृत्वकला प्रतियोगिताको कार्यक्रम आयोजन गर्यो ।

नेपाल विद्युत प्राधिकरण ३७ औं वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमिति अन्तर्गतको कविता प्रतियोगिता संचालन उपसमिति र वक्तृत्वकला प्रतियोगिता संचालन उपसमितिले संयोजन गरेको सो कार्यक्रम नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयस्थित रूफटप हलमा संचालन भएको हो।

डा. के.एन. स्वामीको प्रमुख आतिथ्यतामा २५ गते सम्पन्न भएको कविता प्रतियोगितामा विभिन्न भावभूमिका ४२ वटा कविताहरू प्राप्त भएका थिए। वाचित कविताहरूलाई डा. रेणुका सोलु, प्रा.डा. हरि सिलवाल र विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष रामेश्वर राउत “मातृदास” समेतको निर्णायक मण्डलले मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको थियो।

सो प्रतियोगितामा अनिल पौडेलको “देखेको सपना” कविता प्रथम, उमा न्यौपानेको “जाली ढोका” द्वितीय र विष्णुप्रसाद न्यौपानेको “आमा ” शीर्षकको कविताले तृतीय स्थान हासिल गरेका थिए भने सुभास पन्तको “श्वेत क्रान्ति” र राजेन्द्र अधिकारीको “यो देश समृद्ध होस्” शीर्षकको कविताले चतुर्थ स्थान हासिल गरेका थिए।

कविता प्रतियोगिताको कार्यक्रमका बीच विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन “अमरज्योति साहित्यिक त्रैमासिक”को ५५ औं अङ्क लोकार्पण समेत गरिएको थियो। विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष एवम् कविता प्रतियोगिता संचालन उपसमितिका संयोजक कृष्णदेव रिमाल “शब्दसेना”को अध्यक्षतामा संचालित सो कार्यक्रममा शारदा पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने रीता खत्रीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। सो कार्यक्रममा अतिथि कविहरू डा. के. एन. स्वामी, डा. रेणुका सोलु, डा. हरि सिलवाल, हरराज न्यौपाने, राजनऋषि कँडेल, पुन्यप्रसाद घिमिरे, कृष्णदेव रिमाल,रीता खत्री,तुमे श्रेष्ठ,सरला ओझा “सिर्जना”, सविना ताम्राकार, रुपा खनाल,रीता चालिसे लगायतका स्रस्टाहरूले अप्रतियोगी रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा विशेष मन्तव्य राख्दै प्रमुख अतिथि डा.के. एन. स्वामीले रास्ट्र,रास्ट्रीयता,माटो र मुटुलाई समेट्ने अनि पूर्वजहरूको सम्मानमा सिर्जित हुने साहित्य सधैँ उत्कृष्ट रहने धारणा व्यक्त गर्नु भएको थियो। सो कविता प्रतियोगितामा करिब १५० जनाको उपस्थिति रहेको थियो। सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने, दीर्घायुकुमार श्रेष्ठ, तुलाराम गिरी र रामजी भण्डारी, ट्रेड युनियनका पदाधिकारीहरू लगायत प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

त्यस्तै नेपाल प्रज्ञा प्रतिस्ठानका प्राज्ञ डा. गोपीन्द्र पौडेलको प्रमुख आतिथ्यतामा साउन २६ मा संचालित वक्तृत्वकला प्रतियोगितामा कुल प्रतियोगी ११ जनामध्येबाट सागर ज्ञवालीले प्रथम, विष्णुप्रसाद आचार्य “अतृप्त”ले द्वितीय, बलराम पुडासैनीले तृतीय र मिमन पुलामीले चतुर्थ स्थान हासिल गर्नुभएको थियो । निर्णायकहरू डा. विनोद मन्जन, प्राध्यापक ओमकृष्ण श्रेष्ठ र चन्दा न्यौपानेको निर्णायक मण्डलले कार्यक्रमको नतिजा घोषणा गरेको थियो।

वक्तृत्वकला प्रतियोगितामा बोल्दै प्रमुख अतिथि पौडेलले वक्तृत्वकलाले व्यक्तिमा सुषुप्त अवस्थामा रहेको प्रतिभा उजागर गर्ने धारणा राख्दै वर्गीय समाजमा साहित्य पनि वर्गीय हुने र बहुजनहिताय साहित्य रचना हुनुपर्ने विचार प्रस्तुत गर्नु भएको थियो। उहाँले कृषि, पर्यटन र जलस्रोत नै विकासको मूल आधार भएको चर्चा गर्दै वक्तृत्वकलाका लागि छनोट गरिएका विषयहरू समसामयिक रहेको र वक्तृत्वकलाका लागि छनोटमा परेको एउटा शीर्षक साहित्यसँग पनि सम्बन्धित भएकोमा प्रशन्नता व्यक्त गर्नु भएको थियो। वक्तृत्त्वकला संचालन उपसमितिका संयोजक शारदादेवी भट्टराई पोखरेलको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा कृष्णदेव रिमालले स्वागत मन्तव्य राख्नु भएको थियो। भोलानाथ शर्माले सहजीकरण गर्नु भएको सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरण ३७ औं मूल समारोह समितिका संयोजक हरराज न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो भने अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक दीर्घायु कुमार श्रेष्ठ, उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र रामजी भण्डारीको उपस्थिति रहेको थियो।

दुवै कार्यक्रका प्रमुख अतिथि एवं निर्णायक मण्डलका सदस्यहरूलाई कार्यक्रमको अन्त्यमा मायाको चिनो प्रदान गरिएको थियो भने दुवै कार्यक्रमहरू विद्युतकर्मी साहित्यिक समाजको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो।