नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले राष्ट्रिय धान दिवसको अवसर पारेर साहित्यिक पत्रिका लोकार्पण तथा ‘अमरज्योति साहित्य सम्मान- २०८०’ समर्पणको कार्यक्रम आयोजना गरेको छ। विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’को सभाध्यक्षतामा २०८० साल असार १५ गते शुक्रबारका दिन नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयस्थित रुफटप हलमा सो कार्यक्रम सम्पन्न भएको हो।

नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा संचालन भएको सो कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजद्वारा प्रकाशित ‘अमरज्योति साहित्यिक त्रैमासिक’ को ५८औँ अङ्क लोकार्पण गरिएको थियो। सोही समारोहमा नेपाली साहित्यको उन्नयनमा अतुलनीय योगदान पुरयाएबापत ६ वटा साहित्यिक संस्थालाई ‘अमरज्योति साहित्य सम्मान- २०८०’ द्वारा सम्मानित गरिएको थियो। त्यस्तै साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउने ने.वि. प्रा. का सेवा निवृत्त दुई जना कर्मचारीहरूलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो।

उक्त कार्यक्रममा शारदा साहित्यिक मासिक, काठमाडौँ , साहित्य सन्ध्या, काठमाडौँ , साहित्य सङ्गम ,मकवानपुर, दायित्व वाङ्मय प्रतिष्ठान, काठमाडौँ, प्युठान साहित्य परिषद् , प्युठान र नुवाकोट साहित्य प्रतिष्ठान, नुवाकोटलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि कुलपति भूपाल राईले दोसल्ला र ताम्रपत्रद्वारा उक्त साहित्यिक पत्रिका/ संस्थालाई सम्मान गर्नु भएको हो।

त्यस्तै सोही अवसरमा विद्युतकर्मी साहित्यिक समाजका पूर्व कार्यसमितिमा रही साहित्यको विकासमा आर्थिक, भौतिक र नैतिक सहयोग पुर्याउने स्रस्टाद्वय श्री मञ्जुलाल श्रेष्ठ र गङ्गा अधिकारीलाई पनि अमरज्योति साहित्य सम्मान- २०८० समर्पण गरिएको थियो ।

सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिना, निर्देशकहरू- शिवकुमार अधिकारी, प्रबल अधिकारी, बेल प्रसाद शर्मा, थर्कबहादुर थापा, चिरन्तन विक्रम राणा लगायत ने.वि. प्रा. का उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू- कुलप्रसाद पराजुली, वीरेन्द्र पाठक, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’ समेतको उपस्थिति थियो। त्यस्तै विमल भौकाजी, दीपेन्द्र सिंह थापा, आर. सि. रिजाल, सानुराजा श्रेष्ठ अन्जान, प्रमिला गजुरेल, प्रज्ज्वल अधिकारी,लीलाराज दहाल, समीर सिंह, केशव पन्त, विष्णुप्रसाद सापकोटा, गोपाल कुमार मैलाली, अनिता न्यौपाने लगायतका साहित्यकार र अन्य सहभागी सहित करिब ७५ जनाको उपस्थिति सो कार्यक्रममा रहेको थियो।

पानसमा बत्ती बालेर समुद्घाटन गरिएको सो कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि कुलपति भूपाल राईले व्यक्तिमा मानवीय आचरणहरूको सन्तुलित विकास गर्न साहित्यको अध्ययन अपरिहार्य रहेको बताउनु हुँदै सबै नेताहरूलाई देशका वरिष्ठ साहित्यकारहरूबाट प्रशिक्षित गराउनु पर्ने आवश्यकता औंल्याउनु भएको थियो। उहाँले साहित्यिक पत्रकार हरूलाई आवश्यक सहयोग गर्न प्रज्ञा- प्रतिष्ठान नीति तर्जुमाको कार्यमा जुटिसकेको धारणा समेत राख्नु भएको थियो।

त्यस्तै ने.वि.प्रा.का कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतकर्मी साहित्यिक समाजले निरन्तर नौलो साहित्यिक कार्यक्रम आयोजना गरेर कर्मचारी वृत्तमा उदारणीय काम गरेकोमा प्रसन्नता जाहेर गर्नु भएको थियो। अर्का वक्ता विद्युतकर्मी साहित्यिक समाजका संस्थापक अध्यक्ष कुलप्रसाद पराजुलीले यसप्रकारको कार्यक्रमले साहित्यिक संस्थाहरू बिच भाइचाराको सम्बन्ध प्रगाढ हुने धारणा व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले ‘भौतिक र भावात्मक बिजुलीको एकसाथ प्रवर्द्धन: हाम्रो अभियान’ भन्ने मूल नारालाई साकार रूप दिन विद्युत कर्मी साहित्यिक समाज निरन्तर प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा सम्मानित भएका सबैले सम्मान ग्रहण गरेपश्चात पालैपालो आफ्ना अनुभूतिहरू सुनाउनु भएको थियो।

यसअघि ‘तीन तियाँ’,’गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’ ‘लेखन प्रशिक्षण कार्यशाला’ , पर्यटन साहित्य लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रमहरू संचालन गरिसकेकोले यसपटक स्रस्टा सम्मानको कार्यक्रम मार्फत साहित्यकर्मीहरू बिच भाइचारा सम्बन्ध कायम राख्ने हेतुले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले सो अवसरमा जानकारी दिनु भयो।

करिब ३ घन्टासम्म सन्चालन भएको सो कार्यक्रमको सहजीकरण विध्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले गर्नुभएको थियो। कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाज कार्यसमिति सदस्य बलराम पुडासैनीले असारे भाका गाएर उपस्थित सबैलाई न्यानो स्वागत गर्नु भएको थियो। ने. वि.प्रा. का उपकार्यकारी निर्देशक तुलाराम गिरीले कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो। कार्यक्रम समापन पश्चात् सबै सहभागीहरूलाई आयोजकको तर्फबाट दिवा खाजा (दही चिउरा) भोजन गराइएको थियो।