
नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८ औँ वार्सिकोत्सव मनाउने सिलसिलामा प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिता आयोजना गरेको छ। ३८ औँ वार्सिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमिति अन्तर्गतको कविता प्रतियोगिता सञ्चालन उपसमितिले संयोजन गरेको सो कार्यक्रम नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयस्थित रूफटप हलमा सञ्चालन भएको हो।
वरिष्ठ गीतकार एवम् कवि विश्वनाथ प्रेमको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कविता प्रतियोगितामा विभिन्न भावभूमिका ३४ वटा कविताहरू प्राप्त भएका थिए। वाचित कविताहरूलाई मधुपर्क साहित्यिक मासिकका सम्पादक जयदेव भट्टराई, कवि एवम् निबन्धकार नेत्रबहादुर कुँवर तथा छन्दकवि सविता बरालसमेतको निर्णायक मण्डलले मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको थियो।
सो प्रतियोगितामा सुभास अधिकारीको “रहरको सहर” कविताले प्रथम पुरस्कार प्राप्त गरेको थियो भने समीक्षा अधिकारीको “द्रौपदी”, टीकाराम शर्माको “याद” र मुकुन्दप्रसाद प्रसाईंको “म भुइँ मान्छे” शीर्षकको कविताले क्रमश: द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गरेका थिए।
कविता प्रतियोगिताको कार्यक्रमका बिच विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन “अमरज्योति साहित्यिक त्रैमासिक”को ५९ औँ अङ्क लोकार्पण समेत गरिएको थियो। सो कार्यक्रममा अतिथि कवि सविता बराल, विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष विष्णु बहादुर सिंह, कवि अनिल पौडेल, रीता चालिसे खनाल, पोषराज सुवेदी, यादवराज घले लगायतका स्रष्टाहरूले अप्रतियोगी रचना वाचन गरेका थिए।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि विश्वनाथ प्रेमले प्राधिकरणले भौतिकका साथै भावात्मक ऊर्जा उत्पादनमा समेत जागरुकता देखाएकोमा खुसी प्रकट गर्दै देशभक्त सच्चा सपूतको खोजी गर्ने क्रममा यस्तो कार्यक्रमले योगदान पुर्याउने विचार व्यक्त गरेका थिए। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले प्राधिकरणको मूल उद्देश्य परिपूर्तिका लागि कर्मचारीमा नवीन सोच र सिर्जनात्मक ऊर्जा थप्न यस्ता कार्यक्रमहरू फलदायी हुनेमा आफू विश्वस्त रहेको धारणा राखेका थिए।
सो अवसरमा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल “शब्दसेना”ले साहित्यकारहरूलाई कोइलीसँग तुलना गर्दै कोइलीले मीठो आवाजमा नगाएमा समाजमा कागहरूको साम्राज्य बिस्तार हुने र यसले सामाजिक अराजकता बढाउने भएकाले कविहरूले मीठो भाषा र भाकामा निर्भीक भएर सत्यको पक्षमा वकालत गर्नुपर्ने बताए।
सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारी,निर्देशकहरू- बेलप्रसाद शर्मा, शिव अधिकारी र शिवप्रसाद आचार्य लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू कुलप्रसाद पराजुली, केशव रूपाखेती, वीरेन्द्र पाठकका साथै पूर्व निर्देशक जुजुकाजी रन्जित,भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, आधिकारिक र क्रियाशील ट्रेड युनियनका पदाधिकारी, ने.वि.प्रा. का कर्मचारी लगायत करिब १५० जनाको उपस्थिति रहेको थियो।
विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष एवम् कविता प्रतियोगिता संचालन उपसमितिका संयोजक कृष्णदेव रिमाल “शब्दसेना”को अध्यक्षतामा संचालित सो कार्यक्रमलाई विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य “अतृप्त” ले सहजीकरण गरेका थिए।
उक्त कार्यक्रका प्रमुख अतिथि एवं निर्णायक मण्डलका सदस्यहरूलाई कार्यक्रमको अन्त्यमा मायाको चिनो प्रदान गरिएको थियो । सो कार्यक्रमलाई विद्युतकर्मी साहित्यिक समाजको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

पत्रिका लोकार्पण तथा अमरज्योति साहित्य सम्मान- २०८० समर्पण कार्यक्रम सम्पन्न
