नवोदित कवि नमिता दवाडीको पहिलो कविता संग्रह ‘जीवन नदीको किनारैकिनार’को विमोचन गरिने भएको छ ।

आउँदो शनिबार चैत २८ मा अनलाइन माध्यमबाट कविता संग्रहको विमोचन हुने भएको हो ।

न्युजिल्यान्डमा बसोबास गरिरहनु भएकी गोर्खाकी दवाडीले बाल्यकालदेखि नै कविता लेख्ने गर्नु भए पनि केही समययता आफ्ना सिर्जनालाइ फेसबुकजस्ता सामाजिक सञ्जालमा मात्र सीमित राखिरहनु भएको थियो ।

‘केही कविताहरू सामाजिक सञ्जालमा राख्दा पाठकहरूबाट राम्रो प्रतिक्रिया आउन थालेपछि संग्रह नै निकाल्ने सोच आएको हो,’ साहित्यपोस्टसँग उहाँले भन्नुभयो ।

कविता संग्रहको विमोचन सुप्रसिद्ध साहित्यकार भीष्म उप्रेती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सदस्य, सामाजिक अभियन्ता तथा शिक्षाशास्त्र संकाय डिनको प्रशासन प्रमुख डा.रेणुका सोलुले संयुक्त रूपमा विमोचन गर्नु हुने कवि दवाडीले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन नेपाली साहित्य समाज न्युजिल्यान्डका उपाध्यक्ष डा. वीरेन्द्र केसीले गर्नु हुने तथा कार्यक्रम शनिबार बिहान ठीक १० बजे शुरू हुने बताइएको छ ।

काव्यमा रूचि हुने सम्पूर्णलाइ सो जुम बैठकमा सहभागी हुन साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले आग्रह गर्नुभएको छ ।

जुम बैठक नम्बर 87245713323 र पासकोड 113037 रहेको छ ।

साहित्यपोस्ट प्रकाशनमाला अन्तर्गतको यो दोस्रो प्रकाशित पुस्तक हो । यसअघि साहित्यपोस्टले नवोदित कथाकार पूर्ण ओलीको कथा संग्रह ‘यालमाया’ बजारमा ल्याएको थियो । पुस्तक शनिबारबाट बजारमा प्राप्त हुनेछ ।