युगान्तर भएको छ,
थाहा छैन कतिन्जेल रुझ्नु छ
नयाँ युगको बेमौसमी झरीमा
र किन्नु छ दिक्क हुँदै
उसैले बेचेको चुहिने बर्षादी !!

आदिम भन्न मिल्ला नमिल्ला,
कुरा भने पुरानै हो !
बाबाको लागि उम्रिएको प्रेमलाई,
आमा झुलाउनु हुन्थ्यो बाला बनाएर खेतका गरामा,
झ्याङ्गिन्थे परसम्म पुग्ने गरेर डिलहरुमा,
लाग्थे मायाका अनगिन्ती कोसाहरु !
उसरी नै केही बीज सुटुक्क भित्रै उमारी,

नमिता दवाडी

बिरुवा बनाएर फुत्त पस्किनु हुन्थ्यो बाका अगाडि
र हुर्काइदिनुहुन्थ्यो अति प्रेमले
कहिल्यै कानमा फुस्फुसाउनु भएन
‘म प्रेम गर्छु प्राणनाथ’ !
बरु पठाइदिनु भयो,
अनुपम स्पर्श, प्रेमिल सुसेली !
मनकै हुलाकीसँग ।
बुझेर बास्नादार पवन वाहकसँग,
थोरै पीडा,
धेरै मदहोसीमा बा मुसुक्क मुस्कुराउनु भो ।
सृष्टि, अव्यक्त अनुराग र समर्पणले
छुर्लुप्प भिजेर लजायो प्रेम लज्जावतीजस्तै !

एउटा कुरा भन्छु नि !
नवयुगमा मैले लाएको पिरतीको कुरा
गर्छु नि हजुरसँग !

प्रेमीले थमाए यी हत्केलामा
निर्मम निमोठेर
प्रेमको हाँगामा
मुसुक्क मुस्कुराइरहेकी गुलाफ,
मैले चुमेँ एक दुई पटक,
पत्रपत्र निकालेर राखिदिएँ टेबलमा
एउटा फूल मैले च्यातेँ,
त्यतिन्जेलसम्म म पनि च्यात्तिइसकेकी थिएँ,
निस्किसकेका थिए आवरणका पत्रहरु
जो बोक्रा बनेर जोगाइरहन्थे मेरो अस्मिताको गुदी
फूलेर, झुलेर भएन हाम्रो प्रेमको शुरुवात,
न त लागे कुनै कोसाहरु
लतिका के भन्नु कुरुप झाडीहरुमा !
कुरुक्षेत्रको लडाइँमा झैँ
तँछाड मछाडका घम्साघम्सीमा
कसरी हुन्थ्यो सिर्जना !
यो रुखो छाती यसैको प्रमाण हो।

नवयुग भनेको,
नयाँ नेपाल भनेजस्तै रहेछ आखिर !
सबका सबले धर्म छोड्ने,
धुलौटोबाट कापीमा सर्ने बित्तिकै
ज्ञानको सट्टा भर्न थालिस् होइन अहङ्कार
शिष्यका माथिङ्गलमा पापी कपुरी ‘क’ ?

दृष्टान्त, वृत्तान्तका कुरा गरेकी होइन
देखे भोगेको युगको कुरा गर्दैछु म
भयावह, छद्मभेषी नवयुगको !
आँखै अगाडि निर्लज्ज सुतेर चिहानको ओछ्यानमा,
जल्लादका लोग्ने-स्वास्नी गरिरहेछन् सम्भोग
र भनिरहेछन्
बर्सेनि जन्माउनु पर्छ रत्नाकार !!
सक्छस् भने भगवान !
एक मुठी मृत्यु बक्सिस दे !
यहाँ यसरी निर्लज्ज तिघ्रो देखिनु पहिले
र जन्मिनुअगि असङ्ख्य
कंस, शकुनि र हिरण्यहरु !!

गोर्खा, नेपाल
हाल : न्युजिल्यान्ड