नेपाली साहित्य समाज न्युजिल्यान्डको हालै सम्पन्न निर्वाचनबाट डा. वीरेन्द्र केसी तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएकाे छ ।

समाजको विधान अनुसार १७ सदस्यीय कार्यसमितिमध्ये चार पदाधिकारीहरू निर्वाचनबाट चयन गरिन्छन् । उपाध्यक्षमा नमिता दवाडी र टिका रेग्मी तथा महासचिवमा सबिना चौलागाईं पनि निर्विरोध निर्वाचित हुनुभएकाे छ ।

सिँचाइ इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएकाे दाङ, नेपालका डा. केसी विगत १२ वर्षदेखि परिवारसहित न्युजिल्यान्डमा बस्दै आउनुभएकाे छ । डा. केसीका ‘आमाको काखमा दुखेको देश’ कविता संग्रह, ‘किवीको देशमा डाफेको गुन्जन’ गजल संग्रह र ‘जुनको रोटी’ मुक्तक तथा हाइकुको संयुक्त संग्रह प्रकाशित छन् ।

नेपाली भाषा र साहित्यको उत्थानमा योगदान पुर्‍याउने उद्देश्यले सन् २०१६ मा न्युजिल्यान्डमा स्थापना भएको नेपाली साहित्य समाज न्युजिल्यान्डले आफ्नो स्थापना कालदेखि नै भौतिक रूपमा तथा ‘फेसबुक लाइभ’ मार्फत विविध साहित्यिक र सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । अनलाइन माध्यमबाट सञ्चालन हुने रचनावाचन कार्यक्रममा न्युजिल्यान्ड, नेपाल तथा विश्वका विभिन्न भागमा रहेका नेपालीभाषी साहित्यकार तथा स्रष्टाहरूको सक्रिय सहभागिता रहँदै आएको छ ।