स्याङ्जा । युवाकवि मिलन समीरको नवीनतम निर्बन्ध–काव्य ‘म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु’ माथि केन्द्रित विमर्श कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षोत्सवको अवसरमा आयोजित कार्यक्रम वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानद्वारा सम्पन्न गरिएको हो।

वालिङ–६, मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न उक्त विमर्श अभियानको ४०औँ शृङ्खलाअन्तर्गत आयोजना गरिएको थियो। स्याङ्जाली साहित्य इतिहासमै कुनै एकल रचनामाथि केन्द्रित यस्तो प्रकारको विमर्श पहिलोपटक गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको सहजीकरण स्वयं स्रष्टा मिलन समीरले गर्नुभएकाे थियाे । विमर्शमा शम्भु अर्याल, युवराज सुवेदी, वसन्त खनाल र पारिश्वर न्यौपानेले काव्यकृतिमाथि गहन समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे ।

उपस्थित साहित्यप्रेमीहरूले निर्बन्ध–काव्य सिर्जनाको नवीन प्रयोगप्रति उत्साह व्यक्त गर्दै स्रष्टालाई शुभकामना दिनुभएकाे  थियाे ।

स्याङ्जाको करादीखोलामा जन्मिएका मिलन समीर हाल वालिङमा सक्रिय रूपमा साहित्य सिर्जनामा संलग्न छन् । उहाँका ‘गाउँमा साइरन बजेपछि’, ‘प्रिय दुश्मन’, ‘मिलन समीर र मिलन समीरहरू’ र ‘मिलनमन्त्र’ लगायत कृतिहरू प्रकाशित छन् । उहाँ विभिन्न साहित्यिक कृतिको सम्पादन तथा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका पुरस्कारबाट सम्मानित भइसक्नुभएकाे छ ।