साहित्य सिर्जनाका क्षेत्रमा स्याङ्जा जिल्ला एउटा उर्वर भूमि हो। कोविद १९ रोग र यसले निम्त्याएको असहज परिस्थिति तथा बन्दाबन्दीको अवस्थामा यहाँका स्रष्टा के गर्दैछन्? सिर्जनाका काम के भइरहेका छन्? कोविद १९ पछि के सोच्नु भएको छ? लगायतका प्रश्न स्रष्टाहरूलाई साहित्यपोस्टका प्रतिनिधि मिलन समीरशम्भु अर्यालले स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसँग गरिएको कुराकानीः

देवीप्रसाद वनवासी, वालिङ, स्याङ्जा

यस महामारीको घडीमा म स्याङ्जा, वालिङ नगरपालिका वडा नम्बर-२, अर्मादीखोला, शङ्खरेडाँडास्थित आफ्नै निवासमा एकान्त बासको पूर्ण पालन गरेर बसिरहेको छु ।
पुराना पत्रपत्रिकामा प्रकाशित भएका विविध आलेखहरूलाई समेटेर एउटा सङ्ग्रहको स्वरूप दिँदै प्रकाशनको लागि पूर्व तयारीको काममा जुटिरहेको छु । कम्प्युटर टाइप गर्ने काम पूरा भैसकेको छ । यस कृतिको नाम “वनवासी वाङ्मयको विविध आयाम” राख्ने सोच बनाएको छु । यो कुनै विधागत विषयवस्तुमा केन्द्रित कृति भन्दा पनि समग्र समाजको बहुआयामिक साहित्यिक सङ्ग्रह हुनेछ । यस पुस्तक सम्पादनको सम्पूर्ण जिम्मेवारी स्याङ्जाली युवा कवि मिलन समीरलाई दिएको छु ।
लकडाउन खुल्नासाथ महामारीको परिस्थिति सहज बनेपछि छिट्टै नै यो पुस्तक प्रकाशनका लागि अगाडि बढाइने सोचाइमा रहेका छौँ ।
आजको विज्ञानको चरमोत्कर्षमा पक्कै पनि कोभिड-१९ लाई परास्त गर्ने एन्टिभाइरस कुनै न कुनै आविस्कारकले बनाउने नै छन् । यथाशीघ्र यसको उन्मुलन होस् र समग्र मानव जीवनको रक्षा होस् भन्ने कामना गर्दछु ।

 

महेश्वर शर्मा, आँधिखोला, स्याङ्जा हालः काठमाडौँ
यतिबेला म काठमाडौँ, महाराजगन्जस्थित आफ्नै निवासमा छु । लकडाउनको पालना गरिरहेको छु । पहिलेदेखि नै लेखपढमै व्यस्त रहने मेरो बानी हो । अहिलेको समयमा पनि पुस्तक पढ्ने र लेख्नमै बढी समय दिइरहेको छु ।
समाजमा आधुनिकताले ल्याएको विकृति र सरकारबाट भएका कमीकमजोरीहरूलाई समावेश गरेर एउटा निबन्ध सङ्ग्रह तयार गरेको छु । कृतिको नामङ्कन भने अहिलेसम्म गरेको छैन ।
तपाईं हिँड्दा डुल्दा जहाँकहीँ देख्नुहुन्छ- अव्यवस्थित किसिमबाट डाँडाकाँडा, भीरपाखा, कान्ला, खेतबारी मोटरबाटो खन्ने क्रममा जथाभावी भत्काएर भूक्षयको अवस्था निकै सोचनीय छ। भूक्षयले मान्छेका खेतबारी मात्रै नभएर घरगोठसमेत पहिरोले पुरिएर नष्ट भएका कैयौं कृषकहरूका पीडादायी आवाज जताततै देख्नुहुन्छ। डोजर, ट्रयाक्टर र ट्रिपर अधिकांश हुने खानेहरूकै छन् । कृषक, मजदुरका आवाज सुनिदिने कसले ?
फेरि कुनै पनि विदेशी गाडी चढ्न मात्र नेपाल आउँदैनन् । मनकामना र चन्द्रागिरीमा जस्तो केवलकारको संभावना छ। हाइड्रोपावरको सम्भावना त सबैलाई थाहा भएकै विषयवस्तु भयो । नेपालको भूगोलको आफ्नै विशेषता छ। कतै ट्रेकिङको विशेषता छ । कतै रोपवेको त कतै मोटरवेको । आ-आफ्नो विशेषताअनुसार नेपाली भूगोलको संरक्षण गर्नु नेपालको अहिलेको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हो । नेपालको महत्त्वपूर्ण सम्पत्ति भनेको माटो हो । यसको संरक्षण गर्नु सबैभन्दा पहिलो आवश्यकता हो । यसो भन्दै गर्दा बाटो खन्दै नखनौं भनेको होइन । आवश्यकताको पहिचान र प्रक्रिया पूरा गरेर मात्रै काम गरौं । कमसेकम माटोलाई अहिले जस्तै गरी बगेर जाने जस्तो दीर्घकालीन असर हुनेजस्तो दुर्भाग्यपूर्ण अवस्थाबाट रोकौं ।
महामारी कहिलेसम्म रहिरहने हो, त्यो त थाहा भएन । महामारी सामान्य बनेपछिको अवस्थामा आफ्नै जन्मस्थल स्याङ्जा आउनेछु र सबै स्रष्टाहरूलाई भेट्ने योजना बनाएको छु ।

 

विश्वप्रेम अधिकारी, पुतलीबजार, स्याङ्जा
सरकारले एकान्तबासको घोषणा गरेको दिनदेखि पुतलीबजार नगरपालिका, वडा नम्बर-१०, राङखोलास्थित घरमा नै बसिरहेको छु । स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशन गरिँदै आएको त्रैमासिक साहित्यिक पत्रिका “रजस्थल” को ८० अंकसम्म आइपुगेको थियो । अधिकांश समय “रजस्थल”को प्रकाशनलाई दिन्थेँ । अहिलेको परिस्थितिले हाललाई प्रकाशन रोकिएको छ ।
अहिले लकडाउनको समयमा केही नयाँ सिर्जनशील काम गरौं भनेर स्याङ्जामा रहेर वा स्याङ्जामा जन्मेर अन्यत्र कतै रहनुभएका स्रष्टाहरु अर्थात् कम्तीमा पनि एउटा पुस्तक निकालेका लेखकहरूको व्यक्तिवृत्त सङ्कलन गरिरहेको छु । महामारीपश्चात् परिस्थिति सहज बनेपछि यसलाई पुस्तकको आकार दिने सोच बनाएको छु । यसमा कोही पनि नछुटून् भन्ने मेरो इच्छा छ । बढ्दो उमेर र नयाँ प्रविधिसँग अभ्यस्त हुन नसक्दा फेसबुक र म्यासेन्जर मार्फत सबै स्रष्टाहरूसँग सम्पर्क गर्न सकिरहेको छैन । अहिलेसम्म मेरो सम्पर्कमा नआउनु भएका स्याङ्जाली स्रष्टाहरू कोही हुनुहुन्छ भने सम्पर्क गर्न अनुरोध पनि गर्दछु ।

 

देवेन्द्र लम्साल, बिरुवा, स्याङ्जा

कोभिड १९ को महामारीकै कारण नेपाल सरकारद्वारा गरिएको लकडाउनको बेलामा म यतिबेला मेरो गाउँ बिरुवा गाउँपालिका, वडा नं ६, ज्याग्दीखोलास्थित घरमा बसिरहेको छु । यतिखेर त म गाउँमै एकान्तवासको पालना गरेर केही समय खेतबारीलाई दिएको छु र धेरै समय साहित्य लेखन र अध्ययनमै बिताएको छु ।
भेटघाट हुन छाडेपछि अत्यार लाग्दोरहेछ । साहित्यिक मित्रहरूसँग फोनमा भए पनि निरन्तर सम्पर्क र कुराकानी गरिरहेको छु । केही अधुरा रचनाहरूलाई पूरा गर्ने काम गरिरहेको छु भने केही नयाँ सृजना सिर्जिएको छु ।
मेरो प्रधान सम्पादकत्वमा प्रकाशित हुँदै आएको साहित्यिक त्रैमासिक पत्रिका “ज्याग्दीखोलाको तरङ्ग” ले यतिखेर कोभिड १९ कै कारण निरन्तरता प्राप्त गर्न सकेको छैन । विश्वव्यापी रुपमा फैलिएको यो महामारी तुरुन्तै साम्य हुने संभावना पनि देख्दिन म । साम्य भैहालेछ र लकडाउन खुलेछ भने सृजित रचनाहरू प्रकाशित गर्ने र पत्रिकालाई निरन्तरता दिने काम गर्नेछु ।

डा. घनश्याम न्यौपाने परिश्रमी, कालीगण्डकी, स्याङ्जा
हालः नवलपरासी
यतिबेला म पश्चिम नवलपरासी, बर्दघाटस्थित निवासमा सचेत हुँदै सुरक्षित ढङ्गले परिवारका साथमा बसेको छु । एक प्रकारको बन्दीजस्तो अवस्थामा मैले सुकुम शर्माको हिमालमुनिको गाउँ, माधव काफ्लेको खुसीको पीरो धूवाँ, रञ्जु उपाध्यायको प्रियसँगको यात्रा, कल्पना खरेलको समलिङ्गी प्रेम, रामलाल जोशीको मदनपुरस्कार प्राप्त ऐना लगायतका केही कृति पढेँ । केही समालोचना, छन्दोबद्ध कविता, गजल र लघुकथा लेखेँ । यीबाहेक आमन्त्रण गरिएका केही अनलाइन साहित्यिक कार्यक्रमहरूमा सहभागी पनि भएको छु ।
कोभिड १९ जीवनमा भोगेको पहिलो महामारीको असर हो । यति लामो अवधि नजरबन्दमा रहेको जस्तो अवस्थाले नौला अनुभव र नयाँ अनुभूतिहरू मनमस्तिष्कमा सुरक्षित रहेका छन् । यस्ता अनुभव र अनुभूतिहरूलाई कलात्मकता र कुशलतापूर्वक सिर्जनामा रूपान्तरण गर्ने योजना छ । अबको जीवनलाई पूर्ववत् ढङ्गले चलाउन सकिनेछैन भन्ने पनि महसुस गरेको छु । अतः चुनौती, समस्या र अभावसँग सङ्घर्ष गर्दै सम्भाव्यताहरूको खोजी गर्ने सोचमा छु ।

लेखनाथ काफ्ले, वालिङ, स्याङ्जा
कोविद १९ का कारण संसारभर लाखौँ मानिसको ज्यान लिनुका साथै कयौँ दैनिक कामकाज मात्र नभएर हजारौं विकासका आयोजनाहरुलाई थिलोथिलो पार्यो । यसले धनी-गरिब, ठूला-साना केही नभनी सबैलाई समान रूपमा व्यवहार गरेको देखिन्छ ।अझै साँच्चै भन्ने हो भन्ने अविकसित देशका मानिसहरूलाई भन्दा विकसित देशका मानिसहरूलाई झन नराम्ररी प्रभावित गरेको छ । सायद लकडाउनको नियम राम्रोसँग पालना नगरेर पनि हुन सक्छ ।

पृथ्वीका सबै प्राणीमध्ये मान्छेलाई सबैभन्दा चेतनशील र बुद्धिजीवी प्राणीको रूपमा लिइन्छ । मानिसले प्रकृतिको नियमअनुसार चल्न नखोज्दा तथा यसको सही औषधि पत्ता लगाउन नसक्दा यस रोगले यस्तो भयानक रुप लिएको हुनसक्छ । हिजोको जंगली अवस्थाबाट विकसित हुँदै मानिसले पृथ्वीमा अनेकौँ चमत्कारिक काम गरे । जहाज बनाए । रकेट बनाए । कम्प्युटरको आविष्कार गरे। कृत्रिम पानी वर्षाए । रोबोटको आविष्कार गरे । अनेकौँ बम बनाए । तैपनि मानिसले आफूलाई बेलाबेलामा आक्रमण गर्ने रोगको औषधि समयमा पत्ता लगाउन नसक्दा अहिले बन्द कोठामा खुम्चिएर बस्न बाध्य बनायो । यस धरतीका सबै जीव तथा प्राणीहरू वृद्धि हुनका लागि साथै आफूलाई चलायमान हुन मन पराउँछन् । सायद जीवित प्राणीको लक्ष्य पनि यही हुन सक्छ । जीवनमा केही गर्छु भन्ने मानिस यसैगरी महिनौँ दिनसम्म कोठामा बन्द भई बस्नुपर्दा कतिको मन भतभती पोलेको हुनसक्छ । मैले सयौँ महापुरूषहरूको जीवनी पढ्ने मौका पाएको छु । विश्वका कयौँ महापुरूषहरू चाहे स्वतन्त्र रहून् तथा जेलको बन्द कोठामा बसून्, तिनीहरू सबैले केही न केही काम गरेर समय बिताएको मैले पाएको छु । सायद यही कुरालाई मनन गरेर होला भानुभक्तले “ज्युँदै मर्याको भनी नाम कसको ? उद्यमबिना बित्दछ काल जसको !” भनेर लेखेका । समय त्यसै खेर फाल्नुभन्दा आफ्नै हैसियतअनुसार सबैले केही न केही गरेर समय बिताएको राम्रो देखिँदो रहेछ । सायद प्रगतिको बाटो पनि यही होला । महात्मा गान्धीले पनि त्यसै बस्नुभन्दा जुम्रा हेरेर बस्नु भनेका ।
यही कुरालाई मध्येनजर गरी मैले पनि बन्दाबन्दीको समयलाई भरपूर सदुपयोग गर्न खोजेको छु । स्पष्ट रूपमा रूपमा भन्नुपर्दा-
घरायसी काममा दाउरा जम्मा गर्ने, अन्न तथा तरकारी खेती गर्ने, फलफूल (सुन्तला) गोड्ने तथा मलजल गर्ने, बन्दै गरेको घरको मर्मत गर्ने, घर वरपर सफा राख्नुका साथै इच्छा लागेका दर्जनौँ पुस्तक, पत्रपत्रिका पढ्ने र आफूभित्र गुम्सिएर बसेका केही रचनाहरू कापीमा उतार्ने साथै रेडियो र टिभीतिर पनि केही ध्यान दिँदै यतिबेलाको समयलाई बिताइरहेको छु ।