१)
आँसु झारी मनको पीडा धुदैछन् हिमालहरु
हाम्रै कारण चित्त दुखाइ रुदैछन् हिमालहरु
हिमाली देश भनि गर्व गर्नेहरु नभइदिदा –
उराठलाग्दो कालापत्थर हुँदैछन् हिमालहरु !
२)
नदी – खोला – तालतलैया – कुवाको कुरा गरौँ
चौतारीमा सुस्ताइ जाने बटुवाको कुरा गरौँ
हामीलाई प्राणवायु प्रदान गरि जीवन दिने –
सचेत भई बेलैमा रुखबिरुवाको कुरा गरौँ ।
३)
आफ्नै कारण सिर्जिएको दु:खको कुरा गरौँ
भोग्नै नपाई चिफ्लिएको सुखको कुरा गरौँ
यो धर्तीलाई मान्छेमैत्री बनाइ राख्ने भएदेखि –
अहिलेसम्म काटिएका सारा रुखको कुरा गरौँ ।
४)
सुखलाई भन्दा बढी दु:खलाई माया गरौँ
तीतो तर सत्य बोल्ने मुखलाई माया गरौँ
आफुलाई काट्दा कति दुख्छ भन्ने सम्झिएर –
स्वयं आफ्नै जीवनदाता रुखलाई माया गरौँ ।
५)
बुद्धि अनि विवेकसहित बलको रक्षा गरौँ
जस्तो हाम्रो रगत उस्तै जलको रक्षा गरौँ
यो धरालाई सदाबहार हराभरा तुल्याउदै –
मानिसकै मङ्गल हुने जङ्गलको रक्षा गरौँ ।
६)
बाढीपहिरोबाट सर्वस्व हरण हुन्छ भन्ने कुरा
आफ्नै कारण अकालैमा मरण हुन्छ भन्ने कुरा
कहिले बुझ्ने होला कुन्नि ? मान्छेले यो जिन्दगीमा –
सबैभन्दा ठूलो स्वच्छ पर्यावरण हुन्छ भन्ने कुरा !
७)
माटोको भर ढुङ्गा अनि ढुङ्गाको भर सदैव माटो हुनुपर्छ भन्ने कुरा
जीवन र पर्यावरणको सम्बन्ध सिक्काको दुई पाटो हुनुपर्छ भन्ने कुरा
बाटो भनेकै विकास ठान्ने विकासवादीले कहिलेदेखि सोच्ने होलान् ?
छेउकुनामा लहरै रुखहरु र बीचमा मोटरबाटो हुनुपर्छ भन्ने कुरा !
८)
जानीजानी सुखसङ्ग साटिदैछन् दु:खहरु
चोखो माया देखाउनलाई चाटिदैछन् मुखहरु
आफ्नै सन्तान जस्तैगरि हजुरबाले हुर्काएका –
बाटो बिस्तार गर्ने नाउँमा काटिदैछन् रुखहरु !
९)
आगोले झैँ मान्छेको मन पोल्दा रैछन् दु:खहरु
अफ्ठ्यारोमा आफ्नै पोल खोल्दा रैछन् मुखहरु
आफैंलाई काट्न आउँने मान्छेको हित चिताएरै –
आफू – आफू एकापसमा बोल्दा रैछन् रुखहरु !
१०)
मान्छे सज्जन हुन असल एङ्गल हुनुपर्छ
दिएपछि शुभकामना मङ्गल हुनुपर्छ
वनतस्करसङ्गै जो समातियो , उसले भन्थ्यो –
” सदाबहार हरियाली जङ्गल हुनुपर्छ ! “
मिलन समीर , करादीखोला , स्याङ्जा ।