शिक्षण आफैँमा एउटा समाजसेवा हो तर जीवनभर शिक्षण गरेर पनि नअघाएका शिक्षासेवीहरू अवकाशको जीवनलाई पनि सेवामै बिताउने निर्णयमा पुगेका छन्।
तिनै समाजसेवीहरूसँग साहित्यपोस्ट स्याङ्जाका प्रतिनिधि शम्भु अर्याल र यामकान्त खनालले सोधेको प्रश्नको उत्तर पहिलो शृङ्खलामाः
उर्वरशील उमेरमा व्यापार-व्यवसाय अन्य आयमूलक क्षमता र सम्भावना छाडेर जीवनको प्रारम्भमा शिक्षण पेशा तथा गुरूजस्तो गरिमामय कर्मबाट समेत अवकाश लिएर निरन्तर समाजसेवामा अहोरात्र जीवनभर खटिइरहनुभयो । समाजसेवामा तपाईंले त्यस्तो के देख्नुभयो ? अहोरात्र समाजसेवामा खटिरहँदा तपाईंले यो समाजमा के बुझ्नुभयो ? विगतमा हाम्रो समाज कस्तो थियो ? अहिले कस्तो छ र कस्तो समाजको परिकल्पना गरिरहनुभएको छ ?
मोहन रेग्मी
गण्डकी प्रदेश विधायन समिति सभापति
हाम्रो सामाजिक परम्परा भविष्यको योजना बनाएर चल्ने भन्दा पनि दैनिकीहरु चलाउँदै जाँदा अगाडि जे आउँछ सामना गर्दै जाने प्रकारको छ। कृषिमा आधारित समुदायमा म जन्मेको हुँदा सामान्य गुजाराका लागि समस्या थिएन। मान्छेका आधारभूत आवश्यकता लागि सानो हुँदा अप्ठेरो परिवेशमा हुर्कन परेन। आमा २२ वर्षको हुँदा बाबा गुमाउनुको वज्रपात र सानै हुँदा दिदीको अवसानले अभिभावक गुमाएर टुहुरो हुनुको नियास्रो अहिले पनि बाबाको ममताको अभाव खड्किरहेको विगतको बालपना वर्तमानमा झल्झल्ती आइरहन्छ । अत्यन्तै माया गर्ने छरछिमेक, आफन्त, इष्टमित्र र नजिकै रहेको मावलीहरू भएर पनि बाबुबिना एउटी आमालाई दुई जना छोराछोरी हुर्काउनु त्यतिबेला नबुझेर स्वाभाविक लागे पनि जति बुझ्ने भएँ उति कहाली लाग्दै गयो। परिस्थितिले ममा सानैदेखि विद्रोही भावना विकास हुँदै गएको रहेछ। सानैदेखि नै समाज, देश र बाहिरका दमन उत्पीडनहरूमा म निकै चासो राख्थेँ । कुनै पनि कुरामा स्पष्ट धारणा बनाउने बानीले गर्दा म कसैको प्यारो र कसैको तारो बन्न थालेँ। जीवनको प्रारम्भमा स्वभावका कारण समाजमा कैयौंपटक गलत प्रयोग पनि भएको छु। परिणाममा म रक्सी, चुरोट, जुवातास र गलत सङ्गतबाट पर रहने परिस्थिति बनेछ। यिनै परिवेशहरूबाट माध्यमिक तहसम्म शिक्षा पूरा गर्दा समाजका कमजोर पक्षहरूलाई सुधार्न प्रयास गर्दागर्दै म पञ्चायती व्यवस्थाको विरोधी नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेछु। मैले चाहेको शोषणमुक्त समाजको स्थापनाका लागि कमरेड पुष्पलालले पार्टीको अभियान चलाएको थाहा पाएँ। विद्यार्थी सङ्गठनमार्फत पार्टीको सम्पर्कमा आई मनमोहन अधिकारी र साहना प्रधानले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको बनारसमा सम्पन्न सारनाथ सम्मेलनमा सहभागी बन्ने अवसर प्राप्त भयो र नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेँ।
सँगसँगै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै स्थानीय विद्यालयमा पहिलो पटक प्राथमिक तह र पछि निम्न माध्यमिक तहको स्थायी शिक्षक बनेँ। विद्यालयमा असाधारण बिदा लिएर पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दै थिएँ। २०४३ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सभापतिमा चुनाव लडेँ । विद्यालय व्यवस्थापन समितिको बैठकमा चुनाव लडेको पर्चालाई विषय बनाएर व्यवस्था विरोधी विद्यार्थी संगठनको उम्मेदवारको आरोप लगाएर शिक्षण पेशाबाट अवकाश गरियो। यस कार्यले मलाई पञ्चायतको विरोध पार्टीको सम्बद्धता समय र ऊर्जा मिल्यो। नेपाल राष्ट्रिय शिक्षक संगठनका मित्रहरूले अवकाशको विषयमा विरोध गर्न खोज्दा मलाई त्यसो गर्न मन लागेन। पार्टी सम्पर्क र विद्यार्थी संगठन सँगै पोखरा रामघाट कालिका माविमा केही समय शिक्षण गरेँ। शिक्षक बनिरहँदा सामाजिक कामका लागि समयको अभाव हुँदा पुनः शिक्षक पेसाबाट अवकाश लिएँ ।
पहिलेको समाजमा मैले स्वतन्त्रता पूर्णरूपमा बन्देज थियो । एकदलीय पञ्चायती व्यवस्थाको गन्नेमान्ने व्यक्तिहरूको मात्र हालिमुहाली चल्थ्यो। उनीहरुका आफन्त मात्र शक्ति र सत्तामा जान्थे। रोजगारी उनीहरुकै अधिनमा हुन्थ्यो।
अहिलेको समाजमा क्षमताअनुसार व्यक्तिलाई जुनसुकै क्षेत्रमा पनि समान अधिकार छ। सानोठूलो जातभातको विभेद अन्त्य भइसकेको छ। मान्छेले मान्छेलाई सम्मान गरोस्। भेदभावरहित समाजको कल्पना गर्दछु।
दिलिप प्रताप खाँण
नगरप्रमुख, वालिङ नगरपालिका
जन्मदेखि मृत्युसम्म जीवन जीवन्त गतिशील र सार्थक हुनुपर्छ। मेरो आफ्नो बुझाइमा जीवन भनेको नै गतिशीलता हो। केही नगरेर स्थिर रहनु भन्दा केही न केही केही गरिरहेको उद्यमशीलता मलाई मनपर्छ। जो सक्रिय छ, त्यो सफल हुन्छ। प्रयास यस्तो साधना हो, जसले मान्छेलाई पटकपटकको असफलताबीच कुनै न कुनै दिन सफलताको उचाइमा पुर्याइदिन्छ। मैले जे बुझेँ, त्यो नै अन्तिम सत्य होइन। विभिन्न पेशा व्यवसाय गर्दै अगाडि बढ्नु मान्छेको कर्तव्य हो। पेसा, व्यवसाय, रुचि, दिनचर्या, सेवा आदि सबै साधन हुन्। साध्य होइनन्। साध्य त सत्यको साक्षात्कार हो। मान्छे यो व्रह्माण्डको शक्तिशाली ब्रह्मको उपज हो। तसर्थ मान्छेभित्र त्यस्तै अलौकिक शक्ति हुन्छ। हरेक मानव केवल मान्छे मात्र होइन, आत्मारुपी ईश्वर हुन्। चेतन मानव आत्मा देख्छ। बुद्ध बन्छ। विज्ञान बन्छ। तपाईंले मेरो कर्मलाई समाजसेवाको रुपमा बुझ्नुभएको रहेछ। मैले राजनीति गरेजस्तो लाग्दैन। समाजसेवा गरे जस्तो पनि लाग्दैन। हरेक मानवलाई मानवीय व्यवहार गरेर सत्यको साक्षात्कार गर्ने मेरो प्रयत्न रहिरहनेछ। त्यस्तो गर्न सकिरहेको छु कि छैन, साक्षात्कार गर्नका लागि मुमुक्षु बन्ने व्यष्टि प्रयत्न मात्र हो।
जब म शिक्षण पेशामा संलग्न थिएँ, समाजमा निकै विभेद थियो। सानो-ठूलो, धनी-गरिब, जतीय, वैचारिक स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक विभेद। संसारमा केही मुलुकहरू यी विभेदहरुबाट स्वतन्त्रता प्राप्त गरिसकेका थिए। हामीहरू यी विभेदहरूबाट माथि उठ्न प्रयत्नरत थियौं। अहिले सबैले व्यवहारमा उतार्न सके कानुनी रुपमा यी सम्पूर्ण विषय हामीले प्राप्त गरिसकेका छौँ। शिक्षण पेशा गर्दागर्दै सामाजिक जिम्मेवारी थपिंदै गयो । शिक्षण पेशा छाडिदिएँ। स्वतन्त्रता, समानता, रोजगार, व्यापार र व्यवसायको बुद्धिमूलक शिक्षित र स्मार्ट समाजको परिकल्पना गर्दछु।
कृष्ण खाँण
समाजसेवी
परिस्थितिले सानो छँदा बुबा-आमाको मायाबाट वञ्चित रहेको म हजुरबुबा र हजुरआमाको संरक्षणमा हुर्किएँ। उस समय हजुरबुबा-हजुरआमाको समाजमा निकै निकट सम्बन्ध थियो। घरमा ठूलो फलफूल बगैंचा थियो। हजुरबुबा-हजुरआमा बगैंचामा फलेको फलफूल पहिला आफू खानुभन्दा वरिपरि छिमेकीलाई दिनुहुन्थ्यो। घरभन्दा पर सम्बन्ध राख्ने हजुरबुबा-हजुरआमाको कारणले सानैदेखि म समाजको प्रत्यक्ष सम्पर्कमा रहेँ। सबैसँग परचित बन्न मेरो लागि यो अवसर थियो।
नजिकैको रणवीर जनहित माध्यामिक विद्यालयमा मैले शिक्षा हासिल गरेँ। स्कुलमा सामाजिक कार्य नामको अतिरिक्त छुट्टै डिपार्टमेन्ट थियो। त्यसमा सधैँ प्रथम हुन्थेँ। यो डिपार्टमेन्टले उस समयको सामाजिक निर्माण र महामारी जस्तो प्रकोपमा काम गर्थ्यो। ठाउँठाउँमा शिविरहरु बनाएर मान्छेहरूको उद्धार गरिन्थ्यो। अहिलेजस्तो सुविधा सम्पन्न कहाँ थियो र? जीवनजलको सट्टा नून, चिनी, पानी घोलेर हैजाको बेला जीवनजल बनाएर वालिङको भकुण्डे कृषि सहकारीमा खडा गरिएको शिविर अहिले पनि स्मरण छ ।
आठ कक्षा पास भएपछि पूर्णामृत भवानी माध्यमिक विद्यालय गएँ। त्यहाँ मेरो दिलिप प्रताप खाँण लगायत नयाँ साथीहरूसँग सम्पर्क भयो। दिपावलीमा देउसी भैलो खेलेर जम्मा भएको रकम सबै समाजसेवामा लगाइन्थ्यो। जब म उच्चशिक्षाको समय अवधिमा थिएँ, घडेरी खार्दा, खानेपानीको लागि खाडलहरू खन्दा, बाढी पहिरोमा चोटपटक लाग्ने र मान्छेहरु पुरिने बगाउने सम्मका दुर्घटना हुन्थे। त्यस्ता मान्छेहरुलाई उद्धार गर्न मनबाट नै आउँथ्यो। एसएलसी पास भएपछि अतिरिक्त समयमा मैले निःशुल्क गणितको ट्युसन पढाउँथेँ। बिजुली बत्ती थिएन, त्यतिबेला मैन्टल, लाल्टिन बालेर पढाउनु र पढ्नु पर्थ्यो । राजनीतिमा भन्दा समाज सेवामा काम गर्ने मेरो चाहना हो।
प्रारम्भमा मैले पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अध्यापन सुरु गरेँ। २०४४ सालतिर आफूलाई पढाएका गुरूहरुले पायोनियर बोर्डिङ स्कुल स्थापना गर्नुभएको थियो, उहाँहरूको आग्रहमा केही समय त्यहाँ पढाएँ। अध्ययन र अध्यापन सँगै चलिरहेको थियो। पढाउन छोडेर अध्ययनको लागि जान्छु भनेर धेरै नै जमर्को गर्दा पनि अग्रज गुरुहरूले पढाउन नै सुझाव दिनुभयो। २०४८ सालमा भुवनबहादुर पौडेल प्रअ भएर आउनुभयो। स्कुलको आवश्यकताले दिलिप प्रताप खाँणलाई बोलाउन भन्नुभयो। त्यसबेला म अनेरास्ववियुमा काम गर्थें। वामपन्थी पृष्ठभूमिको भएकाले नेपाली कांग्रेसमा आस्था राख्ने दिलिपलाई ल्यायो भनेर आरोपसम्म खेप्नु पर्यो। मैले भने, त्यस्तो केही सोचेको थिइनँ ।
२०४६ सालको आन्दोलनमा १९ दिन प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ म लगायतका साथीहरु जेल पर्यौं। माफ मागे छोडिदिन्छौँ भन्दा माफी नमागेपछि प्रजातन्त्रको घोषणा भएपछि मात्र छोडेको भर्खरै जस्तो लागिरहन्छ।
२०५४ सालको निर्वाचनमा लक्ष्मीपति पौडेल र पदमा अर्याल लगायतका जिम्मेवार व्यक्तिहरूले जागिर छाडेर मेयर अथवा उपमेयर पदमा उठ्न भन्नुभयो। मैले स्पष्टसँग भनेको थिएँ, सम्पूर्ण जीवन नै समर्पण गरेका अग्रजहरु हुँदाहुँदै प्राथमिकता उहाँहरुलाई दिनुपर्छ भनेपछि मेयर पदमा गुरु भेषराज शर्मा र उपमेयर पदमा मानकाजी श्रेष्ठलाई जिल्ला कमिटीले सिफारिस गरी पठाएको थियो। सामाजिक दवावले पछि फेरि जिल्लाले भेषराज गुरूको ठाउँमा मेरो नाम राखेर पठाइदिएछ। सबैले शिक्षण छाडेर उमेदवारी स्वीकार्नुपर्छ भनेपछि स्कुल छाडेँ। सक्रिय राजनीति गर्ने मेरो चाहना होइन, कार्यकर्ताहरुले नै मलाई अगाडि लगाउनुभएको हो।
त्यतिबेला संयुक्त परिवार हुन्थ्यो। बाजे, बा, नाति पुस्ता सँगसँगै हुन्थ्यो। हिजो परिवार र समाजमा दया, माया, करुणा, सद्भाव थियो, अहिले मान्छेमा संवेदनाहरु हराउँदै गइरहेको छ। सेवा गर्नु कर्तव्य हो। अधिकार खोज्न पहिला कर्तव्यको बोध हुनुपर्छ। आफूले कति कमाएँ भन्दा पनि अप्ठेरोमा अरुलाई कति साथ दिन सकिरहेको छु भन्ने लाग्छ।
मान्छेको रूपमा जन्म लिएपछि मान्छे-मान्छेबीच सानोठूलो, उँचनिच, सानो जात र ठूलो जात हुँदैन। मान्छे सबै समान हुन् सबैको समान अस्तित्व अधिकार र कर्तव्य छ। जाति र धर्मको नाममा यदि समाजमा विभेद हुन्छ भने समाजको सबैभन्दा ठूलो ध्वंस लाग्छ मलाई। विभेदरहित समाजको परिकल्पना गर्दछु।
श्यामकृष्ण श्रेष्ठ
अध्यक्ष, वालिङ नगरपालिका वडा नम्बर ६
आम्दानी र सेवाको तुलना हुनै सक्दैन। आम्दानी व्यक्तिविषेश र स्वयं भलोसँग सम्बन्धित विषय भयो, सेवा सामाजिक।
आफू र आफ्नो परिवारको पालनपोषण त सम्पूर्ण जीवात्माहरूले गरिरहेका छन्। अँध्यारोपछि उज्यालो हुन्छ। घाम लाग्छ। पुनः रात पर्छ। ताराहरू उदाउँछन्। यतैकतै मनुष्यको अस्तित्व छ। जीवनको भिडमा विचारले मान्छे मान्छे बनेको हो र त्यस्तै बन्न सक्नुपर्छ।
हुन त पहिला आफू बचेर अरूलाई बचाउनुपर्छ भन्ने अन्तिम सत्यबाट म पनि बाहिरिन सक्दिनँ। आफू रहे बल्ल अरूको उद्धार गर्न सकिन्छ। यतैकतै मान्छेमा दुःख छ। समस्याहरू, अप्ठेराहरू छन्। त्यसमा साथ दिन समाजसेवामा लागेँ। यसो भन्दै गर्दा म साध्य होइन, साधन हुँ।
मैले आफ्नो अध्ययनसँगै अध्यापनमा लागेको हुँ। पढाउनु पनि सेवा थियो तर समाज बुझ्दै जाँदा उस समयमा आफूमाथि आइलागेका कामहरूले सामाजिक जिम्मेवारीको कर्तव्य थपियो। बल्ल मलाई महसुस भयो, म र मेरो परिवार पर पनि संसार छ। समस्या, दुःख र अप्ठेराहरु छन्। अनि मात्र मैले शिक्षण पेशा छाडेर समाजसेवामा लागेको हुँ।
समाजको कुरा गर्दा अहिले र उस समयको समाजमा धेरै नै भिन्नता थियो। पढेलेखेका मान्छेहरु कमै हुन्थे। व्राह्मण समुदायमा बनारस गएर संस्कृत पढ्ने चलन थियो। राजनैतिक चेतना कम थियो। अधिकांश परिवारको कृषि मेलापात दैनिक हुन्थ्यो। गाई गोरु चराउन गौचरन हुन्थ्यो। मोटरेवल बाटाहरू अति कम थिए। टाढासम्म पैदल हिँड्नुपर्थ्यो। अधिकांश घरहरू ढुङ्गा र माटोले बनेका हुन्थे। एकदलीय पञ्चायती व्यवस्थाको नीति, नियमअनुसार समाज शासित थियो।
अमेरिकामा पनि रंगभेद थियो। हाम्रो समाजमा व्यवहारिक रुपमा अहिले पनि जातीय विभेद छ। यो समाजको सबैभन्दा खतरनाक विष लाग्छ मलाई। जसरी पहिला तीनजुरे खरै हुनेले बाजा बजाएर दाइँ गर्थे, नहुनेहरुलाई छाक टार्न गाह्रो पर्थ्यो। कानुनी रुपले विभेदको अन्त्य गरे पनि व्यावहारिकरुपमा अहिले झन् ठूलो खाडल छ। पावरमा पुगेकाहरुले नपुगेकाहरुलाई। बढी आम्दानी हुनेहरूले नहुनेहरूलाई। ठूलो जातले सानो जातलाई गरिने वर्गीय विभेद अहिले पनि समाजमा प्रत्यक्ष नदेखिने तरिकाले कायम नै छ। एउटै परिवारका सदस्य भएर पनि आर्थिक रुपले सबलले निर्बललाई हेप्ने परम्परा समाजमा जताततै देख्न सकिन्छ। एउटै सम्बन्ध, आफन्त र इष्टमित्रहरूमाझ सबलले निर्बललाई हेप्ने प्रवृत्ति लेनदेन, साँधकिला, उत्सव, चाडपर्व जताततै कायम छ । सभ्य र समृद्ध समाजका लागि वर्गीय विभेदको अन्त्य हुनुपर्छ ।
अहिले समाज शिष्ट र सभ्य छ। लगभग सबै साक्षर छन्। अधिकांश पढेलेखेका छन्। उनीहरुलाई आफ्नो अधिकार र कर्तव्यको स्वयंमा ज्ञान छ। फेसबुक, म्यासेन्जर, ट्वीटरजस्ता अनलाइन सञ्जालहरुले गर्दा विश्व ग्लोबलाइज्ड भइसकेको छ। एउटा मोबाइलको भरमा संसारको दिनचर्या नियाल्न सकिन्छ। अहिले हामीले आफ्नो अधिकार प्राप्त गरिसकेका छौँ, चाहे त्यो जनजाति होस्, महिला होस् या पुरुष।
व्यवहारमा लागू गर्नु मात्र आजको आवश्यकता हो। मार्क्सवादी चिन्तनलाई अनुसरण गर्दै मार्क्सवादी दृष्टिकोण समाजमा लागू गर्ने मार्क्सवादी सैद्धान्तिक समाजको परिकल्पना गर्दछु म। जहाँ मानव जातिको समान अस्तित्व, श्रमको उचित मूल्य, शिक्षा, स्वास्थ्य, रोजगार, आवास, कम्तिमा पनि मान्छेको आधारभूत आवश्यकता हुन्। यसबाट कोही पनि वञ्चित हुन नपरोस्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।