चिसो बाकस घर छोड्नुपर्ने बाध्यताको परिणाममा मजदुरका परिवार र आफन्तलाई आफ्नै घर देशमा अधिक प्राप्त हुने वर हो । प्रस्तुत पुस्तक जति पनि माथि उठ्न नसकेका मजदुर छन्, उनीहरूलाई रैती ठान्ने, शासनको मत्ताले दरिद्र सोचको खेती गर्ने शासकलाई सिकाउन सक्ने कलात्मक कलाको उच्च अनुकरण हो ।

नक्सामा यो नेपालको अनुहार हो । नेपालका शासकले पढ्दैनन् । चिन्तन, मनन केही पनि गर्दैनन्– चिसो बाकस लिखित भौतिक प्रमाण पनि हो । जसले प्रकाशित गर्‍यो, त्यो शासकको अनुकरणीय बौद्धिक सम्पत्ति रह्यो । यस्ता शासक अनुकरणीय अनुपम भौतिक उदाहरण हुन् । यिनीहरूले युग हाँक्नुपर्छ । प्रकाशन पनि राज्यले नै गरेको हो । उनीहरू अनुकरणीय रहन्छन् ।

कवितामा पनि कला फुकेको छ । विचार लुकेको छ । ताल र आत्मपरकताले बहुआयामिक बनेको छ । सिक्नुहोस्, साना मान्छेसित नै बहुआयामिक मस्तिष्क हुन्छ । सबै यही मस्तिष्कबाट निर्धारण हुने पदार्थ हो । उपजमा यो कण हुन्छ । सूक्ष्म हुन्छ, वृक्ष हुन्छ । गर्भभन्दा ठूलो अर्को गर्व कहीँ कतै जन्मिँदैन ।

हरफको अपमान गर्ने मान्छेलाई शासक हुने अधिकार प्राप्त हुँदैन । हाम्रो पुस्ता यस्तै भयो, अब विद्यार्थीलाई पढाउने गुरुहरूले पनि झुक्याउन सक्ने छैनन् । विद्यार्थीहरू सिपालु भैसकेका छन् । विद्यार्थीहरू हो ! पढाइलाई मजाक कहिल्यै नसम्झिनुहोला । गल्तीले मान्छेको ज्यान जान सक्छ । साधनाले विनिर्माण हुन्छ, विनिर्णय हुन्छ । सत्यको पनि सघन सत्य हुन्छ । प्रक्रिया जीवनको सबैभन्दा ठूलो प्रणाली हो ।

पशुहरूलाई यो अरबको बोरा बोक्ने काँध बिग्रेको हलो बिसाउने गतिरोधक चेत के थाहा ? यी कविताहरू वर्तमानका दसी हुन्– यो देशमा पशु शासन चलिरहेको छ । संसारले गिज्याइरहेको पशुहरूले बुझ्दैनन् । संसारको हरियो नेपालमा मात्रै छ ।

प्रश्नको उत्तर परिबन्धमा हुनसक्छ । कुनै विधामा ठूलो भएर, सत्य पनि परिबन्धमा पर्न सक्छ । असत्यको हाबी हुन सक्छ । यही चिन्न सक्नु चिसो बाकसमा चीरकाल सम्मको यात्रा गर्नु हो ।

बरफमा बन्द आलङ्कारिक नियतिको प्रतीक चिसो बाकस, कवि एकदेव रिमालको उपहार हो । यी जीवनका नियम हुन् । जुन भूगोलमा जसरी रहे पनि, जसरी बोले पनि, जस्तो भाषा निर्माण गरे पनि चिसो बाकस जीवनको बहुआयाममा कविताका सिद्धान्तभन्दा धेरै माथि उठ्ने छन् । यस्ता भाषा, सच्चा भाषा र साहित्यलाई प्रत्येक दिन पढ्ने विनिर्मित कविले मात्रै बुझ्न सक्छन् । साहित्यमाथि न आवाज हुन्छ न शून्यको कालो नानी हुन्छ । जो देखिँदैन र बिम्बित भौतिकता पनि हुँदैन । प्रस्तुत हरफ बोलिरहेका छन् । यो भाषाको सर्वोत्तम नवीन चमत्कार हुने छ ।

भूगोलको अन्तरात्मामा रमण गर्दै जाँदा नेपाली कवितामा चिसो बाकस समकालीन र दीर्घकालीन कालजयी उपहारको रूपमा रहिरहने छ । म विश्वस्त बनिरहेको हुन्छु । यसलाई निरन्तरसम्म जननी र जनकमा सबैले सदैव अन्तर्मनले समर्पण गरिरहेका हुनेछन् । यो अनन्तसम्म अनुरक्त प्रेमका प्रेमीले उपहार प्रदान गर्ने अनमोल उपहार प्रसिद्ध हुने छ । यी कविताहरू निर्बन्धमा पनि उच्च कलाका हरफ साबित हुनेछन् ।

कवितामा कविको दृष्टि पटल पुस्तकको पहिलो अनुच्छेदमा पढेर कविले पनि मूल्याङ्कन गर्न सिकौँ–

नीला पहाडका कछरहरूमा

कलिला सूर्य जन्मँदै गर्दा

प्रसूतता धरणीलाई

सुकोमल धर्ती मेरी आमाले

काखमा लिएर लोली गाउँछिन्

अनि वयस्क हुन्छ सूर्यको लालीमा

बन्छन् सूर्य किशोर

आमा

दैलाका काप उघारेर

घामका कपटे धर्साहरू

छिराउँछिन्

चौटामा र चौकामा

उज्याला हुन्छन् अँध्यारा कुनाहरू ।

माटोको उर्वरालाई आमामा समाहित गरेर आभाको उज्यालोलाई विम्ब र प्रतीकको माध्यमबाट गर्भित गर्भमा अद्भुत बहुआयामिक लक्षणा स्वर पैदा गर्ने उनी शुरुवातमै सक्षम आविष्कारक हुन् । भौतिक सामरिक प्रतिमा हुन् । प्रतिभा हुन् ।

जोकोहीलाई पनि प्रशस्त अध्ययन, काम गराई र घुमाइले पनि परिणामको आवाजमा यति अपवाद सत्य दिन कठीन हुन्छ । नेपाली भाषा र साहित्य त छोडिदिऊँ, भूगोलको आयाममा कर्मरत सबैले एकपटक एकैछिन चिन्तन गरौँ– यति दखल राख्न कति भोग्नुपर्छ र पढ्नुपर्छ ? मुखरित आवाज निर्माणमा चिसो बाकस वर्तमानको प्रतिनिधिमूलक कल्पद्रुम स्वर पनि हो । यस्ता गलाका कला विरलै जन्मन्छन् ।

चिसो बाकसमा कविताका पङ्तिहरू अनुकरणीय विरोधाभास सत्य हरफ हुन् । कोटिमा भाषाको बोधगम्य श्रवणमै आश्चर्य पैदा गर्ने एक्लै एकोहोरो अनुकरणीय प्रतिध्वनित भाषाको प्रवाह हो । प्रकटीकरणको नवीनतम विधि हो । यो नेपाली लयको मुखर कला हो । आमाको आवाज हो । बाबाको बलियो काँध हो ।

शुरुवातमै धरती, सागर र गङ्गालाई आमाको संज्ञा दिएर विचारलाई अमूर्तताको प्रतिविम्बमा लुकाएर लय प्रदान गर्नु उनको कविताको चङ्ख हो । जो गर्भबाट नै प्रेक्षित हुन्छन् । अनुकरणीय हरफ, कोमल, उदार, सहयोग, सद्भाव र संवेदनाको कलामा अपवाद अनुकरणीय हरफ हुन् । उनी प्राकृतिक विम्बबाट आमा हुँदैन त धरतीमा पदार्थ हुँदैन । आमाबिना अर्को नाम र काम सम्भव छैन । लेखनमा लुकेको छ, फुकेको छ । कवि कविताका साधनाले पुतली बनिसकेका छन् । कविताको इतिहासमा वर्तमानका कविहरूको कला, विचार र तालको बहावमा चरम चुलीको प्रयोग प्रस्तुत कवितालाई मैले सम्झेको छु ।

पङ्तिमा उनी झुसिल्किरा देखिन्छन् । कवितामा उनी पुतली बनिसकेका हुन्छन् । उनको साधनाले कवित्वको छनक बुझ्न प्रकृतिमा बालक कालदेखि वयकाल सम्ममा नै प्रत्यक्ष आँतदेखि आँचलसम्म आमाको मनमा लटरम्म समाहित हुन सक्नुपर्छ र काखको पखेरुमा चिप्लिएर हिमालको टाकुराबाट अनन्त देख्नुपर्छ ।

कवि एकदेव रिमाल जुनसुकै शीर्षकमा पनि सजिलै प्रवेश गरेर बढीभन्दा बढी लक्षणार्थ प्रकट हुनु उनको अद्भुत कवित्व शक्ति हो । उनी शीर्षकमा बिँडी जलाउँछन् त मृत्यु, दर्शन र साहित्य बोध चिन्तनलाई कालजयी अजर अस्तित्वलाई केही हरफमा बहुआयामिक परिभाषित गरिदिन्छन् । साँच्चिकै उनको चिन्तन प्रखर छ र प्रवाहमय छ । लगातारको निरन्तरसम्म प्रसिद्ध हुने छ ।

केही विद्रोही चेत बोकेका कविताले भित्रभित्रै खोक्रिँदै गएको शासन सत्ताले जति उचाइका पर्खाल लगाए पनि मुसाहरूले भत्काउन सक्ने बहु प्रतीकात्मक वाचन छ । पुस्तकले अहङ्कारी शासन सत्ता, छद्म शासक र आम मान्छेको भोकले सृजना गर्न सक्ने क्रान्ति र विद्रोहलाई विम्ब र प्रतीकको माध्यमले सघन लक्षणा स्वर पैदा गरेको मैले पाना पानामा बुझेको छु ।

अधिकार, सहनशीलता, जिम्मेवारी र कर्तव्य कवितामा जताततै नारी आवाजमा मुखरित छन् । पुरुष ग्रन्थिले महिला मनोविज्ञानको अभिव्यक्ति दिन सक्नु अर्को उनको चुनौतीमूलक खोज हो । चिसो बाकस तीजमा बुढ्यौली आमाको चुलो चौकोका आभा, बरिलैका भाका र प्रायः घरमा छोरी चेलीले भोग्नुपरेको जिम्मेवारी बोधलाई अनदीका खाजा खाँदै आमासँग मनको वह बिसाउने आत्मलापको बिसौनी पनि हो  ।

आमाका सन्ततिका रगतले बली चढेर आर्जित वर्तमान समयलाई मजदुरको विश्वासले जिम्मेवारी सुम्पिएका प्रमुखहरूले नै मति छोड्दा, ओहदामा प्रमुख बनेका शासकको काम गर्ने परम्परामा पुरातन शासन व्यवस्थाको अवशेष रहिरहँदा जनताले सुख पाउन नसकेकोमा कवि मन विक्षिप्त बनेर भत्किएको छ । लामो सङ्घर्षले प्राप्त शासन व्यवस्थामा पुनः आम मान्छेले विकल्प खोजेको उनका कविताका पङ्तिहरू जताततै बोलिरहेका छन् । कोमल पङ्तिहरू अन्तर कुनामा विक्षिप्त पनि छन् । कोकिल पङ्तिहरू जो कोहीले सहजै प्राप्त गर्न सक्दैनन् । चिसो बाकसको चेतना सुषुप्त छ, उँचो छ । यो स्वाभिमानको धरा छ ।

मानवीय आस्था र व्यवहारलाई वास्तै नगरी एकसरो पाराले चलिरहेको अन्तर्मुखी अधम  सत्ताले उनको हृदयमा गहिरो चोट पारेको छ । यसलाई अभिव्यञ्जनात्मक कला प्रदान गर्नु उनको कविताको शक्ति हो । उनी अभिधा र व्यञ्जनाभन्दा माथि उठेर नवीन उच्च कोटीको भाषा निर्माण गर्छन् । प्रखर प्राज्ञको दृष्टि पटलमा चिन्तन गरेर चक्षु जो आँखो हुँदैन तर दृष्टि हुन्छ । स्वाभिमान बेच्न सक्ने प्राज्ञको उनले दोहोलो काढेर सतर्क बनाएका छन् । अँध्यारो औँसीमा आकाश बिजुली बनेर चम्किइरहेको छ ।

गति छोडेर मति हराएको वसन्तमा मान्छेको युग हाँकिरहेका मूर्खहरूले सर्वसाधारण मान्छेहरूको खुशी खोसेकोमा चिसो बाकस विलापले भक्कानिएको छ ।

सुकेका झर्नाहरूमा

मरेका लेउका पाप्राहरूका मृत्युमा

स्वयम् मरेको छ समय

 

म त्यही चितामा जलिरहेछु

जल्दै कामना गरिरहेछु

जीवन र जवानीको

समाप्ति सबैको

र प्राप्ति

मेरा निकट आफन्तहरूको

वसन्त मुर्झाएको छ ।

डढेलो लागेको वनलाई कर्मले मौन आवाज प्रदान गर्नु उनको साधनाले आर्जित अनमोल उपहार हो । उज्यालो आस्थाको अमूर्त धरोहर भट्याएर परिणाममा आमाको मुटु र कलेजो लुछ्ने नृऋतिहरूलाई पहिचान गर्नु उनको कविताको अपार शक्ति हो । अधिकारको क्रान्ति गर्नेहरू कर्तव्यको अनुहार नभएर छद्मभेषी मुखुण्डो बनिदिँदा र बाल श्रमिक मजदुरी देख्दा कवि मन भत्किएको छ । पाना पानामा भक्कानिएको छ ।

निर्माणको नाममा लुच्चा राजमार्ग बाटोघाटोमा अलपत्र परेका छन् । उन्नति र प्रगतिमा खुट्टा तान्ने र तगारो हाल्ने मानसिकता सिकाइ बनिरहेको वर्तमान समाजलाई खबरदारी गर्न कवि रछानमा पनि जन्मिने छन्– उनको दाबी छ । साँध मिचेर पर्खाल खडा गर्ने लुच्चो सम्पन्नतालाई उनले मौन तिरस्कार गरेका छन् । गति र वेग नभएको समुद्रले पहिरो र मैलो आफैँमा लीन गरेर सूर्योदय र अस्तलाई जन्म दिन सक्ने आमाको रातो आभालाई बहुप्रतीकीकरण गरेर उन्मुक्त लय प्रदान गरिएका कविताहरू सतही अध्ययनले बुझ्न सकिँदैन ।

आफ्ना सन्ततिको गतिविधिलाई अन्तर्दृष्टिले हेर्दा आमाले सन्तानको सत्कर्म कतै पनि देख्दिनन् । पृथ्वीमा उत्पादन गरिएका तोप र मिसाइलले आमाको गर्भ नै अपवित्र बनेको आमाको तर्क छ । मनुज मानुषीले माकुरो जाल बुनेर मान्छेले मान्छेलाई नै निम्छरो बनाएकोमा आमाको मन वैराग्यले विरक्त बनेको छ ।

कविले चिसो बाकसमा कालीगण्डकीको पौराणिक महिमालाई वर्णन गर्दै नदीको नवमौलिकतालाई पर्या प्रदूषण गर्ने शठहरूको दोहोलो काढेका छन् । प्रेमको नाममा आडम्बरी बन्दै गइरहेको अहिलेको पुस्ता, अर्थ मोहले गाउँ छोडेर शहरउन्मुख मात्रै होइन राष्ट्रियता नै त्याग गरेर विदेश पसेका युवाहरूमाझ देशको राज्य सञ्चालनको प्रवृत्तिप्रति वितृष्णा र अविश्वास पुस्तकको विशेषता हो । गाउँले धारा, पँधेराहरू, देउराली, भन्ज्याङ र गोरेटा बाटाहरू नेपाली पुस्तान्तरमा गाउँले संस्कार र संस्कृति क्षय हुँदै गएकोमा कवि मन विभोर बनिरहेको हुन्छ । कवि विगतलाई वर्तमानमा झलझलती सम्झिएर भावविभोर बनेका छन् । कविताले डरलाग्दो अवस्थामा गुज्रिरहेको वर्तमानमा देशको अवस्थालाई प्रतीकात्मक रूपमा प्रखर चिन्तन गरेको छ ।

पानीलाई ठोस, तरल र ग्याँसमा प्रतिबिम्बित गरेर बाआमाको प्रतीक लक्षणार्थ अद्भुत अभिव्यक्त हुन सक्नु उनको कवित्व शक्ति हो । कवितामा वयकालको पैदल मार्ग, खेत खलियानमा मेलोपछिको अर्नी र रनवन सम्झाएर जो कोही पनि भावविभोर हुन्छन् । चाडबाडहरू, नेपाली गीत, बाजा र धुन अपभ्रंश हुँदा मनका भाव शून्यक हुन्छन् । शासक नै मान्छे जस्तो नबनेको बरु मिश्रित ठिमाहा शालिकको बुख्याचाले देश हाँकिरहेको कविको निष्कर्ष छ । छद्मभेषी तिनीहरूलाई कविले छट्टु स्याल र झुटा निशाचरको संज्ञा दिएका छन् ।

कोमलता, कला, विचार र लयलाई भङ्ग नगरेर पनि केही कविता बुझ्न मस्तिष्कलाई बढी नै उभार पर्दछ । यसलाई दोष नभएर परिष्कृत अपेक्षाको रूपमा कवि र पाठकले बुझ्नुहुने छ । उनको प्रकृति प्रेम आत्मपरक शैलीमा प्रखर छ । लक्षणार्थ धारा प्रवाह गतिमा मुखरित हुन सक्नु उनको निर्बन्ध विशेषता हो । पुस्तकमा सङ्ग्रहित अन्तिम अनुच्छेद उनकै लय, शब्द र गतिमा पढेर हेरौँ ।

चुँदी खोलाले भने

चुँदी फाँटमा

उड्ने असङ्ख्य गाइने किराहरूका

पुच्छरमा

गाँसेर कुरोका डाँठहरू

वैशाख एकमा

नयाँ वर्ष मनाउँला ।