अहिले नेपाली मुक्तक विधाको लोकप्रियताको पारो ह्वात्तै माथि चढेको स्थिति रहेको देखिन्छ । यतिबेला सबैभन्दा बढी स्रष्टाहरुद्वारा सबैभन्दा धेरै मात्रामा लेखिएको विधाको रूपमा पनि लिन सकिन्छ मुक्तकलाई । सहृदयी सिर्जनशील प्रिय मुक्तकप्रेमी मन ! तपाईंले यतिबेला विभिन्न सामाजिक सन्जालदेखि लिएर जो कसैको फेसबुक पेजमा गएर हेर्नुभयो भने पनि मुक्तक भनेर लगभग हरेक दिन आफ्नो रचना सार्वजनिक नगरेको साथी भेटिन मुस्किल पर्छ । केही अपवाद बाहेक जुनसुकै अनलाइन पत्रिका हेर्नुभयो भने मुक्तक भनिएको रचना समावेश नगरिएको अनलाइन पत्रिका भेटिदैन । छापा माध्यमका कुनै पनि पत्र–पत्रिका पल्टाएर हेर्नुभयो भने मुक्तक नाम दिइएको रचना समावेश नगरिएको साहित्यिक र गैरसाहित्यिक पत्र–पत्रिका शायद नहुन पनि सक्छन् । कुनै पनि साहित्यिक, साङ्गीतिक र साँस्कृतिक कार्यक्रममा कम्तिमा एउटा पनि मुक्तक वाचन नगर्ने साहित्यानुरागी व्यक्ति अपवाद बाहेक अरु हुँदै नभएको स्थिति देखिन्छ ।

नियमित रूपमा मुक्तक विशेष कार्यक्रमहरु प्रसारण नगरिने एफ. एम. रेडियोहरु शायदै होलान् । मुक्तक विशेष वाचन र एकल वाचनका शृङ्खलाहरु शुरु गरिसकिएको छ । मुक्तक विधाकेन्द्रित कृतिहरुमाथि विमर्श गरिन थालिएको छ । पछिल्लो समयमा प्रकाशित भएका साहित्यिक कृतिहरुमा नजर लगाउने हो भने सबैभन्दा बढी कृति मुक्तक विधाकेन्द्रित नै देखिन्छन् । यतिबेलै मुक्तक विधाकेन्द्रित पत्रिकाहरु समेत प्रकाशित भएका छन् । विभिन्न साहित्यिक पत्रिकाहरुलाई मुक्तक विशेष अंकको रूपमा प्रकाशित गर्ने लहर चलिरहेको देखिन्छ । मुक्तक विधाकेन्द्रित विभिन्न सामयिक संकलनहरु समेत प्रकाशित हुने क्रम निरन्तर जारी नै रहेको देखिन्छ । मुक्तक विधाको विकास , विस्तार र स्तरोन्नतिसङ्गै यसलाई स्थापित विधाको हैसियतमा पुर्याउनैका लागि भनेर मुक्तक विधाकेन्द्रित विभिन्न संघसंस्थाहरुको गठन गरिएको छ । उक्त संस्थाहरू क्रियाशील हुँदै विशेष अभियानकै रूपमा निरन्तर अगाडि बढिरहेको देखिन्छ । राम्रै पुरस्कार राशिसहित मुक्तक लेखन र वाचन प्रतियोगिताहरुले समेत निरन्तरता पाइरहेको देखिन्छ । मुक्तक विधामा क्रियाशील रहेर साधनारत अग्रज मुक्तक स्रष्टाहरुलाई मात्रै प्रदान गरिने मुक्तक पुरस्कार र सम्मानको समेत स्थापना भैसकेको अवस्था छ ।

यसरी हेर्ने हो भने साठीको दशकमा नेपाली साहित्यको क्षेत्रमा गजल विधाले लोकप्रियताको जुन उचाइ चुम्न सफल भएको थियो र आफ्नो विशिष्ट स्थान सुरक्षीत गर्न सफल भएको थियोे । सत्तरीको दशकको उत्तरार्धमा आइपुग्ने क्रमसङ्गै ठ्याक्कै सोही उचाइ चुमेर आफ्नो विशिष्ट स्थान सुरक्षित राख्न सफल हुने बलियो सम्भावना देखिदै गएको छ–मुक्तक विधाले ।

अहिले नेपाली साहित्यमा आफ्नो कलम चलाउने सबैभन्दा पछिल्लो अनुज पुस्तादेखि लिएर सबैभन्दा अघिल्लो अग्रज पुस्तासम्मका प्रायः सबैलाई मुक्तक विधाले मोहनी लगाएको देखिन्छ । यदि मोहनी लगाएको होइन भने केही अपवाद बाहेक समकालीन नेपाली प्रतिनिधि स्रष्टाहरू प्रायः सबैको कलम कुनै न कुनै रूपमा किन चलिरहेको छ त नि नेपाली मुक्तक विधामा केन्द्रित भएर …? यो सङ्गीन प्रश्नको चित्तबुझ्दो तार्किक जवाफ यदि कसैसङ्ग रहेकोे छ …? छ भने वर्तमान समयलाई दिनुहोला–यसको जवाफ ।

अहिले नेपाली मुक्तक विधाले प्राप्त गरिरहेको यो लोकप्रियता त्यति सजिलै हासिल गरेको भने पक्कै पनि होइन । नेपाली मुक्तक विधाले आज सफलताको यो उचाइ चुम्दै अझै अगाडि बढिरहन सक्नुमा नेपाली मुक्तक विधाको मूल मर्मलाई आत्मसात गर्दै दमदार मुक्तक लेख्ने सचेत एवम जागरुक अग्रज मुक्तककारहरुसङ्गै नेपाली मुक्तक साहित्यप्रेमी सहृदयी सिर्जनशील पाठकहरूदेखि लिएर नेपाली मुक्तक विधाका सक्रिय अभियन्ताहरूको विशेष महत्वपूर्ण योगदान रहेको छ ।

यहीँनेर अर्को तीतो तर सत्य कुरा के रहेको देखिन्छ भने–मुक्तक विधाको सर्वाधिक लोकप्रियता देखेर लोभिएका केही आजीवन सिकारु फेसबुके, अनलाइने र युटुबे मुक्तककारहरु ( ? ) , जसले अहिलेसम्म मुक्तक रचनाको नाममा सयौं स्तरहीन भावनाहरु लेखिरहेका छन् । विभिन्न माध्यमबाट नियमितरूपमा सार्वजनिक गरिरहेका छन् अनि मुक्तक सङ्ग्रहको नाम दिएर सिङ्गै कृति समेत प्रकाशित गरिसकेका छन् । यति भएर पनि उनीहरूको मुक्तक लेखन क्रमशः दमदार हुँदै जानू त धेरै टाढाको कुरा भयो, एक हदसम्मको हुनैपर्ने स्तरीयता समेत उनीहरूको मुक्तक लेखनमा अझैसम्म पनि देखिएको छैन । जसले अहिलेसम्म पनि केवल रहर र लहडको भरमा कनिकुथी बोक्रा लेखेझैँ जवर्जस्ती मुक्तक लेखिटोपलिरहेका छन् । जवर्जस्ती अनुप्रास मिलाएर चार हरफ कोरेका छन् र त्यसैलाई मुक्तक नाम दिएर मख्ख परेर बसिरहेका छन् ।

कसैले फेरि साहित्यकार हुने रहर गर्ने क्रममा अरु कुनै पनि विधामा आफ्नो कलम चलाउन न्वारानदेखिको बल निकालेर जतिसुकै कोशिश गर्दागर्दै पनि कुनै उपाय नदेखिएपछि सबैभन्दा छिटो र अत्यन्तै सजिलो भनेकै मुक्तक लेखन हो रहेछ भन्ने भ्रममा अल्झिएर जे आउँछ मज्जाले पचाउछ भनेझैँ हजमोला शैलीमा पचाउने किसिमका स्तरहीन भावना कोरिरहेको देखिन्छ र त्यसैलाई मुक्तक भनेर मख्ख परिरहेको देखिन्छ । यी र यस्तै किसिमको प्रवृत्ति भएका मुक्तकको नाममा सबैभन्दा झुर लेखन भएका तथाकथित मुक्तककार भनाउदाहरुको बाहुल्यता पछिल्लो समयमा अत्यधिक रूपमा बढ्दै गइरहेको देखिन्छ । जसले मुक्तक लेखनलाई निकै हलुका रूपमा लिइरहेका छन् र मुक्तक विधाको हुर्मत काढ्ने काम बाहेक अरु केही गरिरहेका छैनन् ।

यी र यस्ता प्रवृत्ति भएका तथाकथित मुक्तककारहरुद्वारा मुक्तकको नाममा कोरिएका झारपाते भावनाहरुले नेपाली मुक्तक विधाको स्तर , गरिमा र लोकप्रियतालाई सिध्याउने बाहेक अरु केही गर्लान् भनेर आशावादी हुनु पर्दैन । किनकि त्यसरी आशावादी हुनु भनेको “आकाशको फल आँखा तरी मर” भनेजस्तै हो ।

त्यसैले यस्तो प्रवृत्ति भएका तथाकथित मुक्तककारहरूबाट जुन गम्भीर चुनौती यतिबेला नेपाली मुक्तक विधामाथि टड्कारो देखिएको छ , यस सन्दर्भमा नेपाली मुक्तक विधाका हिमायती र अभियन्ताहरुको ध्यान जानैपर्ने देखिन्छ र यो सम्बन्धमा विशेष महत्वपूर्ण कदम चालिन अब कदापि ढिला गरिनु हुँदैन । होइन भने मुक्तक लेखन भनेको सबैभन्दा छिटो र निकै सजिलो लेखन हो रहेछ भन्ने जस्तो “ठिस” कुरा स्थापित हुन केही बेर लाग्दैन ।

त्यसैले अबको सन्दर्भमा सबैभन्दा पहिले तपाईं हामी सबैले मुक्तकप्रेमी सहृदयी सिर्जनशील प्रिय मनहरुलाई बुझाउनैपर्ने जरुरी सन्दर्भ के रहेको देखिन्छ भने–

मुक्तक भनेको कस्तो विधा हो ? र मुक्तक कसरी लेखिन्छ ?

मुक्तक भनेको अनुभुतिको त्यस्तो तीव्रत्तम झिल्को हो । जो शाब्दिक रूपमा अणु–परमाणु जस्तै शक्तिशाली हुन्छ । जसले हजारौं भोल्टेजको करेन्टले जस्तै झड्का दिनसक्ने हैसियत राख्दछ ।

मुक्तक भनेको मान्छेको मनभित्रको मनलाई समेत छुनसक्ने अत्यन्तै मार्मिक तथा चोटिलो अभिव्यक्ति हो । जुन चार हरफमा समेटिएर लेखिएको हुन्छ । जसको पहिलो , दोस्रो र अन्तिम अर्थात चौथो हरफमा अनुप्रास मिलेकै हुनुपर्छ भने तेस्रो हरफ अनुप्रासविहीन स्वतन्त्र हुन्छ । जस्तैः

भक्तहरुसङ्ग ईश्वर नै पराजित भएपछि, कसको के लाग्छ र ?
सरकार नै अपराधीहरूमा आश्रित भएपछि, कसको के लाग्छ र ?
यी मुला नेताहरू कहिल्यै सुध्रिदैनन्, मैले भनेकै त थिएँ, हजुर !
एक्लो बृहस्पति झुटो प्रमाणित भएपछि, कसको के लाग्छ र ?

यो पनि काव्यकै एउटा विधा हो । लघुत्तम तर अत्यन्तै चोटिलो विधा हो । अहिलेसम्मको मुक्तक लेखनको सन्दर्भमा उल्लेख गर्नुपर्दा कम्तीमा दुई हरफदेखि बढीमा सात–आठ हरफसम्म समेटिएर मुक्तक लेखिएको पाइन्छ । तर हामीले बुझ्नैपर्ने र मनन गर्नैपर्ने कुरा के हो भने मुक्तक लेखनको आदर्श तथा सर्वमान्य मानक स्वरुपको रूपमा चार हरफमा समेटिएर लेखिएको मुक्तकलाई मात्रै लिन सकिन्छ । जस्तैः

सीमारेखा मिचिएको हेरिरहेछौँ
स्वयं आफैं किचिएको हेरिरहेछौँ
धोती न टोपी बनाइ, नाङ्गै– भुतुङ्गै,
आफ्नै तस्वीर खिचिएको हेरिरहेछौँ ।

मुक्तक लेखनका नियम के–कस्ता रहेका छन् ?

मुक्त रुपमा आफ्नो भावना अभिव्यक्त गर्न सकिने विधा भएको हुनाले नै यसलाई मुक्तक भनिएको हुनुपर्छ । संक्षिप्त हुनु नै यसको मुख्य विशेषता हो । बिन्दुमा सिन्धु अर्थात् एउटा सानो गागरभित्र सिङ्गो सागर अटाए जस्तै हरेक मुक्तक आफैमा पूर्ण हुन्छन् । मुक्त रुपमा आफ्नो भावना अभिव्यक्त गर्न सकिने आफैमा एउटा पूर्ण विधाको रूपमा मुक्तकलाई लिन सकिन्छ । मुक्त रूपमा आफ्नो भावना अभिव्यक्त गर्न सकिने रहेछ भन्दैमा उन्मुक्त भएर जे पायो अनि जस्तो पायो त्यस्तै लेखेर त्यसलाई मुक्तक नाम राखिदिदैमा उक्त रचना कदापि मुक्तक हुनै सक्दैन ।

पछिल्लो समयमा लेखिएका र विभिन्न माध्यमबाट सार्वजनिक गरिएका मात्रै नभएर मुक्तक सङ्ग्रह नै भनेर प्रकाशित समेत गरिएका प्रायः कृतिहरुलाई नाम मात्रैको मुक्तक रचना र कृतिको रूपमा लिन सकिन्छ । अहिलेसम्मको सन्दर्भमा मुक्तक विधाको जुन विधागत गरिमा स्थापित भैसकेको अवस्था थियोे र छ , त्यसलाई यी र यस्ता कुनै पनि रचना एवम् कृतिहरुले एक रति पनि धान्नै नसकेको स्थिति रहेको देखिन्छ ।

एउटा मुक्तक कति हरफमा समेटिएर लेख्दा राम्रो हुन्छ ?

कम्तीमा दुइ हरफदेखि बढीमा सात–आठ हरफसम्ममा समेटिएर मुक्तक लेखिएको पाइन्छ । तर रुवाई शैलीको मुक्तक भने अनिवार्य रूपमा चार हरफभित्रै समेटिएर लेखिन्छ । अहिले मुक्तक भनेको रुवाइ शैलीमा लेखिएको रचना हो भन्ने कुरा अकाट्य रूपमा स्थापित भइसकेको छ । मुक्तक लेखनको आदर्श तथा सर्वमान्य मानक स्वरूपको रूपमा चार हरफमा समेटिएर लेखिएको रचनालाई मानिएको हुनाले मुक्तक चार हरफमा समेटिएर लेख्दा उक्त लेखन सार्थक हुन्छ । जस्तैः

बाँचुन्जेल ज्युँदै यहाँ मार्छन् हजुर ! आफन्तले
वल्लो घाट न पल्लो तीरको पार्छन् हजुर ! आफन्तले
मरिसकेपछि भने खै के हुँदोरैछ कुन्नि … ?
सम्झी–सम्झी गोहीको आँसु झार्छन् हजुर ! आफन्तले ।

रुवाई शैली भनेको के हो ?

आजभन्दा हजार वर्ष पहिलेका फारसका कवि उमर खैयामद्वारा लेख्न सुरु गरिएको काव्यको लघु विधा नै रुवाइ हो । जुन चार हरफमा समेटिएको हुन्छ । पहिलो, दोस्रो र चौथो हरफमा अन्त्यानुप्रास अनिवार्य रूपमा मिलेको हुनुपर्छ । यसरी लेखिएको रचनालाई रुवाइ शैलीमा लेखिएको मुक्तकको रूपमा लिइन्छ । जस्तैः

धुलो हुनै ठिक छ बरु माटो हुनै ठिक छ
तिमीले नै कुल्ची हिंड्ने बाटो हुनै ठिक छ
एकै वचन बोल्ने फुर्सद नभैदिंदा तिमीसँग–
यस्तो लाग्छ बरु साच्चै लाटो हुनै ठिक छ ।

अन्त्यानुप्रास भनेको के हो ?

अन्त्यानुप्रासलाई तुकबन्दी पनि भनिन्छ । जस्तैः

बालुवामा दिनहुँ पानी हालिरहेछौँ
सर्पलाई दूध खुवाइ पालिरहेछौँ
एउटा यस्तो विडम्बना–अनिश्चित भविष्यको,
पर्खाइमा सिङ्गै जीवन फालिरहेछौँ ।

प्रस्तुत मुक्तकमा हालिरहेछौँ , पालिरहेछौँ र फालिरहेछौँमा जुन आन्तरिक लयविधान देखिएको छ, त्यो नै अनुप्रास हो ।

पहिलो , दोस्रो र चौथो हरफमै अन्त्यानुप्रास मिल्नुपर्छ ?

अँ, हो, पहिलो, दोस्रो र चौथो हरफमा अनिवार्य रूपमा अन्त्यानुप्रास मिलेकै हुनुपर्छ । तेस्रो हरफ स्वतन्त्र हुन्छ । जस्तैः

मध्ये दिनमै अन्धकार रात भेटिन्छ शहरमा
जता जानुस् उतै रित्तो हात भेटिन्छ शहरमा
मान्छेको त रुप मात्रै मान्छे भन्नै नसुहाउँने
मान्छेको नै क्या अनौठो जात भेटिन्छ शहरमा ।

अर्को विशेष ख्याल राख्नैपर्ने कुरा के हो भने–पहिलो हरफले मुक्तक लेखनको विषय, प्रसङ्ग र सन्दर्भको उठान गरेको हुन्छ । दोस्रो हरफले चाहिँ पहिलो हरफले उठाएको सन्दर्भको अर्थपूर्ण किसिमले समर्थन गरेको हुनुपर्छ । तेस्रो हरफ आफैंमा स्वतन्त्र हुनसक्छ तर उक्त मुक्तक लेखनको क्रममा उठाइएको विषय, प्रसङ्ग र सन्दर्भभन्दा बाहिर गएर बरालिएको हुनु भने हुँदैन । चौथो हरफले फेरि पहिलो हरफले उठाएको विषय, प्रसङ्ग र सन्दर्भको सार्थक किसिमले समापन गरिएको हुनुपर्छ । त्यसो गर्दा चौथो हरफ मारक, मर्मभेदी, निकै वजनदार र विद्युतीय झड्का दिने किसिमको हुनैपर्छ । जस्तैः

रुखमा चढाइ बन्चरोले फेद काट्छन् मान्छेहरू
कति बाठा ! काँढासँग फूल साट्छन् मान्छेहरू
देखेर नि नदेखेझैँ गरि हिंड्छन् अरुबेला–
मौका पर्दा पैतालाको धुलो चाट्छन् मान्छेहरु !

अरु कसैले लेखेको थुप्रै मुक्तक हेर्दै गर्दा, पढ्दै गर्दा र सुन्दै गर्दा जम्मा चार हरफ मात्रै त हो रहेछ नि ! भन्ने जस्तो लाग्न पनि सक्छ तर आफैंले एउटा मात्रै किन नहोस् उत्कृष्ट मुक्तक लेख्नुपर्यो भने चाहिँ निकै गाह्रो हुन्छ । आफ्नै बाउको बिहे समेत देखिन बेर लाग्दैन ।
किनभने कुनै पनि विषय, प्रसङ्ग र सन्दर्भलाई थोरै शब्दमा अभिव्यक्त गर्नुपर्दा झन् धेरै गाह्रो हुन्छ । तुलनात्मक रूपमा धेरै शब्दमा अभिव्यक्त गर्दा भन्न खोजिएको कुरा प्रस्तुत गर्न साच्चै सजिलो हुन्छ ।

त्यसैले एउटा मात्रै किन नहोस् उत्कृष्ट मुक्तक लेख्न तपाईं–हामीले सोचेजस्तो र सम्झेजस्तो सजिलो चाहिँ पटक्कै छैन । कसैले पनि मुक्तक लेखनलाई हलुका रूपमा कदापि लिनु हुँदैन । चार हरफमा समेटिएर अनुप्रास समेत मिलाएर लेखिएको छ भन्दैमा अर्थात संरचनात्मक स्वरुप ठ्याक्कै मिलेको छ भन्दैमा उक्त रचनालाई मुक्तक हो भन्न मिल्दैन र सकिदैन । आफुले हतारहतारमा लतरपतर गरेर लेखेको कुनै पनि किसिमको स्तरहीन भावनालाई मुक्तक नाम दिएर कुनै पनि माध्यमबाट सार्वजनिक गरिसकेपछिको अवस्थामा त्यसलाई अरु सबैले मुक्तक रचनाकै रूपमा स्वीकार गरिदिनेछन् भन्ने पनि हुँदैन ।

त्यसैले सबैभन्दा पहिले धेरैभन्दा धेरै उत्कृष्ट मुक्तक रचनाहरु खोजीखोजी पढ्ने काम गरौं । त्यसपछि मुक्तकको मुल मर्मलाई बुझेर आफैंलाई चित्त बुझ्ने किसिमका उत्कृष्ट मुक्तक लेख्ने कोशिश गरौं । अनि मात्रै ती मुक्तक रचनाहरुलाई फेसबुक, अनलाइनदेखि लिएर कुनै पनि पत्र–पत्रिकाहरुको माध्यमबाट सार्वजनिक गरौं । आफ्नो मुक्तक लेखनलाई सदैव परिस्कार गरौं । आफ्नो मुक्तक लेखन अझै उत्कृष्ट हुने सम्भावना बाँकी रहुन्जेल त्यसलाई निरन्तर परिस्कार गरिरहौँ । त्यसपछि बल्ल हरेक हिसाबले खारिएको सिङ्गो मुक्तक कृति प्रकाशित गरौँ । होइन भने पछिल्लो समयमा आइरहेको नेपाली मुक्तक लेखनसँगै फुटकर मात्रै नभएर सिङ्गै कृति प्रकाशनको भीषण बाढीमा तपाईं–हामी बगेर बेपत्ता हुनेछौँ । तपाईँ–हाम्रो मुक्तक लेखनको अस्तित्व पनि सँगसँगै बेपत्ता हुनेछ, फेरि कहिल्यै कहिँकतै नभेटिनेगरि … !
जाँदाजाँदै,

मुक्तककारको मुक्तकमा दम हुनुपर्छ
फुल बढी काँढा अलिक कम हुनुपर्छ
कलम बोक्ने विचारको युद्ध–मैदानमा,
हरेक शब्द अणुजस्तै बम हुनुपर्छ ।

सम्बन्धित सबैलाई समयमै चेतना भया !