दाङ । राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा लघुकथाकार सुरेशकुमार पाण्डेको दोस्रो लघुकथा सङ्ग्रह ‘आवाज’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ९६ वर्षीय पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा भाषा आयोगका निवर्तमान सदस्य डा. अमर गिरी, प्राज्ञ उत्तमकृष्ण मजगैया तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यता रहेको थियो।
लोकार्पण समारोहमा प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथिहरू, नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक विभागका निर्देशक डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, नेपाल पत्रकार महासङ्घ दाङका केन्द्रीय सचिव सविन प्रियासन, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक संघका अध्यक्ष डा. हिमलाल पन्थी, समीक्षक वसन्त अनुभव तथा लेखक पाण्डेलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।
लोकार्पित कृति ‘आवाज’माथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक वसन्त अनुभवले पाण्डेका लघुकथाहरूले समाजका विसङ्गति र समसामयिक मुद्दाहरूलाई सशक्त रूपमा उजागर गरेको बताउनुभयाे । उक्त सङ्ग्रहले नेपाली लघुकथाको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयाे ।
कार्यक्रममा डा. अमर गिरी, उत्तमकृष्ण मजगैया, पुरुषोत्तम खनाल, सविन प्रियासन, काशीनाथ पोखरेल र मनिषा पाण्डे रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्दै लेखक पाण्डेको निरन्तर साहित्यिक साधना र समाजप्रतिको उत्तरदायी लेखनको प्रशंसा गर्नुभएकाे थियाे ।
व्यक्तित्व नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा स्थापित प्राज्ञिक व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई गरिमामय बनाएको जनाइएको छ। कार्यक्रममा विना रोकाले अतिथिहरूलाई स्वागत गर्नुभएकाे थियाे भने कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 






