काठमाडौं । नेपाली नियात्रा साहित्यमा नयाँ योगदान थपिएको छ। नियात्राकार नन्दु उप्रेतीको नियात्रा सङ्ग्रह ‘चीन यात्राका यादहरू’ शनिबार काठमाडौंमा विमोचित भएको छ।

उक्त पुस्तकमा मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणका अनुभव समेटिएका छन्। यात्रीले राजधानी पेइचिङ, व्यापारी केन्द्र साङहाई, र पर्यटकीय क्षेत्र छङ्तुका भ्रमणका सन्दर्भ नियात्रा शैलीमा प्रस्तुत गर्नुभएकाे छ।

पुस्तकको प्रकाशक ‘फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपाल’ रहेको छ र विमोचन कार्यक्रम सोही संस्थाको ब्यानरमा आयोजना गरिएको थियो। कार्यक्रममा पुस्तक समीक्षा गर्दै प्रा.डा. गोविन्द मानसिंह कार्कीले भन्नुभयाे, “उप्रेतीद्वारा लिखित यो नियात्रा सङ्ग्रहले चीनको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय र भौगोलिक पक्षसहित चिनियाँ जीवनशैली, चामत्कारिक विकास, र भविष्यका सम्भावनाहरू साहित्यिक ढङ्गमा रोचक शैलीमा प्रस्तुत गरेको छ। नेपाली पाठकका लागि यो अत्यन्तै महत्वपूर्ण कृति हो।”

समीक्षक कार्कीले पुस्तकमा समेटिएका यात्राका प्रत्येक सन्दर्भ रोचक र पठनीय भएको र सम्झना, कल्पना र यथार्थको त्रिकोणात्मक मिश्रणले कृतिलाई स्मरणीय बनाएको बताउनुभयाे ।

नियात्राकार उप्रेतीले आफ्नो अनुभव, देखेका र सुनेका कुराहरूलाई नेपाली पाठक सामु प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयाे ।

कविता, बालसाहित्य र साहित्यिक अनुसन्धानमा समेत सक्रिय उप्रेतीको यो तेस्रो नियात्रा सङ्ग्रह हो। यसअघि उहाँका ‘फेवादेखि विवासम्म’ र ‘कालापानी यात्रा’ प्रकाशित भइसकेका छन्।