काठमाडौँ । जीवनप्रेम, राष्ट्रप्रेम, जनप्रेम, प्रकृतिप्रेमका भावहरू प्रकट गर्दै प्रगतिशील धाराको कविता लेख्ने उप्रेतीका एक दर्जन कविताहरू शनिबार काठमाडौंमा गुञ्जिए ।
“वर्षौँ वर्ष चाहेर र नचाहेर पनि
तिमीलाई मैसँग राखेँ
कहिले देखाएर राखेँ
कहिले नदेखाएर राखेँ
अब म सक्दिन तिमीलाई सँगै राख्न
धेरै वर्ष अघि सहिद बनेर तस्विरमा बसेको
मेरो अतितको प्यारो साथी
झिकेर तिमीलाई भित्ताबाट
काँपिरहेका हातमा लिइरहेको छु
अब खै कता राखुँ ?” (सहिदलाई बिर्सने सहिदको साथी)
“अब मूर्ति नबनाऊ मान्छेलाई
मूर्तिभन्दा मान्छे मान्छे नै भएको राम्रो
मान्छे मान्छे मान्छे हुँदै
युगयुगसम्म मान्छेमै सरिरहेको राम्रो ।” (मूर्तिको आवाज)
कार्यक्रममा कवि स्वयंले “के थियो तिम्रो नाम, हतियारको आँसु , भर्खरै सुतेको मान्छे, पोखरीमा डबेको आकास, प्रयसीको सौन्दर्य, मूर्तिको आवाज, मेरो प्यारो काठमाडौं, सुनाखरी र लालीगुँरास एवम् देशको नक्सा र मेरो बुबा” गरी नौवटा कविता वाचन गरेका थिए ।
त्यस्तै, कवि डाक्टर राजेन्द्रप्रसाद अधिकारीले सहिदलाई बिर्सने सहिदको साथी, पवित्रा सुवेदीले रजश्वला जीवनको ज्योति र अनुप उप्रेतीले हारिरहेका छोराछोरी कविता वाचन गरेर कविलाई सहयोग गरेका थिए।
उप्रेतीका कविताहरूमाथि समीक्षा गर्दै वरिष्ठ समालोचक प्राज्ञ प्राध्यापक केशव सुवेदीले समाजका समस्या, देशका पीडा, जनताका दु:खसुख, प्रकृति प्रेम, मात्तृ विशिष्टता, परदेशिएका सन्तानका कथाव्यथा, नाम नलेखिएका योद्धाहरूप्रति सम्मान, युगचेतना र युगबोधको प्रस्तुती, सरलता भित्र बौद्धिकता, विचारको उत्कृष्टताका साथमा कलाको चमत्कारिकता उप्रेतीका कविताका गुण भएको बताएका थिए ।
नेपाली कविता लेखनमा लामो समयदेखि सक्रिय नन्दु उप्रेती चिनिएका कवि हुन् । कविता लेखनको ४० वर्षको यात्रा पार गरेका कवि उप्रेतीले उत्कृष्ट कविताहरू सिर्जना गरे पनि हालसम्म उनको कविता संग्रह प्रकाशित नहुँदा नेपाली कविता साहित्यलाई नै नोक्सान भइरहेको विचार राख्दै उप्रेतीका बाल साहित्य, अनुवाद, नियात्रा साहित्य र साहित्य अनुसन्धानका आधादर्जन कृतिहरू प्रकाशित भैसक्नुले उप्रेती बहुमुखी प्रतिभा रहेको पुष्टि भएको चर्चा समेत गरे ।
सङ्घका अध्यक्ष कवि रामविनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा कविताप्रेमी बौद्धिक श्रोताहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि साहित्यकार एवं सांसद रघुजी पन्तले नन्दु उप्रेतीका कविताले जीवनवादी विचार अँगालेको चर्चा गर्दै कविता एवं कुनै पनि साहित्यमा यो पार्टी वा ऊ पार्टीको आबद्धता आवश्यक नरहेको तर सही विचारको उपस्थिति साहित्यमा हुनुपर्ने विचार प्रकट गरेका थिए ।
सङ्घका डा. हरिप्रसाद सिलवालले कविको साहित्य लेखनको चर्चा गर्दै कविको परिचय प्रस्तुत गरेका थिए भने रमेश पोखरेलले उप्रेतीका कवितामाथि संक्षिप्त विचार राख्दै धन्यवाद व्यक्त गरेका थिए । उनले प्रत्येक महिनाको दोस्रो शनिबार सम्पन्न हुने एकल कविता वाचनमा आगामी श्रावण महिनाको दोस्रो शनिबारका लागि कवि डाक्टर राजेन्द्रप्रसाद अधिकारीलाई प्रस्तुत गर्ने जानकारी पनि दिएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।