विष खन्याएपछि छातीमा,
पिप बग्ने नदीहरू उम्रिए आँखाबाट,
पिठ्युँमा खडेरीका सर्पहरूले डस्न थाले।
वक्षस्थल टाँसियो रुखको बोक्राजस्तै छातीमा लपक्कै।
माटो फुटाउन सकेन रुखबाट झरेर फलले।
ऊ असह्य पीडाले जल्दै पक्षघात भएर मर्यो,
म धरतीलाई हेरिरहेको छु।
आकाश टोलाउन थाल्यो घामतिर फर्किएर,
बादलहरू सुमसुम्याउँदै म्वोइँ खान आउन छाडे।
कपासका पखेटा फैलाउँदै,
शीत, वर्षा, झरी पेट्रोलझैँ बले आकाशतिरै।
आँसु आएन जुन रुँदा,
आँसु आएन ताराहरू रुँदा,
आँसु आएन सिङ्गै आकाश रुँदा,
म आकाशलाई हेरिरहेको छु।
मान्छेका आँखाहरू धमिलो देखिन थाले,
टाउकोको आकार घट्यो,
छाती साँघुरो भयो।
मान्छे त होचो भयो,
पुड्को, बामपुड्के,
हेर्दाहेर्दै माटोको सानो डल्लो जस्तो भएर…
माटोमै हराउने भयो ऊ,
हरायो धुलो भएर धुलोमै।
म हेरिरहेको छुँ,
आफै सिद्धिएको क्षण।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










