चितवन । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ माथि भरतपुरको आँपटारीमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। विशेषतः विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले उपन्यासलाई चितवनको इतिहासको साक्षीका रूपमा स्थापित कृति भएको धारणा व्यक्त गर्नुभएकाे छ ।
नेपाली लेखक संघ चितवनद्वारा आयोजित ‘पाठकसँग लेखक’ कार्यक्रममा वक्ताहरूले उपन्यासले चितवनको पुरानो समाज, बस्ती विकास तथा सामाजिक रूपान्तरणलाई सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयाे ।
स्मल हेभन स्कूलका विद्यार्थी असिम शिलवालले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै सहकारी अभियन्ता एवं समाज सुधारक बखानसिंह गुरुङको जीवनीमार्फत चितवनको इतिहासलाई जीवन्त रूपमा चित्रण गरिएको बताउनुभयाे । उहाँले कृति चितवनको ऐतिहासिक पृष्ठभूमि झल्काउन सफल भएको उल्लेख गर्नुभयाे ।
त्यसैगरी विद्यार्थी बिनिसा दवाडीले ‘बखान’ केवल व्यक्तिको जीवनी मात्र नभई चितवनको बस्ती विकासको रूपरेखा प्रस्तुत गर्ने महत्वपूर्ण दस्तावेज भएको धारणा राख्नुभयाे । उहाँका अनुसार उपन्यासले चितवनको इतिहास र समाजको परिवर्तनलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।
साहित्यकार सुरेन्द्र अस्तफलले कृतिमा चितवनको बस्ती विकासदेखि सहकारी आन्दोलनसम्मको यात्रा समेटिएको उल्लेख गर्दै वि.सं. २००७ देखि २०४० सालसम्मका आन्दोलन र उपलब्धिहरू पुस्तकमा समावेश गरिएको बताउनुभयाे । पत्रकार सरिता पौडेलले कृतिलाई चितवनका लागि ऐतिहासिक दस्तावेजसरह रहेको धारणा व्यक्त गर्नुभयाे ।
स्मल हेभन स्कूलका प्रधानाध्यापक बिमल क्षेत्रीले पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरी विद्यार्थीलाई चितवनको इतिहासबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयाे । नेपाली लेखक संघ चितवनकी अध्यक्ष शान्ति शर्माले चितवनमाथि गरिएको गहन अध्ययनका कारण उपन्यास सार्थक बनेको उल्लेख गर्दै साधारण विषयवस्तुलाई समेत गहिरो रूपमा प्रस्तुत गरिएको बताउनुभयाे ।
कार्यक्रममा लेखक पराजुलीले ‘बखान’ चितवनको इतिहाससँग सम्बन्धित कृति भएको उल्लेख गर्दै कक्षा १० देखि १२ सम्म नेपाली र अंग्रेजी विषयको परीक्षामा समेत कृति समीक्षा समावेश हुने भएकाले यस्ता कार्यक्रम विद्यार्थीका लागि उपयोगी हुने बताउनुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ फाल्गुन २०८२, आईतवार 










