बुक क्लब भक्तपुर को आयोजनामा कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजू सँग साहित्य, संस्कृति र जीवनका विविध पक्षबारे विशेष अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रममा साहित्य सिर्जना, जीवन र जगत्, इतिहास, संस्कार तथा नेपाली संस्कृतिका विषयमा गहन विमर्श गरिएको थियो।
कार्यक्रमको प्रारम्भमा विराट मानन्धरले कवि लाकोजूको जीवनी र साहित्यिक योगदानबारे प्रकाश पार्दै अन्तरसंवादको पृष्ठभूमि प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि कविता वाचनबाट सुरु भएको अन्तरसंवादमा लाकोजूका कविता, मुक्तक, कथा, हाइकु, नियात्रा, अनुसन्धानमूलक निबन्ध, संस्मरण, अनुवाद तथा बालसाहित्यसम्म फैलिएको उहाँको सिर्जनात्मक यात्राबारे चर्चा गरिएको थियो।
अन्तरसंवादका क्रममा लाकोजूले लेखक प्रलोभनमा नपरी निडर र स्वतन्त्र रूपमा लेख्न सक्नुपर्ने विचार व्यक्त गर्दै समाजको सकारात्मक परिवर्तनका लागि स्रष्टा सधैँ सचेत हुनुपर्ने बताउनुभयाे । उहाँले “हरेक सफल मानिस असल नहुन सक्छ, तर असल मानिस सफल बन्न सक्छ” भन्दै भावी पुस्तालाई नैतिक मार्गतर्फ प्रेरित गर्नुपर्ने धारणा राख्नुभयाे ।
बहुभाषिक स्रष्टाका रूपमा परिचित लाकोजूले नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र नेपाल भाषामा लेखन गर्दै आएको उल्लेख गर्दै आफ्नो लेखनको मूल प्रेरणा सामाजिक घटनाक्रम, परिवेश र समाजप्रतिको दायित्वबोध भएको बताउनुभयाे । “साहित्य मनोभावलाई शब्दमा रूपान्तरण गर्ने कला हो, साहित्य जहिले पनि समाज र देशप्रति उत्तरदायी हुनुपर्छ,” उहाँले भन्नुभयाे, “साहित्यले समाजलाई सकारात्मक ऊर्जा दिन सक्छ।”
आफ्नो लेखनमा ‘घाम’ जस्ता प्रतीकको प्रयोगबारे उहाँले स्पष्ट पार्दै ‘घाम’ आशा, ऊर्जा र जीवनदर्शनको प्रतिनिधि भएको बताउनुभयाे, जसले निराशाबीच उज्यालोको सम्भावना देखाउने उहाँको धारणा थियो।
पनौतीको सांस्कृतिक तथा प्राकृतिक परिवेशमा जन्मेर हुर्किएका लाकोजूले बाल्यकालदेखि नै जात्रा–पर्व, मठमन्दिर र स्थानीय संस्कारबाट प्रेरणा प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्नुभयाे। ऐतिहासिक तथा सांस्कृतिक वातावरणले संस्कृतिप्रति श्रद्धाभाव जागृत गराएको र त्यसैबाट लेखन यात्राको सुरुआत भएको उहाँको भनाइ थियो।
कार्यक्रमका सञ्चालक हरिसुन्दर छुकांले लाकोजूको लेखन यात्रा, चुनौती, अवसर र भावी योजनाबारे जिज्ञासा राख्नुभएकाे थियाे । जवाफमा लाकोजूले आफूलाई ‘अक्षरकर्मी’का रूपमा चिनाउँदै आफ्नो लेखनले समाज र राष्ट्रलाई सकारात्मक योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे । अन्तरसंवादका क्रममा उहाँले आफ्ना केही सिर्जना वाचन गर्दै समकालीन समाज र परिस्थितिको चित्रण पनि प्रस्तुत गर्नुभएकाे थियाे ।
साहित्यमा देखिएका विकृतिबारे उठेका प्रश्नको उत्तर दिँदै उहाँले लेखक लोभ, लालच र भयभन्दा माथि उठेर सत्यको पक्षमा उभिनुपर्ने विचार व्यक्त गर्नुभयाे । कार्यक्रममा सहभागीहरूले उहाँका काव्य प्रवृत्ति, प्रकृतिप्रेम, आध्यात्मिक संवेदना तथा साहित्यिक योजनाबारे जिज्ञासा राख्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










