काठमाडौँ । कवि सूर्यप्रसाद लाकोजूका कविताहरूको गहन विश्लेषण समेटिएको समालोचनात्मक कृति ‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ को लोकार्पण कार्यक्रमका सम्पन्न भएको छ।

समालोचक श्रीहरि फुयाँलद्वारा लिखित यस कृतिको लोकार्पणमा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमार कोइराला, डा. तुलसी भट्टराई, प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले लाकोजूको कवि व्यक्तित्वको लोकप्रियतालाई उल्लेख गर्दै यस कृतिको प्रकाशनलाई सान्दर्भिक भएको बताउनुभयो । उहाँले लाकोजूका कविताहरू छिमेकी मुलुकहरूमा समेत लोकप्रिय रहेको तथ्यलाई स्मरण गराउनुभयो । डा. तुलसी भट्टराईले फुयाँललाई मोतिराम र लाकोजूलाई भानुभक्तसँग तुलना गर्दै यस किसिमको पुस्तकको प्रकाशनलाई उल्लेखनीय र दुर्लभ घटना भन्नुभएको छ । उहाँले अनुज पुस्ताका शक्तिशाली कविताहरूको यस प्रकारको समालोचनात्मक विश्लेषणलाई गौरवको विषय भन्नुभएको छ ।

प्रा.डा. कुमार कोइरालाले समालोचनाको लागि उपयुक्त पात्रको छनोट र विविध समालोचकीय दृष्टिकोणको प्रयोगलाई प्रशंसा गर्नुभएको छ । उहाँले यस कृतिले लाकोजूका कविताहरूलाई न्याय गरेको धारणा राख्नुभयो । डा. तुलसी गौतमले लाकोजूका कविताहरूले आफ्नै विचार र भावना व्यक्त गर्ने र थोरै शब्दमा धेरै कुरा भन्न सक्ने क्षमताको प्रशंसा गर्दै ती कविताहरूलाई उच्चस्तरका र हृदयस्पर्शी भन्नुभएको छ । प्रा.डा. शैलेन्दु प्रकाश नेपालले लाकोजूका कविताहरूको सरलता र सरसतालाई भएको बताउनुभयो । साहित्यकार युवराज मैनालीले फुयाँललाई बहुमुखी प्रतिभाका धनी तथा सफल समालोचकको रूपमा चित्रण गर्नुभएको छ ।

समालोचक फुयाँलले लाकोजूका कविताहरूको उच्चकोटीका र स्तरीय भएकै कारण यस पुस्तकको निर्माण भएको बताउनुभयो । कवि लाकोजूले आफ्नो लेखनको प्रेरणाका स्रोतहरूका रूपमा अग्रजहरूको आशीर्वाद, मित्रहरूको सद्भाव र अनुजहरूको स्नेहलाई उल्लेख गर्नुभएको छ ।

‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ मा फुयाँलले लाकोजूका प्रकाशित छ वटा कवितासङ्ग्रहहरू – स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खाल – को आधारमा विश्लेषण प्रस्तुत गर्नुभएको छ । ट्रान्सवल्ड पब्लिकेशनद्वारा प्रकाशित यस पुस्तकको लोकार्पण कार्यक्रम ओरियन्टल पब्लिकेशनले आयोजना गरेको थियो।