काभ्रे ∕ साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह ‘सत्याग्रह’ प्रकाशित भएको छ । विगत लामो समयदेखि नेपाली भाषा र साहित्यका विविध विधामा कलम चलाउँदै आएका सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह भने विधागत दृष्टिले पहिलो कृति हो ।
पत्रकारिता हुँदै पछिल्लो समयमा साहित्यिक पत्रकारितामा समेत सक्रिय रहनुभएका लाकोजूको सत्याग्रह कथासङ्ग्रहभित्र एघारओटा विविध विषयका कथाहरू रहेका छन् । सङ्ग्रहित कथाहरूले देशभक्तिको भावना बोकेका छन् । वर्तमान राजनीतिको विषयमा पनि कथा बोलेको छ । कथाहरूले समाजिक विकृति, विसङ्गतिहरूलाई निमिट्यान्न पार्नुपर्ने विचार पनि उठाएको देखिन्छ ।
जनताको नागरिक हक र अधिकार प्राप्तिको लडाइँको विषयलाई पनि कथाले बोको छ । हुँदा खानेहरूको पीडाको चित्रण कथामा छ । प्रेम, प्रणयका विषय पनि कथाहरूमा उठाइएको छ । प्रेमलाई प्रेरणा र समर्पणको रुपमा चित्रण गर्ने काम कथाका माध्यमबाट कथाकारले गर्नुभएको छ । सो कथासङ्ग्रह ट्रान्सवर्ल्ड पब्लिकेसनले प्रकाशन गरेको हो ।
लामो समयदेखि नेपाली साहित्यका विविध विधामा सकृयातापूर्वक कलम चलाउँदै आउनुभएका साहित्यकार लाकोजूका सांस्कृतिक निबन्धका तीनओटा, कविताका पाँचओटा, मुक्तकका पाँचओटा, हाइकुका दुईओटा, एउटा नियात्रा, एउटा अनुवाद, तीनओटा जीवनीपरक निबन्ध, बालसाहित्यका नौओटा कृति प्रकाशित छन् भने सोही सङ्ख्यामा उहाँले साहित्यका विविध विधाका कृति सम्पादन समेत गर्नुभएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।