काठमाडौं । साहित्य, पत्रकारिता, शिक्षा, समाजसेवा र संस्कृतिका क्षेत्रमा बहुआयामिक योगदान पुर्‍याउँदै आउनुभएकाे सर्जक सूर्यप्रसाद लाकोजूलाई समर्पित बृहत ग्रन्थ ‘आलोकमय सूर्य’ को विमोचन एक विशेष समारोहबीच सम्पन्न भएको छ ।

उक्त ग्रन्थको विमोचन  साहित्यकार  हरिराम जोशीले गर्नुभएकाे थियाे । विमोचनपछि बोल्दै उहाँले लाकोजूलाई “साहित्य, साहित्यिक पत्रकारिता, संस्कृति र शिक्षा क्षेत्रका उदाहरणीय व्यक्तित्व” भन्दै उहाँको निरन्तर कर्मशीलता सबैका लागि प्रेरणादायी भएको टिप्पणी गर्नुभयाे ।

विशिष्ट अतिथि समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईले सूर्यप्रसाद लाकोजूको कार्यलाई “सूर्यजस्तै उज्यालो” भन्दै उहाँको योगदानलाई जीवन्त धरोहरका रूपमा व्याख्या गर्नुभयाे । प्रमुख वक्ता प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले लाकोजूलाई “ज्ञानरश्मि छर्दै आएका आलोकमय व्यक्तित्व” को रूपमा प्रस्तुत गर्नुभयाे भने अर्काे प्रमुख वक्ता डा. ज्ञानु अधिकारीले ग्रन्थले लाकोजूको व्यक्तित्व र कृतित्व दुवैलाई दस्तावेजीकरण गरेको बताउनुभयाे ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लाकोजूलाई “उमेरले होइन कर्मले वरिष्ठ” भएको स्रष्टा भन्दै उहाँको साधना र निष्ठापूर्ण सेवाभाव प्रशंसनीय रहेको विचार राख्नुभयाे ।

समारोहमा नगरप्रमुख रामशरण भण्डारी, साहित्यकार मोहन दुवाल, वियोगी बुढाथोकी, ज्ञाननिष्ठ ज्ञवाली लगायतका व्यक्तिहरूले पनि लाकोजूको योगदानबारे मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा ग्रन्थसम्पादक द्वय भीमप्रसाद काफ्ले र रामसुन्दर देउजाले ‘आलोकमय सूर्य’ लाकोजूको साहित्यिक, सांस्कृतिक, शैक्षिक र पत्रकारितासम्बन्धी कर्मको समष्टिगत दस्तावेज भएको स्पष्ट पार्नुभयाे । सो ग्रन्थ ट्रान्सवल्ड पब्लिकेशनले बजारमा ल्याएको हो ।

सूर्योदय भूतपूर्व विद्यार्थी समाजको आयोजनामा सम्पन्न कार्यक्रममा लाकोजूलाई विशेष सम्मान तथा अभिनन्दन समेत गरिएको थियो । यस ग्रन्थमार्फत लाकोजूको जीवन र कृतित्वलाई दस्तावेजी स्वरूप दिनुका साथै उहाँको योगदानलाई भावी पुस्ताका लागि प्रेरणा दिने उद्देश्य राखिएको सम्पादकहरूले बताउनुभएकाे छ ।