
बनेपा । साहित्यकार तथा जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपाको अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन हरिराम जोशीले पानसमा बत्ती बालेर गर्नुभएको थियो। प्रगतिवादी समालोचक हृदयचन्द्र सिंह प्रधानप्रति माल्यार्पण पश्चात् कार्यक्रम आरम्भ भएको थियो।
यो वर्ष २० जना सर्जकलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको छ । प्रमुख अतिथि जोशीले २०८० सालका लागि घोषित ‘हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान’ प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ), ‘गणेशरखिलकुमारी दुवाल जनमत सम्मान’ किशोर पहाडी (काठमाडौँ), ‘केदारसुदर्शना बालसाहित्य सम्मान’ प्रा.डा. ध्रुव घिमिरे (नुवाकोट), ‘सिचि धर्म संस्कृति सम्मान’ ब्रह्मकुमारी लक्ष्मी दिदी (बनेपा), ‘मित्र अनुवाद राष्ट्रिय सम्मान’ मधुसूदन पाण्डेय (दाङ), ‘दीपक वैद्य स्वास्थ्य सम्मान’ डा. प्रकाशराज रेग्मी (पाल्पा), ‘भारती जनमत साहित्यिक पत्रकारिता सम्मान’ चेतनाथ धमला (ओखलढुङ्गा), ‘दीपा जनमत सम्मान’ आकाश अधिकारी (तनहुँ), ‘जनक प्रधान सेवा सम्मान’ विनोदराज शर्मा (भक्तपुर), ‘केवलपुरे जनमत सम्मान’ मोमिला जोशी (धनकुटा), ‘कमला सैँजू जनमत सम्मान’ इल्या भट्टराई (काठमाडौँ), ‘महेन्द्रलाल कलाकार सम्मान’ कालु कुमाले (ललितपुर), ‘राजभाइ सहयात्री सम्मान’ देवीचरण भण्डारी (झापा), ‘ज्ञानरत्न मङ्गलतारा राष्ट्रिय सम्मान’ फूलमान वल (काभ्रे), र ‘पूर्णमाया लुचि समाजसेवा सम्मान’ पूर्णबहादुर गुरुङ (सुनसरी) लाई सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरेर सम्मानित गर्नुभएको छ ।
यसैगरी २०७९ सालको ‘भारती जनमत साहित्यिक पत्रकारिता पुरस्कार’ मेरिना स्मृति (काठमाडौँ) र ‘ज्ञानरत्न मङ्गलतारा राष्ट्रिय सम्मान’ दिनेश गुप्ता (वीरगञ्ज) लाई प्रदान गरिएको छ । शिक्षा, पत्रकारिता र समाजसेवामा विशिष्ट योगदान पुर्याउने गोविन्दमान प्रधानाङ्ग, प्रल्हाद शर्मा हुमागाईँ र त्रिरत्न रञ्जितकारलाई जनमतले कदरपत्र प्रदान गरेको छ ।
कार्यक्रममा मोहन दुवालका ‘पौरखीहरू भाग (१ र २)’, ‘सम्झनामा सम्झनाहरू (१)’, ‘जनमत जानकारी स्मोहन दुवाल’ र ‘जनमत सङ्क्षेपमा’ जस्ता कृतिहरूको लोकार्पण पनि गरिएको छ ।
प्रमुख अतिथि जोशी, विशिष्ट अतिथिहरू प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. सुष्मा आचार्य, डा. दामोदर पुडासैनी र पुष्कर अथक रेग्मी लगायतले जनमत र मोहन दुवालको साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूले आफ्नो अनुभव तथा भावनाहरू प्रकट गर्नुभएको थियो । आकाश अधिकारी र देवीचरण भण्डारीले कविता वाचन गर्नुभएको थियो ।
अध्यक्ष दुवालले कार्यक्रमको समापन गर्दै जनमतको भावी योजनाबारे प्रकाश पार्नुभएको थियो । उहाँले जनमत वाङ्मय प्रतिष्ठानका परिषद् र सभा सदस्यको नामावली घोषणा गर्दै जनमतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँचको चर्चा गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण रामसुन्दर देउजाले गर्नुभएको थियो । जनमतले हालसम्म ३३० अंक प्रकाशित गरिसकेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

