
भरतपुर । यस वर्षकाे ‘दशरथ चन्द स्मृति पुरस्कार’ साहित्यकार तथा जनमत साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक मोहन दुवाललाई प्रदान गरिएकाे छ । भरतपुरमा आयोजित एक कार्यक्रमका बिच दुवाललाई सो पुरस्कार प्रदान गरिएको हाे ।
चितवनबाट प्रकाशित हुँदै आएको आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले सहिद दिवसको अवसरमा प्रदान गर्दै आएकाे यो पुरस्कार बनेपाका दुवालले पाएका हुन् ।
पुरस्कारको राशि नगद १५ हजार रुपैयाँ रहेको छ । ‘हाम्रो सिर्जना’ पत्रिकाका प्रकाशक डीआर पोखरेलका अनुसार यो पुरस्कारका लागि वरिष्ठ साहित्यकार प्रध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गरेका थिए ।
चितवन जिल्ला समन्वय समिति (जिसस) को सभा हलमा भएको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख नारायणप्रसाद अधिकारी रहेका थिए । पुरस्कृत व्यक्तित्वका बारेमा प्राध्यापक कपिल अज्ञातले प्रकाश पारेका थिए ।
प्राध्यापक अज्ञातले दुवाल साहित्यिक सेवक शिरोमणि भएको बताए ।
सहिदको बलिदानी भावानाप्रति उच्च सम्मान प्रकट गर्नका लागि यो पुरस्कार स्थापना भएको पोखरेलले बताए । यो पुरस्कार २०७० सालदेखि सहिद दिवसका दिन दिइँदै आइएको छ ।
दुवालले सहिद शुक्रराज शास्त्रीको चिन्तन प्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धारावाहिक रूपमा प्रकाशित गरेका कारण पुरस्कृत गरेको पोखरेलले जानकारी दिए ।
१९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सबैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अंकसम्म प्रकाशित गरेका थिए । विस २०६६ सालमा दुवालले सो कृतिलाई पुनः पुस्तकका रूपमा प्रकाशित गरेका छन् ।
सहिदको महत्त्वपूर्ण कृतिलाई जोगाउने काममा यो महत्त्वपूर्ण योगदान भएका कारणले दुवाललाई पुरस्कृत गर्ने निर्णय भएको पोखरेलले बताए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

