काभ्रे । कवि सूर्यप्रसाद लाकोजूको चर्चित कविता कृति ‘मेरो घाम’ कवितासङ्ग्रहमाथि लेखिएको ‘घामका उपासक: सूर्यप्रसाद लाकोजू’ नामक समालोचना कृति एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराईले लोकार्पण गरेका छन् ।

साहित्यकार भीमप्रसाद काफ्लेद्वारा लिखित सो कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै डा. भट्टराईले उमेरमा आफूभन्दा कनिष्ठ तर लेखनमा बलिष्ठ भएकै कारणले यो पुस्तक प्रकाशन भएको विचार पोखे । कवि सूर्य लाकोजूको मेरो घामभित्रका कविताहरू हृदयस्पर्शी भएका कारण ती कविताहरूका बारेमा पुस्तक नै लेख्नु सामान्य कुरा नभएको उनले बताए ।

लेखक भीमप्रसाद काफ्लेले मेरो घामले आफूलाई स्पर्श गरेकै कारणले यो पुस्तक तयार भएको प्रतिक्रिया दिए । त्यस्तै, टिप्पणीकार तुयुकाजी ताम्राकारले सुन्दर कवितामाथि व्याख्यात्मक समालोचना भएको विचार व्यक्त गरे ।

कार्यक्रममा कवि सूर्य लाकोजू, विष्णु ओलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सूर्यप्रसाद लाकोजू सिर्जना , साहित्यिक पत्रकारिता र साहित्यिक अभियानका त्रिवेणी हुन् । पुस्तक अक्षरमार्गले प्रकाशनगरेको हो ।