साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण भएको छ ।
एक समारोहका बीच संस्कृकर्मी तथा इतिहासकार प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक सूर्य लाकोजूले पुस्तकको लोकार्पण गरेका थिए ।
कार्यक्रमका वक्ताहरू डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालको इतिहासमा पनौतीको विशेष स्थान रहेको बताए । यस्तो महत्वपूर्ण स्थानको बारेमा खोज गरेर लेखिएको पुस्तक पठनीय रहेको कुरा उनले मन्तव्यका क्रममा बताए । पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले पनौतीलाई चिनाउने काम लेखकले गर्दै आएको र अझ पनि चिनाउने काम गर्नु पर्ने विचार व्यक्त गरे ।
निवर्तमान नगर प्रमुख भीम न्यौपानेले राष्ट्रकै गहनाको रुपमा रहेका लाकोजूको पुस्तक पनौती बासीका लागि मात्र होइन सबैका लागि सङ्ग्रहणी रहेको विचार पोखे । टिप्पणीकार तुयुकाजी ताम्राकारले आफ्नो मातृभूमिप्रति लेखक लाकोजूजस्र्त समर्पित भएर लाग्नु पर्ने विचार प्रकट गरे । त्यस्तै समाजसेवी तथा पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषेत्तम कर्माचार्य, वडा अध्यक्ष सविन ताम्राकार, पुरुषोत्तम अधिकारी, शम्भुलाल श्रेष्ठ लगायतले पुस्तक पठनीय र सङ्ग्रहनीय रहेको बताए ।
कार्यक्रममा पुस्तक तयार पार्नका लागि आवश्यक सुझाव, सल्लाह तथा सूचना प्रदान गर्ने महानुभावहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।
लामो समयदेखि कविता, मुक्तक, कथा, सांस्कृतिक निवन्धमा कलम चलाउँदै आएका लाकोजूको सांस्कृतिक निबन्धहरूको सङ्गालो यस पुस्तकमा पनौतीको परिचय, ऐतिहासिक पृष्ठभूमि, पनौतीमा वर्षभरिमा मनाइने जात्राहरू, पर्वहरू, केही नाचहरू आदि विषयबस्तुहरू समेटिएका छन् । पुस्तक परिचय, जात्राहरू, पर्वहरू, नाचहरू गरी विविध पाँच खण्डमा विभाजन गरिएको छ ।
पनौतीको इतिहास, संस्कृति, जात्रापर्व बारे जानकारी लिन, अध्ययन गर्न र बुझ्न चाहनेहरूका लागि पुस्तक उपयोगी रहेको छ । प्राचीन नगर पनौतीमा वर्षभरिमा थुप्रै सांस्कृतिक पर्वहरू, जात्राहरू मनाइने परम्परा रहेको छ । सोही विषयलाई निबन्धकारले उजागर गर्ने प्रयास गरेका छन् ।
संस्कृति पहिचानको विषय हो । त्यसैले नेपालजस्तो बहुसांस्कृतिक सम्पदाले भरिएको देशको संस्कृति जीवन्त रहनु आवश्यक छ । त्यसका लागि संस्कृतिलाई अक्षरवद्ध गर्नु पनि आवश्यक रहेको कथन लाकोजूको रहेको छ । साहित्यकार तथा संस्कृतिकर्मी लाकोजूका सांस्कृतिक निबन्धका तीनओटा, कविताका पाँचओटा, मुक्तकका पाँचओटा, हाइकुका दुईओटा, एउटा नियात्रा, एउटा अनुवाद, तीनओटा जीवनीपरक निबन्ध, एउटा कथासङ्ग्रह, बालसाहित्यका नौओटा कृति प्रकाशित छन् भने सोही सङ्ख्यामा उनले साहित्यका विविध विधाका कृति सम्पादन समेत गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।