काठमाडौं । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्ष तथा सल्लाहकार डा. मुकुन्द ‘पथिक’को व्यक्तित्व र कृतित्वमाथि परिचर्चा गर्दै उहाँलाई सम्मान गरिएको छ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. बमबहादुर थापा जिताली, गणेश नेउपाने, रामरञ्जन पौडेल, किशोर आचार्य र महेन्द्रराज पौडेलले सान्दर्भिक विषयमा मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । सम्मानित व्यक्तित्व डा. मुकुन्द ‘पथिक’ले प्रतिष्ठानको परिवेशमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै भावविभोर मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा कवि नवीन पल्लवले समसामयिक कविता वाचन गर्नुका साथै आफ्ना विचारसमेत प्रस्तुत गर्नुभएको थियो। समारोहमा प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव अन्जनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
समारोहको अन्त्यमा अध्यक्ष न्यौपानेले धन्यवाद ज्ञापन गर्दै २०८२ साल चैत २९ गते लमजुङमा प्रतिष्ठानको स्थापना दिवस आयोजना गरिने जानकारी गराउनुभयो। साथै, लमजुङको साहित्यिक इतिहासको दोस्रो संस्करण २०८३ सालमा प्रकाशन गर्ने तयारी भइरहेको उल्लेख गर्दै कम्तीमा एक साहित्यिक कृति प्रकाशित गरेका लमजुङका स्रष्टाहरूलाई सम्पर्कमा आउन आह्वान गर्नुभयो।
उहाँले सम्मानित व्यक्तित्व डा. मुकुन्द ‘पथिक’को सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गर्दै जहाँ रहे पनि मर्स्याङ्दीको दूतका रूपमा साहित्यिक योगदान दिइरहनुहुने विश्वास व्यक्त गर्नुभयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










