रम्घा, लमजुङमा जन्मनु भएको डा. मुकुन्द ‘पथिक’ले  विविध विधामा कलम चलाइरहेका छन् । उनका ‘वसन्तका फूलहरू’, ‘आँसुको झरी’ तथा ‘चैतको हुरी’ गीत सङ्ग्रह, एस्पेरान्तो भाषामा  तीन वटा किताब प्रकाशित भएका छन् । उहाँ नेपाल एस्पेरान्तो सङ्घ, युनिभर्सल सेवा केन्द्र, नेपाल-जापान मैत्री तथा सांस्कृतिक सङ्घ, भानु प्रतिष्ठान, मर्स्याङ्दी प्रतिष्ठानमा पथिकको संलग्नता रहेको पाइन्छ ।

प्रस्तुत छ, उनै   बहुप्रतिभाशाली लेखक  डा. मुकुन्द ‘पथिक’सँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेको साहित्यिक संवादको सम्पादित अंश;

तपाईं अहिले अमेरिकामा हुनुहुन्छ । अमेरिका जस्तो व्यस्त ठाउँमा बसेर पनि अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाइरहनु भएको छ ?

– नमस्कार ।

हजुर, म अहिले अमेरिकामा छु । नेपालमा बस्दा पनि व्यस्त भइन्थ्यो । तर अमेरिकामा बस्दा यहाँको रहनसहन, वातावरण, जीवनशैली र कार्यव्यस्तताले मानिसलाई झन् जागरूक बनाएको पाइन्छ । यहाँ मैले समयको महत्त्वलाई झन् ध्यान दिएको पाएको छु । मानिसहरू आफ्नो काम र कर्तव्यप्रति दत्तचित्त भएर लागेको पाइन्छ । एउटा व्यवस्थित पद्धति, नियम, कानुन र बफादारीतामा समाज चलेकै कारण विश्वले अमेरिका जस्तो देश भनेर प्रशंसा गर्छन् । त्यसैले अमेरिका आउने इच्छा धेरैको भएको भेटिन्छ । त्यो स्वाभाविक कुरा हो । आफ्नो परिवार र अरू जिम्मेवारीबाट केही समय छुट्ट्याएर साहित्य अध्ययन, लेखन र पुस्तक प्रकाशनको तारतम्य मिलाउने कार्य त्यति सजिलो हुँदैन । तर मनमा दृढ इच्छा भएपछि र आफ्नो प्रयासलाई निरन्तरता दिन सकियो भने सफलता हासिल गर्न सजिलो पर्छ । म त्यही मार्गमा अग्रसर भएर अगाडि बढिरहेको छु ।

तपाईंले साहित्य लेखनमा प्रेरणा कोबाट कसरी पाउनुभयो ?

डा. मुकुन्द पथिक

– म लमजुङ जिल्लाको रम्घास्थित मालिका निम्न माध्यमिक विद्यालयमा सात कक्षामा पढ्दा कविहरूले आफ्नो नामको पछाडि उपनाम राख्छन् भन्ने कुरा सुनेको थिएँ । म पनि सानै उमेरदेखि कविता लेख्न सके कति राम्रो हुन्थ्यो होला भन्ने कुराले मेरो मनमा सताइरहन्थ्यो । त्यसैले जानीजानी कविता लेखेर गुरुहरूलाई देखाउँथे । गुरुहरूले पनि तिमीले यसरी नै मेहनत गरेर सिक्दै गयौ भने भविष्यमा ठुलो कवि हुन सक्छौ भनेर हौसला दिनुभयो ।

मेरा पिताजी श्री नेत्रराज वाग्ले पण्डित्याइँको काम गर्नुहुन्थ्यो । उहाँ सप्ताह पुराणहरू पनि भन्नुहुन्थ्यो । त्यति मात्र नभएर उहाँ नाटक लेखेर अभिनयसमेत गराउनुहुन्थ्यो । उहाँ समाजमा देखा परेका समसामयिक समस्याका बारेमा जनतालाई उत्साह जगाउने खालका कविताहरू लेखेर खानेपानी, नहर, विद्यालय, मन्दिर, बाटोघाटो निर्माण गर्ने कार्यमा श्रमदान जुटाउन र आर्थिक रकम सङ्कलन गर्न कविताकै माध्यमबाट जनजागरण गराउनुहुन्थ्यो ।

उहाँ मीठो स्वरमा कविता वाचन गर्नुहुन्थ्यो । उहाँको प्रभाव ममा परेको छ । एकदिन मैले पढेको विद्यालयमा मेरो इच्छाअनुसार एक जना गुरु जगतलाल श्रेष्ठले दुइटा उपनाम यस्तो हुनसक्छ भनेर ‘पथिक’ र ‘ज्वाला’ दुई शब्द सुनाउनुभयो । मलाई किनकिन ‘पथिक’ मनपर्‍यो र अर्को मेरो मिल्ने साथी पञ्चनारायणले ‘ज्वाला’ शब्द रोजे । त्यस दिनदेखि मैले आफ्नो नामको पछाडि ‘पथिक’ लेख्न थालेँ । त्यो घटना सात कक्षामा पढ्दाको समयमा भएको थियो । त्यसै वर्ष विद्यालय स्तरीय कविता प्रतियोगिता हुँदा मैले दोस्रो पुरस्कार प्राप्त गरेको थिएँ ।

जब म निम्न माध्यमिक र माध्यमिक विद्यालयको पढाई सकेर अर्थात् एस, एल, सी, परीक्षा उत्तीर्ण गरेपछि काठमाडौँ गएँ । कलेजमा पढ्दा, त्रि-चन्द्र क्याम्पसमा पढ्दा गुरुहरू प्रा. कृष्ण गौतम, डा. हरिराज भट्टराई, प्रा. धुस्वाँ सायमीले साहित्यिक र सांस्कृतिक कार्यमा प्रोत्साहन गर्नुभयो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर तहको अध्ययन गर्दा गुरुहरू प्रा.डा. बासुदेव त्रिपाठी, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. माधवप्रसाद  पाेखरेल, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा. दैवज्ञराज न्यौपाने, प्रा. कृष्णप्रसाद पराजुली र प्रा. नरहरि आचार्यहरूबाट साहित्यको फाँटमा अगाडि बढ्ने हौसला प्रदान गर्नुभएको छ ।

त्यसको अतिरिक्त ममा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, कवि गोपालप्रसाद रिमाल, कवि भूपि शेरचन, शंकर कोइराला, पारिजात, बिपी कोइराला, राष्ट्रकवि माधव घिमिरे, गुरुप्रसाद मैनाली, तारानाथ शर्मा, कमल दीक्षित, मञ्जुल इत्यादि नेपाली साहित्यकारहरूको प्रेरणा प्राप्त भएको छ ।

साहित्य, जीवनदर्शन, आत्मा र प्रकृतिलाई तपाईंले कसरी हेर्नुभएको छ ?

– साहित्य मानव जीवनको मात्र नभएर, सम्पूर्ण प्राणीजगत, प्रकृति, ब्रह्माण्ड र विशेष गरी मानव समाजको प्रतिबिम्बको रूपमा हेरिन्छ । साहित्यलाई एउटा पिँजडामा राखेर थुन्न सकिँदैन । साहित्यले मानव मनको संवेदनालाई समेटेर प्रवाह गरेको हुन्छ । साहित्यले अहिले विश्व भ्रमण गर्ने शक्ति र क्षमता राखेको पाइन्छ । जीवनदर्शनले प्रकृति, ईश्वर, जीवनजगत, ज्ञानविज्ञान, आध्यात्मिक तथा भौतिक वस्तुको विश्लेषण गर्दछ । यसको क्षेत्र व्यापक छ ।

आत्मा अमर हुन्छ । प्राणीको शरीर नष्ट भए पनि आत्मा अर्को प्राणीमा हस्तान्तरण हुन्छ भनिन्छ । मानिसको मृत्युपश्चात् लास जलेर भस्म हुन्छ तर आत्मा जल्दैन । त्यसैले आत्मा अजर अमर हुन्छ । हामी जुन भौतिक कुरालाई मेरो भन्छौँ नि ती सम्पूर्ण कुराहरू नष्ट हुन्छन् । जस्तै — मेरो किताब, मेरो मेच, मेरो हात, मेरो आँखा, मेरो शरीर, मेरो साथी इत्यादि कुराहरू अस्थायी हुन्छन् । तर जुन ‘म’ भन्ने कुरा अर्थात् ‘आत्मा’ छ त्यो कहिल्यै मर्दैन । त्यो अमर हुन्छ ।

वास्तवमा भन्ने हो भने प्रकृति पनि नाशवान् छ ? । साङ्ख्य दर्शनअनुसार प्रकृतिलाई जगत्का उत्पत्तिको कारण रूप मूलतत्त्वको रूपमा लिइएको छ ।  वास्तवमा भन्नुपर्दा प्रकृतिलाई पाँच प्रकारले तुलना गरिएको भेटिन्छ । जस्तै — पृथ्वी, जल, तेज, वायु र आकाशलाई लिइएको पाइन्छ । यी पाँच तत्त्वको संरक्षणबाट मात्रै प्राणीजगतको भलाइ हुन्छ । यदि उल्लिखित कुराहरू नष्ट भए भने हामी विश्वजगतको कल्पनासम्म गर्न सक्दैनौँ । त्यसैले यिनको संरक्षणको लागि योजनाबद्ध तरिकाले यथाशीघ्र उचित उपाय अपनाउनु अहिलेको आवश्यकता देखिन्छ ।

तपाईंलाई जाँगरिलो लेखक साहित्यकार भन्दा हुन्छ ? लीलालेखन पनि जाँगरिलो लेखकको अर्को पाटोमा पर्छ ?

– मबाट विभिन्न विधामा कलम चलाउने कार्य भएका छन् । धेरै विषयमा किताबहरू प्रकाशन पनि भएका छन् । तर अझै पनि सिक्ने अवस्थामा नै छु । ज्ञानको भण्डार असीमित छ । समुद्रमा जति ठुलो भाँडो लिएर जल लिन गयो त्यति मात्रै आउने हो । अथाह ज्ञानको भण्डारको अमृतपान जति गरे पनि पूरा हुँदैन । मैले पढेर विद्यावारिधिको उपाधि हासिल गरे पनि आफूलाई सिकारुको रूपमा लिन मन पराउँछु ।

हामी साहित्यकारहरू जाँगरिलो हुनु अति आवश्यक छ । मबाट पनि कविता, कथा, विभिन्न भाषामा किताबहरू प्रकाशन, हाइकु, अनुसन्धानात्मक कार्यहरू र विभिन्न किसिमका भजन, गीतहरू रचना भएका छन् । जाँगरिलो लेखक साहित्यकार नभए त कसरी यति धेरै कृतिहरू रचना हुन सक्थे र । मबाट बालसाहित्य पनि रचना भएका छन् । मानव जीवनको बालबालिका, किशोरवय, युवावय र उत्तरार्धवयको लागि पनि यथार्थपरक जीवनदर्शनमूलक गीतहरू रचना गरेको छु । जसलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सुगम पोखरेल, संगीता प्रधान, निशान भट्टराई, हेमन्त कान्छा रसाइली र प्रिजा मिश्रको स्वरमा रेकर्ड भएको ‘प्रतिबिम्ब’ गीतिएल्बम लोकार्पण हुने स्थितिमा पुगेको छ । म अझै गुणात्मक किसिमको जाँगरिलो लेखक साहित्यकार हुन चाहन्छु । लीलालेखन पनि जाँगरिलो लेखकको अर्को पाटोमा पर्छ भन्ने कुरामा म सहमत छु ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यलाई नेपाली साहित्यिक आकाशमा कसरी हेर्नुभएको छ ?

– महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका सर्वाधिक लोकप्रिय साहित्यकार हुनुहुन्छ । उहाँद्वारा थुप्रै साहित्यिक कृतिहरूको रचना भएको छ । जे जति अहिले किताबका रूपमा प्राप्त छन् तीभन्दा अरू धेरै कृतिहरू प्रकाशन हुन बाँकी छन् भनिन्छ । उहाँका रचनाहरू कति हराए, कति बेचिए, कति संरक्षणको अभावले नष्ट भए र जे जति प्रकाशित हुन सफल भएका छन् तिनीहरू पनि अब्बल दर्जाका छन् । उहाँद्वारा रचित प्रमिथस, शाकुन्तल महाकाव्य, मुनामदन, पहाडी पुकार, पागल, के नेपाल सानो छ ? इत्यादि थुप्रै कृतिहरू संरक्षणको पर्खाइमा छन् ।

नेपाल सरकारले ढिलै भए पनि देवकोटाको व्यक्तिगत निवासलाई सङ्ग्रहालयमा परिणत गरेर देवकोटासम्बन्धी सम्भव भए सम्मका सामाग्रीहरू सङ्कलन गरेर राख्ने प्रयास गरेको देख्दा आनन्दको अनुभूति हुन्छ । देवकोटालाई भारतका प्रसिद्ध साहित्यकारहरू ‘पन्त’, ‘प्रसाद’ र ‘निराला’लाई जोड्दा पनि उहाँको उचाइमा पुग्न सक्दैनन् भन्ने भनाइहरू पनि सुनिन्छ । देवकोटा नेपाली साहित्यकार मात्र नभएर विश्व साहित्यकार हुनुहुन्छ । उहाँको प्रवचन सुन्दा विश्व रङ्गमञ्च आश्चर्यचकित परेको थियो ।

महाकवि देवकोटा नेपाली साहित्यका अमर नक्षत्र हुनुहुन्छ । कल्पनाको उडानमा रमाउन मन पराउने उहाँ जस्तो असाधारण प्रतिभा पाउन नेपालले धेरै वर्ष कुर्नुपर्ने हुन्छ । उहाँका सम्पूर्ण कृतिहरूलाई विश्वका प्रमुख भाषाहरूमा अनुवाद गरेर विश्वभर फैलाउनु हामी सबैको दायित्व हुन आएको छ । यसको लागि नेपाली सरकार र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महत्त्वपूर्ण भूमिका रहन्छ ।

तपाईं कविता, गीतिकविता, हाइकु, साहित्यिक लेख, कथा र अन्य क्षेत्रमा पनि  लाग्नुभएको छ । तपाईंले ठुला साहित्यकारका बारेमा कलम निकै चलाउनुभएको छ । तपाईंलाई नेपाली साहित्यलाई संसारको साहित्यको तुलनामा अगाडि बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

– विश्व रङ्गमञ्चको अगाडि नेपाली साहित्यलाई कमजोर आकलन गर्न सकिँदैन । नेपाली साहित्यमा पनि धेरै किसिमका कृतिहरू प्रकाशन भइसकेका छन् र अरू निकासको पर्खाइमा रहेको देखिन्छ । अहिलेसम्म नेपाली साहित्यमा जे जति कृतिहरू प्राप्त छन् र जे जति कृतिहरू प्रकाशनको पर्खाइमा बसिरहेका छन् तिनीहरूको पहिचान गरेर पाण्डुलिपिहरूलाई सरकारी र अनेसासको तर्फबाट प्रकाशन हुनु आवश्यक देखिन्छ । त्यति मात्र नभएर नेपाली साहित्यलाई विश्वका प्रमुख भाषाहरूमा जबसम्म अनुवाद गरेर विश्वभर फैलाउन सकिँदैन तबसम्म विश्वव्यापीकरण गर्न कठिन हुने देखिन्छ । त्यसको लागि आवश्यक वातावरण सिर्जना गर्नको लागि हामी सबैको उत्तिकै कर्तव्य हुन आएको छ ।

एकताका राष्ट्रकवि माधव घिमिरेको ठुलो कार्यक्रम गरेर वरिष्ठ साहित्यकारलाई सम्मान गर्न एउटा तुफान ल्याउनुभयो । अब त्यस्तै कुनै कार्यक्रम गर्ने सोचमा हुनुहुन्छ ?

– मैले दुई पटक मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्ष हुने अवसर प्राप्त गरेँ । राष्ट्रकविको दम्पतीलाई धेरै वर्षदेखि असोज ७ गते जन्मोत्सव मनाउने कार्यक्रम गर्दै आएका थियौँ । समय क्रमसँगै उहाँ सयौँ वर्षमा प्रवेश गर्ने समय पनि आयो । उहाँको जन्म शताब्दी कार्यक्रम कसरी मनाउने होला भन्ने कुरा कल्पना गरियो । नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीको प्रमुख प्रेक्षालयमा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाएर राष्ट्रकवि दम्पतीको जन्म शताब्दी कार्यक्रम भव्यताकासाथ सम्पन्न गर्ने निर्णय गरियो ।

तत्कालीन सरकार प्रमुख खड्गप्रसाद ओली उपस्थित भएर राष्ट्रकवि दम्पतीलाई अभिनन्दन गर्नुभयो । नवनियुक्त कुलपति श्री गङ्गाप्रसाद उप्रेती, प्रा.डा. बासुदेव त्रिपाठी लगायत विभिन्न सङ्घसंस्थामा प्रतिनिधिहरूबाट पनि अभिनन्दन गर्नेकार्य तीन घण्टासम्म जारी रह्यो । यसभन्दा अगाडिको सत्रमा राष्ट्रकवि माधव घिमिरे र श्रीमती महाकाली घिमिरे, प्रा.डा. वासुदेव त्रिपाठी र यस लेखकलाई समेत रथमा राखेर सहर परिक्रमा गर्ने कार्य सम्पन्न भएको थियो । नेपाली सेनाको नौमती बाजाले कार्यक्रमलाई झन् सङ्गीतमय बनाएको थियो । तर आश्चर्यको कुरा नेपाल प्रज्ञा-प्रतिष्ठानको संस्थापक सदस्य, आजीवन सदस्य, उपकुलपति र कुलपतिसमेत भइसक्नुभएका राष्ट्रकविको जन्म शताब्दी कार्यक्रमको लागि लागि पनि मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले एक लाख रुपियाँ तिर्नुपरेको घटना भने ज्यादै अनौठो लागिरहेको छ ।

अर्को वर्ष राष्ट्रकवि घिमिरेको १०१ औँ जन्मोत्सव राष्ट्रिय नाचघर, जमलमा विशेष स्मारिका लोकार्पणसहित भव्यताकासाथ सम्पन्न गरियो । राष्ट्रकवि दम्पतीले जरीको माला एकआपसमा साटासाट गरेको दृश्य ज्यादै रोचक भएको थियो । दुःखको कुरा उहाँको १०२ औँ जन्मोत्सव मनाउने समय आउनुभन्दा करिब एक महिना अघि उहाँ सधैँका लागि यस संसारबाट बिदा भएर जानुभयो । उहाँको पूर्णकदकाे सालिक बनाउने कार्य सम्पन्न भइसकेको अवस्थामा छ । पूर्ण रूपमा त्यस कार्यको भुक्तानी गर्न र प्रतिस्थापन हुन बाँकी नै छ । उहाँकी श्रीमती महाकाली घिमिरेलाई सरकारले थोरै भए पनि निवृत्तिभरणको सुविधा उपलब्ध गराइदिन म हार्दिक अनुरोध गर्दछु ।

कुनै पनि क्षेत्रका उल्लेखनीय प्रतिभाहरूलाई आवश्यक मात्रामा निस्वार्थ तरिकाले श्रद्धापूर्वक सम्मान गर्न सकियो भने विभिन्न विधाका स्रष्टाहरूलाई आत्मसम्मान प्राप्त हुन्छ र देश र जनताको लागि अझ अरू केही गरूँ भन्ने जाँगर आउँछ । त्यसैले आवश्यक मात्रामा कसैलाई प्रोत्साहन र कसैलाई सम्मान गर्ने कार्यमा जागरूक हुनु हामी सबैको कर्तव्य हुन आउँछ । एक थुकी सुकी सय थुकी नदी भन्ने उखानलाई चरितार्थ गर्नका लागि सरकारले एउटा नीति बनाएर सङ्घसंस्थाहरूसँग हातेमालो गर्ने वातावरण बनाएमा हामी उल्लेखनीय कार्य गर्न सफल हुनेछौँ । हामीमा उत्साह र जाँगर कायम रहिरहन सक्यो भने रचनात्मक कार्यहरू गर्न सक्छौँ । सबैको सुन्दर भावना र सहृदयी किसिमको सहयोग जुटाएर ऐतिहासिक कार्य गर्ने इच्छा प्रबल रूपमा जागेको छ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?

– म यस कुरामा पूर्ण रूपले विश्वास गर्छु । किनभने कुनै पनि व्यक्ति एकै चोटि पूर्ण हुन सक्दैन । त्यसको लागि साधना र निरन्तरता चाहिन्छ । साहित्यको अध्ययन, चिन्तन मनन र साहित्य लेखनले नै सन्तुलनको बाटो पहिलाउन सक्छ । जुनसुकै व्यक्ति पनि यदि लगनशीलताकासाथ गन्तव्यमा पुग्नको लागि सधैँ अग्रसर भएर अगाडि बढ्दछ भने त्यो व्यक्तिले ढिलो चाँडो सफलता प्राप्त गर्न सक्षम हुन्छ । वास्तविक रूपमा भन्ने हो भने नियमित रूपमा सन्तुलन मिलाएर धैर्यताकासाथ सतर्क भएर साधना गर्ने व्यक्ति नै उचाइमा पुग्न सक्ने कुरामा ढुक्क हुन सकिन्छ ।

तपाईं कविता, कथा, साहित्यिक लेख रचना, विभिन्न भाषा र अनुसन्धानमा लाग्नुभएको छ र आख्यानमा निकै कलम चलाउनु भएको छ । तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्छन् नि किन ?

– मैले विभिन्न भाषामा कृतिहरू रचना गरेको छु । सबै कृतिहरूले किताबको आकार लिन बाँकी नै छ । मेरा धेरै कृतिहरू नेपाली भाषामा लेखिएका छन् । यसमा बालसाहित्य बगैँचाका फूलहरू, चैतको हुरी, वसन्तका फूलहरू, नेपाली कुराकानी, हाइकु, कर्खाको अध्ययन, नेपाली बालनको सङ्कलन र विश्लेषण, कथाहरू, कविताहरू छन् । एस्पेरान्तो भाषामा पनि मेरा तीन वटा किताब प्रकाशित भएका छन् । मबाट नियात्रा र अङ्ग्रेजी भाषामा पनि केही रचना भएको छ । त्यसकारण मलाई बहुप्रतिभाशाली लेखक भनिएको होला । तर मैले मेहनत गर्नुपर्ने कुराहरू धेरै बाँकी छन् ।

खाली समय कसरी बिताउनुहुन्छ ?

– मलाई खाली समयमा गीतसङ्गीत सुन्ने र साहित्य रचना गर्न मन पर्छ । फुर्सदको समयमा नयाँ ठाउँमा घुमघाम गर्न ज्यादै मन पर्छ । पौडी खेल्न पनि मलाई ज्यादै मन पर्छ । मैले अहिलेसम्म नौ जना मानिसहरूलाई पानीबाट बचाउन सफल भएको छु । ती मानिसहरू अहिलेसम्म पनि जीवितै देख्न पाउँदा सुखानुभूतिको अनुभव हुन्छ ।

तपाईंलाई कथा, निबन्ध र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नुपर्छ र किन ?

– मलाई कथा, निबन्ध र   उपन्यास सबै मन पर्छ । तर एउटा छान्नुपर्‍यो भने कथालाई रोज्छु । खै किन हो किन, मलाई अचम्म लाग्छ । हिजोआज कथा लेखनमा मलाई जाँगर चलेको अनुभव हुन्छ । मलाई गीतिकविता जस्तै कथा लेख्दा पनि आनन्दको अनुभव हुन थालेको छ । राम्रो साहित्य लेख्नको लागि अध्ययन, अनुसन्धान, लेखन र परिपक्वता कायम गर्दै जान सके अवश्य पनि सफलता हासिल गर्न सकिन्छ । त्यसको लागि लगनशीलता र धैर्यता चाहिन्छ ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नुपर्छ ?

– मलाई धेरै किसिमका साहित्यिक पुस्तक पढ्न मन पर्छ । तर विशेष गरी खण्डकाव्य, कथा, हाइकु पढ्दा मन खुसीले रमाउँछ । साहित्यकारले लेखेर बाँच्नको लागि गुणस्तरीय, उत्कृष्ट र पाठकको मन जित्न सक्ने कृतिको रचना गर्न सक्यो भने बजारमा प्राथमिकता पाउँछ । लोकप्रिय कृतिको सबै क्षेत्रमा माग हुन्छ । त्यस्तो हुन सकेमा साहित्यकार मात्र नभएर परिवारलाई पनि आर्थिक सहयोग हुनसक्ने देखिन्छ । तर त्यस्तो भाग्यमानी लेखक कमै मात्रामा पाउन सकिन्छ । राम्रो साहित्यको लागि नाम होइन राम्रो कृतिको मूल्याङ्कन गरेर सरकारले नै प्रकाशन गरेर लेखकस्व रकम दिने व्यवस्था हुनसकेमा धेरै हदसम्म साहित्यकारको समस्या समाधान हुने देखिन्छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– वर्तमान परिवेशमा डायस्पोरिक साहित्यको गतिविधि राम्रैसँग अगाडि बढिरहेको पाइन्छ । विश्वका विभिन्न देशहरूमा फैलिएर रहनुभएका नेपाली साहित्यकारहरूले आफ्नो दैनिक कार्य व्यस्तताबाट केही समय बचाएर साहित्यको क्षेत्रमा रचनात्मक रूपले अगाडि बढेर स्तरीय रचनाहरू प्रस्तुत गर्न सक्नु चानचुने कुरा होइन । थुप्रै कृतिहरू प्रकाशित भइरहेका छन् । त्यसको लागि उहाँहरू सबै बधाईको पात्र हुनुहुन्छ । यसको लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भूमिकालाई विशेष रूपले सह्राना गर्नु पर्छ । अनेसासले यस कार्यलाई अझै गुणात्मक रूपले अगाडि बढाउनको लागि विभिन्न किसिमका आकर्षक र व्यावहारिक कार्यक्रमहरू व्यवस्थापन गर्नु आवश्यक देखिन्छ ।

नेपालका ठुला कवि, साहित्यकार र लेखकको तुलनामा भानुभक्त आचार्य, महाकवि देवकोटा र राष्ट्रकवि घिमिरेलाई साहित्यमा कसरी हेर्नुभएको छ ?

– उहाँहरू तीनै जना नेपाली साहित्यकारहरू नेपाली समाजमा ज्यादै लोकप्रिय हुनुहुन्छ । उहाँका रचनाहरू कालजयी छन् । त्यसैले उहाँहरूको नाम नेपाली साहित्यिक आकाशमा सधैँ शुक्र ताराझैँ चम्किलो भएर रहिरहनेछ ।

आदिकवि भानुभक्त आचार्यले धेरै कृतिको रचना गर्नुभएको छ । उहाँको रामायण जनबोलीमा ज्यादै प्रचलित भएको पाइन्छ । जस्तैः ‘एक दिन नारदजी सत्यलोक पुगिगया लोकको गरूँ हित भनी…’ नेपाली भाषी मानव समुदाय जबसम्म विश्वमा रहन्छ तबसम्म आदिकवि भानुभक्तको रामायण जीवित रहन्छ । बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यहरूलाई जोडेर एउटा सिङ्गो देश नेपाल बनाउन सफल भएजस्तै सम्पूर्ण नेपालीहरूलाई भाषिक किसिमले एक सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्त आचार्यले गर्नुभएको कुरालाई सबैबाट स्वीकार भएको छ ।

महाकवि देवकोटा नेपाली साहित्यका अमर नक्षत्र हुनुहुन्छ । उहाँ जस्तो प्रतिभाशाली व्यक्ति नेपाली साहित्यले प्राप्त गरेको छ र उहाँका कृतिहरू सधैँ अमर भएर रहनेछन् । उहाँका कृतिहरू ज्यादै उत्कृष्ट श्रेणीका छन् । उहाँको ‘मुनामदन’ खण्डकाव्य सर्वप्रिय भएको पाइन्छ । ‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ जस्ता कालजयी भनाइहरू सर्वकालिक छन् ।

राष्ट्रकवि घिमिरेका पनि थुप्रै कृतिहरू प्रकाशित भएको पाइन्छ । ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ जस्ता राष्ट्र भक्तिले ओतप्रोत गीतहरू अमर छन् । उहाँको पत्नी वियोगको अवसरमा रचना गरिएको ‘गौरी’ खण्डकाव्य पनि मुनामदनपछि सर्वप्रिय कृतिहरूमध्ये पर्दछ । उहाँ पनि मानवमनको गहिराइमा पुगेर भावनालाई मथेर रचना गर्न खप्पिस हुनुहुन्छ । उल्लिखित तीनजना नेपाली स्रष्टाहरू श्रद्धेय साहित्यकार हुनुहुन्छ । त्यस्ता होनहार प्रतिभाहरू पुनः प्राप्त गर्न धेरै वर्ष कुर्नुपर्ने देखिन्छ ।

साहित्य तपाईंको रुचिको विषय कसरी बन्यो ?

– म गाउँमा जन्मेर हुर्केको हुँ । त्यसैले मलाई गाउँका प्राकृतिक दृश्य, खोला, चरा, हरियाली, लोकगीत आदि विभिन्न कुराहरूले सकारात्मक प्रभाव पारिरहेका हुन्छन् । त्यसले ऊर्जा पनि दिन्छ । मनमा धेरै किसिमका भावनाहरू तरङ्गित हुँदा साहित्य भएर बाहिर निस्कन्छन् । त्यसकारण अनायास रूपमा साहित्यप्रति रुचिको विषय बनेको हुनुपर्छ । अहिले साहित्य मेरो अभिन्न अङ्ग जस्तै हुन पुगेको छ ।

नेपाललाई कसरी स्वच्छ र सफा बनाएर धेरैभन्दा धेरै पर्यटकहरूलाई स्वागत गर्न सकिएला ?

– नेपाललाई साँच्चै नै स्वच्छ र सफा राख्ने हो भने मानवमन र मस्तिष्कलाई पूर्ण रूपमा सफा राख्न सक्यो भने मात्रै बाहिरी क्षेत्र गाउँ र सहर पनि स्वच्छ र सफा हुनसक्छ । भाषण गर्दा सफा गर्नुपर्छ भनेर कुर्लने तर खोला र नदीको पुलमाथिबाट गाडीमा ल्याएको फोहोर फाल्ने, फलफूल खाएको बोक्रा पनि बाटोमा फाल्ने गरियो भने कहिले पनि सफा हुन सक्दैन । हामीले नेपाललाई पूर्ण रूपमा स्वच्छ र सफा राख्न सक्यौँ भने पर्यटकहरू बढ्ने कुरामा ढुक्क हुन सकिन्छ । स्वास्थ्यवर्धक खाना खुवाएर राम्रोसँग सुरक्षा दिन सक्ने हो भने युवाहरू बेरोजगार हुने दिन समाप्त हुनेछ ।

अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?

– आदरणीय पाठकहरूलाई मेरो एउटा मात्र अनुरोध के छ भने कोही पनि व्यक्ति एकै चोटि ठुलो लेखक बन्न सक्दैन । तपाईंहरू विभिन्न किसिमका लेखकहरूका रचना, कृतिहरू नियमित रूपमा पढ्दै जानुहोस् । साहित्यिक शब्दहरू सिक्दै जानुहोस् । आफ्नो मनमा उब्जेका अर्थात् फुरेका कुराहरूलाई कापीमा लेख्दै जानुहोस् । आफूले लेखेको कुरालाई एक हप्तापछि दोहोर्‍याएर पढ्नुभयो भने आफूले लेखेको कुरा आफैँले सच्याउन पनि सक्नुहुन्छ । आफूभन्दा सिपालु लेखकलाई आफ्नो रचना सुनाउने गर्नुहोस् । तपाईंको साहित्यिक मार्ग निर्माण हुँदै जानेछ ।

सबैको जय होस् । धन्यवाद ।