
राष्ट्रकवि माधव घिमिरे १०२ वर्षसम्म बाँचेर शताब्दी काव्य पुरुषको रूपमा लोकप्रिय हुनुहुन्छ । नेपालमा धेरै विशिष्ट काव्यशिल्पीहरू जन्मिए । नेपाली, भाषा, साहित्य, संस्कृति र राष्ट्रियताको बिगुल फुक्ने प्रमुख स्रष्टाहरूमध्ये राष्ट्रकवि माधव घिमिरे पनि पर्नुहुन्छ । मानवमनका समग्र कल्पना र वास्तविकतालाई सुललित तरिकाले भावक(पाठक, दर्शक र श्रोता)लाई सुसुचित गराएर मोहित पार्नसक्ने दक्षता, कला र क्षमता उहाँमा भएको पाइन्छ । भक्तिधाराका आदिकवि भानुभक्त आचार्य, परिस्कारवादी धाराका कविशिरोमणि लेखनाथ पौड्याल र स्वच्छन्दतावादी धाराका महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट राष्ट्रकवि माधव घिमिरे ज्यादै प्रभावित हुनुभएको देखिन्छ । उहाँका रचनामा नेपाल, नेपाली, राष्ट्रिय भावनाको चेत, प्रकृति प्रेम, मानव संवेदना(प्रेम, करुणा, हर्ष, शोक, चिन्ता, समसामयिकता) आदि कुराहरू ओतप्रोत भएको पाइन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटासँग राष्ट्रकवि घिमिरेको घनिष्ठता ज्यादै झ्याङ्गिएको थियो । छिमेकी देश भारतमा भएको अफ्रो एशियाली साहित्यिक सम्मेलनमा भाग लिन उहाँहरू सँगै उपस्थित भएर नेपालको गरिमालाई उच्चपार्न सफल हुनुभएको थियो । त्यसको साथै तासन्दमा आयोजना गरिएको अन्तरराष्ट्रिय साहित्य सम्मेलनमा भागलिन जाँदाको अनुभूति झन् रोचक रहेको पाइन्छ । भोलि कार्यक्रममा नेपालको तर्फबाट बोल्नुछ । अघिल्लो दिन राती प्रवचन तयार गर्नका लागि राष्ट्रकविले महाकविलाई सम्झाउनुभयो । उहाँले महाकविलाई कागजको व्यवस्था मिलाइदिनुभयो । मानसिक रूपमा तयार गर्नुभएको प्रवचन महाकविको वायुपङ्खी बेगमा दौडिएको कलमले फटाफट लेखेर सम्पन्न गरिहाल्यो । भोलिपल्ट अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा महाकविको प्रवचनले विश्व रङ्गमञ्चमा नेपालको छवी ज्यादै माथि उठ्यो ।

माधवप्रसाद घिमिरे
तर अफसोचको कुरा महाकवि देवकोटा बिरामी भएर अस्पतालमा भर्ना हुनुपर्यो । उहाँ बिरामी भएर अस्पतालमा उपचाररत रहेकै अवस्थामा देवकोटा कम्युनिष्ट भयो भन्ने हल्ला नेपालमा पिटाएका कारण उहाँलाई बात लाग्यो । त्यसकारण प्रज्ञा–प्रतिष्ठानबाट उहाँले पाउने तलब केही महिना रोकियो । राष्ट्रकवि माधव घिमिरे र महाकवि लक्ष्मीप्रसाद देवकोटा घनिष्ठ मित्र भएकै नाताले देवकोटाको घरको अवस्थालाईसमेत ध्यानमा राखेर राष्ट्रकविले सहयोग गर्नुभयो । एकजनाको तलबले दुई परिवार धान्नुपरेको अवस्था ज्यादै टिठलाग्दो भएको पाइन्छ । यसबाट पनि हामी बुझ्न सक्छौँ महाकवि र राष्ट्रकविको घनिष्ठता कस्तो थियो भनेर ।
राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका उज्ज्वल नक्षत्र हुनुहुन्छ । उहाँ यस भौतिक संसारमा हुनुहुन्न भन्नेकुरा स्वीकार गर्न यस लेखकलाई अहिलेसम्म पनि अप्ठ्यारो अनुभूति भइरहेको छ ।
उहाँलाई कसैले हिमाली कवि पनि भने । हुन पनि उहाँका रचनामा हिमालको विषयमा विभिन्न तरिकाले प्रस्तुत भएको पाइन्छ । राष्ट्रकविको अभिनन्दन ग्रन्थको लागि यस लेखकले ‘राष्ट्रकविका रचनामा हिमाल र फूलको चर्चा’ नामक लेख प्रस्तुत गरेको थियो । त्यस लेखलाई आद्योपान्त पढिसकेपछि प्रसिद्ध लेखक श्री मदनमणि दीक्षितले सह्राहना गर्दै मेहनतपूर्वक तयार पारिएको यस लेखलाई उचित स्थान दिनुपर्छ भनेर टिप्पणी गर्नुभएको थियो । जब अभिनन्दन ग्रन्थ राष्ट्रकविको हातमा पर्यो उहाँ सबै लेखरचनाहरूलाई पढ्नथाल्नुभयो । उहाँले यस लेखकलाई देख्नेबित्तिकै भन्नुभयो ‘हैन, मैले आफ्ना रचनामा यति धेरै हिमाल र फूलको चर्चा गरेको कुरा ख्यालै गरेको रहेनछु । तपाईंले यति धेरै हिमाल र फूलको कुरालाई समेटेर गजबले लेख तयार पार्नुभएछ । मलाई अचम्म लाग्यो ….।’ उहाँले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा हिमाललाई श्रद्धापूर्वक उल्लेख गर्नुभएको पाइन्छ । जस्तैः
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।

डा. मुकुन्द पथिक
भाषा, साहित्य, कला, संस्कृति, ज्ञान–विज्ञान, शिल्प एवं प्रविधिको अध्ययन अनुसन्धान तथा मौलिक सिर्जनाद्वारा तिनको संरक्षण एवं संवर्धन गर्दै राष्ट्रियस्तरमा नेपाली वाङ्मयको विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०५३ चैत २९ मा विधिवत् मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान दर्ता भएको हो । राष्ट्रकवि माधव घिमिरे प्रमुख संरक्षक रहनु भएको यो संस्थाले आफ्नो उद्देश्यअनुसार स्थापना कालदेखि अविछिन्न रूपमा लमजुङ र काठमाडौंमा विभिन्न रचनात्मक काम तथा साहित्यिक कार्यक्रम, कवि गोष्ठी, कार्यशाला गोष्ठी, सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । आफ्ना प्रकाशनहरू परिचय कोष, मुखपत्र र स्मारिका मार्फत् पनि संस्थाले नेपाली साहित्य र संस्कृतिका क्षेत्रमा योगदान दिँदै आएको छ ।
राष्ट्रकवि माधव घिमिरे वर्तमान नेपाली साहित्यका शिखर पुरुष हुनुहुन्छ । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उहाँको अमूल्य योगदान रहेको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउन उहाँले पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षलाई जन्म शताब्दी वर्षका रूपमा मनाउने कार्यक्रम राखिएको थियो । नेपाली साहित्यका यस युगका महान् पुरुष राष्ट्रकविको जन्म शताब्दी मनाउन तपशील बमोजिमका विभिन्न कार्यक्रमहरू आयोजना गर्ने उद्देश्य लिइएको थियो ।
राष्ट्रकविको परिचय पुस्तिका प्रकाशन गर्ने ।
जन्म शताब्दीको एक वर्ष नेपालका प्रत्येक विद्यालय तथा कलेजहरूमा जन्मशताब्दी कविता महोत्सव÷प्रतियोगिता गर्ने र प्रत्येक जिल्लाबाट उत्कृष्ट ठहरिएका बढीमा ३ वटा कविता राष्ट्रकवि विशेषाङ्कका लागि सङ्कलन गर्ने ।
राष्ट्रकवि माघव घिमिरेलाई हेलिकोप्टर मार्फत् उहाँको जन्मथलो लमजुङको मस्र्याङ्दी गाउँपालिका पुस्तुन लैजाने र स्थानीय रूपमा स्वागत तथा सम्मान गर्ने । जसमा बालुन, घाँटु, सोरठी जस्ता सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहनेछ ।
राष्ट्रकवि घिमिरेलाई प्रधानमन्त्रीको उपस्थितिमा लमजुङको सदरमुकाम बेसीसहरमा अभिनन्दन, सांस्कृतिक कार्यक्रम, कविगोष्ठी, लमजुङ जिल्लाबाट उत्कृष्ट छानिएका छात्रछात्रालाई पुरस्कार वितरण, लमजुङमा विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याउनु भएका व्यक्तित्वहरूलाई पुरस्कार र सम्मान गर्ने ।
राजधानीमा मातृभाषा विषयक विचार गोष्ठी र डकुमेन्ट्री प्रदर्शन गर्ने ।
राजधानीमा राष्ट्रिय भाषामा कविता महोत्सव तथा सांस्कृतिक कार्यक्रम गर्ने ।
राष्ट्रकवि घिमिरेको जन्मशताब्दीका अवसरमा हुलाक टिकट प्रकाशन गर्ने ।
दम्पतीसहित राष्ट्रकविको राष्ट्रियस्तरको अभिनन्दन तथा रथारोहण काठमाडौंमा गर्ने ।
राष्ट्रकविको जन्मस्थान मस्र्याङ्दी गाउँपालिकाको भीरपुस्तुन बाहुनडाँडामा राष्ट्रियस्तरको संग्रहालय निर्माण गर्ने । संग्रहालयको शिलान्यास प्रधानमन्त्रीज्यूबाट गर्ने ।
राष्ट्रकविको जन्मशताब्दीका अवसरमा भएका सम्पूर्ण गतिविधिसहित राष्ट्रियस्तरका व्यक्तित्वबाट लेख रचना संकलन गरी ‘राष्ट्रकवि माधव घिमिरे जन्मशताब्दी अभिनन्दन ग्रन्थ’ प्रकाशन गर्ने ।
राष्ट्रकविको जन्मस्थल अगाडि रहेको हिमाल (हिमालचुली) लाई राष्ट्रकविको नाममा नामकरण गर्ने ।
कवि भूपि शेरचनको जन्मस्थल जोमसोम र कविशिरोमणि लेखनाथ पौड्यालज्यूको जन्मस्थान कास्की अर्चलेबाट आदिकवि भानुभक्त आचार्यज्यूको जन्मस्थल तनहुँ चुँदी हुँदै राष्ट्रकवि माधव घिमिरेज्यूको जन्मस्थान मर्स्याङ्दी गाउँपालिका पुस्तुन बाहुनडाँडासम्म साहित्यिक पर्यटनका रूपमा विकास गर्ने ।
लमजुङको सदरमुकाम बेसीसहर तथा काठमाडौंको उपयुक्त स्थानमा राष्ट्रकविको प्रतिमा स्थापना गर्ने ।
राष्ट्रियस्तरमा काठमाडौंमा राष्ट्रकविको नागरिक अभिनन्दन गर्ने ।
पृथ्वी राजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामकरण गर्ने ।
२०७५ असोज २१ गते आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाडौंमा आयोजित दम्पतीसहित राष्ट्रकविको राष्ट्रियस्तरको अभिनन्दन तथा रथारोहण कार्यक्रम सम्पन्न भएको थियो ।
एउटा रोचक प्रसङ्ग यहाँ उल्लेख गर्न चाहन्छु । राष्ट्रकविको जन्मशताब्दीका अवसरमा हुलाक टिकटमा तस्बिर राख्ने उद्देश्यका साथ मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पहल सुरु गर्यो । त्यसका लागि सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिनुपर्ने अवस्था आयो । प्रक्रिया पुर्याएर तस्बिरसहित मन्त्रालयमा पुगियो । तत्कालीन सञ्चार मन्त्रीबाट सञ्चार विभागलाई तोक लगाउने कार्य भयो । सञ्चार विभागका महानिर्देशकलाई कार्यकक्षामा भेटेर सबै कुरा अवगत गराएपछि नियमावली हेर्ने काम भयो । नियमावली हेर्दै जाँदा कुनै पनि प्रतिष्ठित व्यक्तिको तस्बिर हुलाक टिकटमा राख्नुपरेमा सम्बन्धित स्रष्टाको निधन भएको दश वर्ष पूरा भएको हुनुपर्ने देखियो । त्यसकारण जीवित व्यक्तिको तस्बिर हुलाक टिकटमा राख्न नमिल्ने कुरा नियमावलीले प्रष्ट पारेको बुझियो । तर पछि मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रकवि माधव घिमिरे र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर हुलाक टिकटमा प्रकाशित भएको कुरा संस्मरण गराउन पाउँदा हर्षको अनुभूति भएको छ ।
राष्ट्रकवि घिमिरेलाई आफ्नो जिल्लाबाट देखिने हिमालचुली, बन्दीपुरबाट देखिने हिमश्रृङ्खला, पोखराबाट देखिने माछापुच्छ्रे तथा अन्नपूर्ण हिमालको दृश्य देखेर ज्यादै मोहित हुनुहुन्थ्यो । त्यसैले होला उहाँका रचनामा धेरै हिमालको चर्चा भएको पाइन्छ । उहाँका रचना काली नदीझैँ सलल बगिरहन्छन् । उहाँका रचनामा कोमलता, करुणा, वीसरस, राष्ट्रियताका साथै शोक र हर्षसमेत समेटिएको भेटिन्छ । उहाँका कवितामा संगीतको ताल र लय प्रशस्त भेटिन्छ । उहाँ गौरी खण्डकाव्यमा मात्र नभएर गीतिनाटक जस्तै मालती मंगलेमासमेत सफल हुनुभयो । जसले गर्दा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यलेसमेत प्रज्ञाभवनमा प्रतक्ष्य रूपमा अवलोकन गर्ने इच्छा प्रकट गरेका थिए । गीतिनाटक हेर्दाहेर्दै राजारानीका आँखा रसाएका थिए । उहाँका रचना सुललित, संगीतमय, बोधगम्य र कर्णप्रिय भएको पाइन्छ । पाठक र दर्शकको मन लोभ्याउन सक्नु उहाँको वैशिष्ट्यता हो ।
उहाँका रचना कालजयी छन् । बालबालिकाका लागि ‘कुरा गर्छन् कसरी भँगेरा र भँगेरी’, युवकयुवतीका लागि ‘उनको प्रीति पैले हो कि मेरो प्रीति पैले, जान्दिनँ म एकैचोटि के भो कुन्नि कैले ?’, शोकमा ‘नेपाली हरिया पहाड वनका यी घाम–छायाहरू; हामी दम्पति, शान्ति कान्ति कलिका, यी मोह–मायाहरू; यो संयोग जुटाउने कुन थियो कल्ले बिगार्यो अनि हाम्रो भेट हुँदैन हो कि सँगिनी धिक्कार कैल्यै पनि ….’ ।
राष्ट्रियतामा ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ जस्ता थुप्रै अमर रचनाहरू नेपाली धड्कनमा अनन्तकालसम्म बाँचिरहनेछन् ।
राष्ट्रकवि घिमिरे धेरैपटक आफ्नो पोकापुन्तुरा बोकेर काठमाडौंका धेरै ठाउँहरूमा डेरा सर्नुभएको थियो । एकपटकको कुरा हो उहाँ क्षेत्रपाटीमा डेरा लिएर बसिरहेको अवस्थामा आफ्ना साहित्यिक रचनाहरू कोठामा छरपष्ट थिए । व्यवस्थित रूपमा मिलाउन बाँकी रहेको अवस्थामा डेरामा आएका कुनै व्यक्तिले उहाँको रचना सुटुक्क लिएर हिँडेछन् । तर उहाँलाई त्यस बारेमा कुनै पत्तोसम्म भएन । केही समयपछि राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीत वरिष्ठ संगीतकार नातीकाजीको संगीत र वरिष्ठ गायिका तारादेवीको स्वरबाट रेडियो नेपालमा गुञ्जिन थाल्यो । राष्ट्रकविले आफूले रचना गरेको गीत थाहा पाइहाल्नुभयो । मेरो गीत कसले लगेर रेकर्ड गर्यो होला भन्ने खुल्दुलीपनले उहाँलाई धेरै समयसम्म सताइरह्यो । तर उहाँले कसैलाई पनि त्यस विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएन । समय बित्दै गयो । आफ्नो जीविकाको क्रममा उहाँले धेरै ठाउँमा आफ्नो साहित्यिक सेवा र श्रम गर्दैजानुभयो । नेपाली भाषा र साहित्यिक बगैंचाको माली भएर उहाँ नेपालको राष्ट्रकवि हुन सफल हुनुभयो । तर उहाँले आफ्नो जीवनकालमा त्यस गीतको विषयमा प्रतिकार गर्न चाहनुभएन । यतिसम्म कि उहाँको जन्मशताब्दी समारोहका विषयमा कुराकानी गर्ने क्रममासमेत उहाँले यस लेखकलाई भावुक हुँदै भन्नुभएको थियो — ‘म यस संसारबाट बिदा भएपछि मात्र ‘ हिमालको काखमा छ सानो मेरो गाउँ पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ ’ भन्ने गीतमा मेरो नाम उल्लेख हुनुपर्नेमा अर्कैको नामबाट बज्ने गरेको विषयमा तपाईंले प्रष्टसँग लेखिदिनुस्’ भनेर राष्ट्रकविले मलाई भन्नुभएको थियो । यस विषयमा केही प्रतिष्ठित साहित्यकारहरूलाई पहिले नै थाहा भएको थियो भन्नेकुरा कहिलेकाहीँ सुनिन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्थापक सदस्य, आजीवन सदस्य, उपकुलपति र कुलपति हुनुको साथै राष्ट्रकविसमेत भइसकेको स्रष्टाको जन्मशताब्दी कार्यक्रम प्रज्ञाभवनकै ठुलो हलमा नेपालकै कार्यकारी व्यक्ति अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको लागि ठुलो हल निःशुल्क रूपमा उपलब्ध गराउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लेखापढी भएको र प्रज्ञा–प्रतिष्ठानमासमेत यस विषयमा कुराकानी भएको अवस्थामा प्रक्रियागत विधिविधान के नमिलेर हो अन्तिम अवस्थामा त्यस हलको शुल्क एक लाख रुपियाँ मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले तिर्नुपरेको तीतो अनुभव हामीसँग छँदैछ । यस्तो कुरा थाहा पाउँदा धेरै व्यक्तिहरू आश्चर्यचकित भएको देखिन्छ ।
पत्नी महाकाली घिमिरे अहिले ८७ वर्षमा सुगर, रक्तचाप र थाइराइडबाट पीडित हुनुहुन्छ । उहाँले अहिले दैनिक रूपमा औषधी सेवन गरिरहनुभएको छ । वैधव्य जीवनमा रोगले गाल्दै लगेको अवस्था देखिन्छ । यस परिस्थितिमा श्रीमान्को निवृत्तिभरणको रकम नआउनाले उहाँमा अन्योलता छाएको अनुभव हुन्छ ।
राष्ट्रकवि घिमिरेले बालबालिकाका लागि, किशोरकिशोरीका लागि, युवकयुवतीका लागि, समस्त नेपालीका लागि सुललित, सुसंगठित र राष्ट्रिय भावनाले ओतप्रोत भएका थुप्रै रचनाहरूका माध्यमबाट नेपाल, नेपाली र समग्र साहित्यको सेवामा बौद्धिक श्रम गरिरहनुभयो । चेतनाको दियो जगाइरहनुभयो । प्रकृतिका पुजारी घिमिरे सिर्जनात्मक र कर्मशीलताको उज्यालो मार्गमा सरिक भएर उत्साहकासाथ हिंडिरहन सबैलाई प्रेरणा प्रदान गर्नुभयो । तर कविवर माधव घिमिरेलाई राष्ट्रकवि बनाउन जीवनभर सेवा गरिरहने र साहित्यिक सिर्जनाका लागि उचित वातावरण मिलाइरहने उहाँकी श्रीमती महाकाली घिमिरेलाई राष्ट्रले केही गर्नु पर्छ कि पर्दैन ? भन्ने प्रश्न अहिले यत्रतत्र फैलिएको पाइन्छ । यसका लागि मानवीय संवेदनाको खाँचो टड्कारो रूपमा आवश्यक भएको देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

