सामान्य परिवारमा जन्मिएकी रमाको विवाह एउटा जागिरदार युवकसँग भयो । दाइजो थोरै ल्याएको निहुँमा घरमा उनलाई हिंसा हुन थाल्यो । भर्खरै बुहारी भएर भित्रिएको घरमा उनले प्रतिकार गर्ने हिम्मत गर्न सकिनन् । उनी शारीरिक तथा मानसिक रूपले ज्यादै पीडित भइन् । ग्रामीण समाजमा रमाएर बस्न उनलाई अप्ठ्यारो पऱ्यो । उनी शिक्षित, राम्रो रूप, मीठो बोलीवचन र सबै काम गर्न निपुण हुँदाहुँदै पनि बच्चा जन्माउन सफल हुन सकिनन् ।

सबै कुराले भरिपूर्ण भएर पनि श्रीमतीबाट शारीरिक सन्तुष्टि प्राप्त गर्न असमर्थ भएका कारण भिनाजु श्रीमतीबाट दिन प्रतिदिन टाढिँदै गए । श्रीमतीबाट एउटा सन्तान पनि प्राप्त हुन नसक्दा उनी झन् तनावमा देखिन्थे । उमेर पुगेर नवयौवनमा प्रवेश गरेकी साली दिदीलाई भेट्न बेलामौकामा आइरहन्थिन् । यसै क्रममा सालीभेनाबिच गहिरो प्रेमसम्बन्ध कायम हुन्छ । दिन प्रतिदिन दिदीले सालीभेनाको अनुचित सम्बन्ध थाहा पाउँछिन् ।

घरमा हिंसाको क्रम चलिरहन्छ । परिवारका सदस्यहरूले रमालाई तेजाब हाल्ने र मट्टीतेल खन्याएर जलाउने योजना बनाउँछन् । जब तेजाब हाल्ने काम सुरु हुन थाल्छ उनी होसियारपूर्वक भाग्न सफल हुन्छिन् । उनले प्रहरी कार्यालयमा उजुरी गर्ने धम्की दिन्छिन् । घरका मानिसहरू थर्कमान भएर गोडा ढोग्न खोज्छन् ।

बहिनी दुई जिउकी भएको कुराले रमा खुसी र दुःखी दुवै हुन्छिन् र घरमा प्रस्ताव राख्छिन्— ”

डा. मुकुन्द पथिक

यदि बहिनीको पेटको बच्चा मलाई दिएर आमा भन्न लगाउने हो भनेमात्र म मन्जुर हुन्छु ।” उनको कुरामा सबै जना सहमत हुन्छन् ।

एकदिन साली एक्लै घरमा बसिरहेकी हुन्छिन् । दिदीभिनाजु र परिवारका सदस्यहरू घरमा आएर ढोका ढकढक्याउँछन् । भित्रबाट ढोका नखोलिएपछि शङ्का उत्पन्न हुन्छ । प्रहरीलाई खबर गर्नासाथ तुरुन्त अनुसन्धान टोली आइपुग्छ । प्रहरीहरूले ढोका फोरेर घरभित्र हेर्दा युवतीले घाँटीमा डोरी बाँधेर झुन्डिरहेको अवस्थामा देख्छन् । एउटा कागज भेटिन्छ । त्यसमा लेखिएको हुन्छ— न मैले विवाह गर्न पाएँ न त आफूले जन्माएको बच्चालाई छोरा भन्न पाएँ । म महिला हिंसामा परेका कारण सधैँका लागि बिदा हुँदै छु ।

०००