राष्ट्रकवि घिमिरेको १०४ औँ जन्मजयन्ती विशेष 

राष्ट्रकवि माधव घिमिरे लमजुङ जिल्लाको पुस्तुन गाउँमा विक्रम संवत् १९७६ साल असोज ६ गते जन्मनुभएको थियो । पिता श्री गौरीशङ्कर उपाध्याय घिमिरे र माता द्रौपदीदेवी घिमिरेका कोखबाट जन्मनुभएका उहाँ सानै उमेरदेखि प्रतिभाशाली हुनुहुन्थ्यो । प्राकृतिक दृष्टिले भरिपूर्ण सुन्दर वातावरणले बालककालदेखि नै उहाँ प्रकृतिको पुजारी हुनुभयो । आफ्नै घर अगाडि ठिङ्ग उभिएर मुस्कुराइरहेको हिमालचुलीले कविमनमा सकारात्मक प्रभाव पारेको पाइन्छ । त्यसैले त उहाँका धेरै कृतिहरूमा राष्ट्रप्रेम र हिमालको चर्चा भएको भेटिन्छ । जस्तै :

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’…

राष्ट्रकवि घिमिरेद्वारा रचित साहित्यिक रचनाहरू कालजयी छन् । उहाँका गीतहरू ज्यादै कर्णप्रिय हुन्छन् । गौरी शोकखण्डकाव्यले त कविलाई मात्र नभएर सम्पूर्ण पाठकहरूलाई समेत धरधरी रुवाउन सफल भएको पाइन्छ । कुनै पनि साहित्यिक रचना गर्दा शब्दमा खेल्न उहाँ औधी सिपालु हुनुहुन्थ्यो । त्यसैले त उहाँको दक्षता, कला र क्षमता ज्यादै स्तुत्य भएको पाइन्छ ।

राष्ट्रकवि माधव घिमिरे मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको प्रमुख संरक्षक भएको कारण मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेको जन्मशताब्दी ऐतिहासिक किसिमले मनाउने निर्णय गर्‍यो । विभिन्न प्रकारका कार्यक्रमहरू धूमधामकासाथ कार्यान्वयन गर्नका लागि धेरै योजनाहरू बनाइएको थियो । जसमध्ये राष्ट्रकवि दम्पतीलाई रथारोहणसहित नेपाल प्रज्ञा-प्रतिष्ठानमा सरकार प्रमुखसहित उपस्थित भएर अभिनन्दन गर्ने, जन्मशताब्दी स्मारिका प्रकाशन गर्ने, उहाँको प्रतिमा निर्माण गरेर उचित स्थानमा अनावरण गर्ने, उहाँको नाममा हुलाक टिकट बनाउन पहल गर्ने इत्यादि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने उद्देश्य लिइएको थियो । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानबाट गरिमामय कार्यक्रमहरू सफल बनाउनको लागि विभिन्न प्रकारका प्रयासहरू भए ।

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको योजनाअनुसार नौमती बाजा बजाएर राष्ट्रकवि दम्पतीलाई रथारोहणसहित नेपाल प्रज्ञा-प्रतिष्ठानमा अभिनन्दन गर्ने कार्य तत्कालीन सरकार प्रमुख श्री केपी शर्मा ओली र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसहितका व्यक्तित्वहरूद्वारा सफलतापूर्वक सम्पन्न भयो । राष्ट्रकविको जन्मशताब्दी विशेषाङ्क लोकार्पण गर्ने कार्य सम्पन्न भइसकेको अवस्था छ । उहाँको प्रतिमा बनाउने कार्य सम्पन्न भइसकेको तर व्यवस्थापन गर्ने पक्ष अझै बाँकी रहेको देखिन्छ ।

योजनाअनुसार गर्नुपर्ने कार्यहरूमध्ये राष्ट्रकवि घिमिरेको नाममा हुलाक टिकट बनाउन औपचारिक प्रक्रियाको लागि मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको औपचारिक पत्रसहित राष्ट्रकविको तस्बिर लिएर सञ्चार मन्त्रीज्यूको कार्यालयमा पुगियो । सञ्चार मन्त्रीबाट हुलाक सेवा विभागमा सम्पर्क गर्नका लागि तोकआदेश हुन्छ । त्यसपछि हुलाक सेवा विभाग, डिल्लीबजारमा महानिर्देशकज्यूलाई भेट्ने काम हुन्छ । उहाँबाट सहृदयतापूर्वक स्वागत गरी जानकारी लिनुभयो । निवेदन र तोकआदेश पढिसकेपछि महानिर्देशकले टिकट सम्बन्धी नियमावली पढेर सुनाउनु भयो ।

राष्ट्रका लागि विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका कुनै पनि गौरवशाली व्यक्तिको हुलाक टिकट बनाउनको लागि सम्बन्धित व्यक्तिको निधन भएको दश वर्ष पूरा भएपछि मात्र प्रकाशन गर्न सकिने कुरा प्रस्टसँग लेखिएको कुरा जानकारी गराउनु भयो । हामीले त राष्ट्रकवि जीवित छँदै उहाँको नामको हुलाक टिकट प्रकाशन होस् भनेर निवेदन प्रस्तुत गरेका थियौँ । त्यसपछि मात्र थाहा भयो कि उहाँको नाममा हुलाक टिकट प्रकाशन गर्नको लागि नियमावली नै संशोधन गर्नुपर्ने अथवा मन्त्रीपरिषद्बाट निर्णय गराउनुपर्ने रहेछ । महत्वपूर्ण विषयको गाम्भीर्यतालाई ध्यानमा राखेर केही समयपछि मन्त्रीपरिषद्ले सकारात्मक निर्णय गरेको कुरा अवगत भयो ।



टिकटमा ढाकाटोपी लगाएको तस्बिरसहित लेखिएका अक्षरहरू : रु. १०           नेपाल
राष्ट्रकवि डा. माधवप्रसाद घिमिरे, जन्म : वि.सं. १९७६ असोज ७  National Poet Dr. Madhav Prasad Ghimire  DOB : Sept. २३ १९१९,  Rs. 10    Nepal, २०२०

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,
हुलाक सेवा विभाग,
फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय, बबरमहल, काठमाडौँ ।

राष्ट्रकवि डा. माधव प्रसाद घिमिरे हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रम २०७८ मङ्सिर २२ गते उल्लेख भएको देखिन्छ । यसरी हेर्दा राष्ट्रकवि घिमिरे स्वर्गीय हुनुभएको अर्थात् महाप्रस्थान गर्नुभएको १५ महिनापछि प्रकाशित हुलाक टिकटमा जन्म मिति वि.सं. १९७६ असोज ७ अर्थात् DOB : Sept. २३, १९१९  उल्लेख हुनु तर ‘स्वर्गारोहण अर्थात् महाप्रस्थान मिति वि.सं. २०७७ भदौ २’ उल्लेख नहुनु एउटा आश्चर्यपूणर् घटना भएको देखिन्छ ।

उहाँको निधन २०७७ भदौ २ गते मङ्गलवार भएको थियो । यसप्रकार २०७७ भदौ २ गते देखि २०७७ असोज ७ गतेसम्मको समय जम्मा ३६ दिन हुन आउँछ । उहाँ ३६ दिन थप यस धर्तीमा रहन सक्नुभएको भए उहाँको १०२ औँ जन्मोत्सव मनाउन पाइने रहेछ । समयलाई सकैले पनि छेक्न खोजेर छेक्न नसकिने कुरा सत्य हुन आयो । उल्लिखित कुराहरू हेर्दा के कुरा प्रस्ट हुन्छ भने राष्ट्रकवि माधव घिमिरे जीवितै हुँदा आफ्नो नामको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रम हेर्ने धोको हुँदाहुँदै अपूरो हुन गएको पाइन्छ ।

प्रमुख संरक्षक राष्ट्रकवि माधव घिमिरेकासाथ मर्स्याङ्दी वाङमय प्रतिष्ठानका तत्कालीन पदाधिकारीहरू अध्यक्ष डा. मुकुन्द पथिक, उपाध्यक्ष इ. लालबहादुर भुजेल, सचिव श्री लक्ष्मण थापा, कोषाध्यक्ष श्री कृष्णप्रसाद खनाल, सहसचिव श्री रामरञ्जन पौडेल र सदस्य श्री भोजराज बास्तोला लगायत  राष्ट्रकविको जन्मशताब्दीका सम्बन्धमा हुलाक टिकटको बारेमासमेत उहाँको निबास लैनचौर, काठमाडौंमा छलफल गर्दै ।