धेरैको घर आयो नि दशैँ, उज्यालो छरेर
विभिन्न थरी भाँडामा धेरै, अन्नले भरेर
किन्न छ गाह्रो बजारमा लुगा, कोरोना फैलियो
न धुँदा जान्छ मान्छेको मन, बेसरी मैलियो ।

रोटे र लिङ्गे पिङ खेल्नुभन्दा, नखेल्नु जाती हो
भीडले रोग सर्यो त्यो भने, जीवनकै खति हो
मान्यजनबाट आशीष र टीका, लाउने कसरी ?
मनको व्यथा बढ्दै छ किन? दुख्दै छ बेसरी ।

जनतालाई ऋणको भारी, दिनरात बढ्दै छ
चिन्ताको बोझ थपियो धेरै, शिखर चढ्दै छ
कतिको घर खर्च र पर्च, जोरजाम हुँदै छ
कसैको घर अँध्यारो भयो, सन्नाटा रुँदै छ ।

दशैँको चाड रोकियो कति, वज्र नै परेर
आँसुको झरी बर्सियो धेरै, जाँदैन टरेर
रोजगार गुम्यो धेरैको हरे, पाइला रोकियो
गन्तव्य पुग्न थियो नि बाँकी, टाउको ठोकियो ।

संस्कृति हाम्रो अति नै राम्रो, पुर्खाको नासो छ
विश्वमा सधैँ फैलेर जाओस्, सबैको चासो छ
सोचेर राम्रो अगाडि बढौं, समस्या हटाई
हातमा हात समाइ हिँडौँ, कोही हुन्न पराई ।