ठूलो परिवारका घरमुली मान्छे बुढ्यौलीले गर्दा धेरै बिरामी हुन्छन् । उनलाई अस्पतालमा भर्ना गरिन्छ । हरेक दिन बिरामीलाई भेट्न इष्टमित्र, छिमेकी र साथीभाइहरू आइरहन्छन् । उपचारका क्रममा समस्या जटिल भएका कारण शल्यक्रिया गर्नुपर्ने हुन्छ । सबैको सल्लाहअनुसार परिवारका सदस्यहरूले चिकित्सकहरूलाई शल्यकृया गर्ने अनुमति दिन्छन् । चिकित्सकहरूले आफन्तलाई बिरामीले लगाएका सबै लुगाहरू फुकाल्नुपर्ने कुरा जानकारी गराउँछन् । श्रीमती र छोराहरूले बिरामीले लगाएका सबै लुगा फुकालेर हरियो एप्रोन लगाइदिन्छन् ।

चिकित्सकहरूले वृद्ध बिरामीको शरीरमा जनै लगाएको देख्छन् । चिकित्सकहरूले जनै पनि फुकाल्नुपर्ने कुरा सुनाउँछन् । बिरामी आफैँले सकीनसकी बल्लबल्ल जनै झिक्छन् । बिरामीको हातमा जनैको साँचो देखिन्छ । परिवारका सबै सदस्यले अब जनैको साँचो कसलाई दिनुहुन्छ होला भनेर उत्सुकतापूर्वक हेरिरहन्छन् । एकैछिन् सन्नाटा छाउँछ । बिरामीले सानो स्वरमा ‘राम’ भनेर बोलाउनुहुन्छ । बिरामीको वरिपरि धुरिएका परिवारका सबै सदस्यहरू आश्चर्यचकित हुन्छन् । ‘राम’

डा. मुकुन्द पथिक

घरमा काम गर्ने सहयोगी हुन् । उनी बिरामीका अत्यन्त राम्रो विश्वासपात्र हुन् । रामले बिरामी बुबालाई हृदयदेखि नै पवित्र भावनाले दिनरात नभनीकन सेवा गरिरहेका छन् । धेरै महत्त्वपूर्ण दराज र अमूल्य कन्तुरको दुवै साँचो जनैमा गाँठो पारिएको देखिन्छ । घरमुली बिरामीले जनैसमेत दुइटा साँचो आँखाभरी आँसु पारेर ‘राम’को हातमा राखिदिनुहुन्छ । सबै मान्छे हेरेकोहेर्यै हुन्छन् । तीन घण्टा लगाएर शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन्छ । दुःखको कुरा पाँच दिनपछि ती बिरामी यस संसारबाट सधैंका लागि बिदा भएर जान्छन् । घरका सम्पूर्ण सदस्यहरूको सल्लाहअनुसार जनैको साँचो प्रयोग गर्ने सम्पूर्ण अधिकार रामलाई नै दिन्छन् ।