
राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका उज्ज्वल नक्षत्र हुनुहुन्छ । उहाँको १०५ औँ जन्मजयन्तीको उपलक्ष्यमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राष्ट्रकविकै नाममा स्थापित पुरस्कार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट वरिष्ठ गीतकार किरण खरेलज्यूलाई आश्विन ७ गते सोमबार राष्ट्रपति कार्यालयमा प्रदान गरिँदै छ ।
यसको अतिरिक्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय रूपमा अनेसास कविता महोत्सव २०२४ को सूचना प्रकाशित गर्दै प्रतियोगितामा प्रथम हुनेलाई ५०० अमेरिकी डलर, द्वितीय हुनेलाई ३०० डलर र तृतीय हुने तीनजना कविहरूलाई २०० डलर पुरस्कारसहित प्रमाण-पत्र प्रदान गर्ने घोषणा गर्नुले पनि राष्ट्रकविको कविव्यक्तित्वलाई झन् उचाईमा पुर्याउने कुरा निश्चित छ ।
नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ज्यादै लोकप्रिय मुनामदन गीतिकाव्य पछि सर्वाधिक मन पराइएको राष्ट्रकवि माधव घिमिरेको गौरी (शोककाव्य) नेपाली मनमा अमर भएर बसेको पाइन्छ । राष्ट्रकविले प्रष्ट रूपमा व्यक्त नगरे तापनि आफ्ना सबै साहित्यिक कृतिहरूमध्ये गौरी शोककाव्य नै मन पराउनुभएको भेटिन्छ । उहाँका राष्ट्रभक्तिले ओतप्रोत भएका कालजयी गीतहरूले नेपाली श्रोताका मनमस्तिष्कमा अमिट छाप छोड्न सफल भएका छन् ।
यस लेखमा राष्ट्रकवि घिमिरेको एउटा राष्ट्रिय गान र अर्को गौरी शोककाव्यको एउटा श्लोकलाई केन्द्रबिन्दुमा राखेर सङ्क्षिप्त रूपमा चर्चा गर्ने जमर्को गरिएको छ । यी सफल र जीवन्त रचनाहरूमा विम्बको समेत अत्यन्त कुशलतापूर्वक प्रयोग भएको पाइन्छ ।
उहाँको राष्ट्रिय भावनाले ओतप्रोत कालजयी गीत ‘गाउँछ गीत नेपाली’लाई यहाँ प्रस्तुत गरिएको छ —
गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल ।
गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेसी ब्युँझाउँछन् लहर लाख उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली ।
सीताले सारा फिंजाइन् दक्षिण लङ्का भारत
भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत
बुद्धले यहीँ पाए’थे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याए’थे सृष्टिको पहिलो बिहान ।
गाउँछ गीत नेपाली ………
पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं ?
हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा ।
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा प्रीतको गीत खोपेर
बाचौँला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा लिई
नाचौँला हामी हिमालमा ज्योतिको पंख उचाली
यस राष्ट्रिय भावनाले ओतप्रोत गीतले नेपालीले ज्योतिको पंखा उचालेर सुन्दर शान्त विशाल शब्दद्वारा नेपालकै जयजयकार गाएको भेटिन्छ । उहाँले नेपालका प्रमुख नदीहरूको नाम उल्लेख गर्दै विभिन्न विम्बहरूको कुशलतापूर्वक प्रयोग गर्नुभएको देखिन्छ । राष्ट्रकविले हिमाल, सीता, भृकुटी, बुद्ध, शिवको विम्ब प्रस्तुत गर्दै देशको पुरानो बृहत् सिमानाको वीरतापूर्वक गौरवगाथा मुक्तकण्ठले गाउनुभएको पाइन्छ । एशियाको माझमा सभ्यता बास बसेको र दिलको फूल नेपाली माटोमा रोपेको कुरालाई स्मरण गराउनुभएको देखिन्छ ।
चन्द्र र सूर्य ध्वजा लिएर हामी नेपालमा बाचौंला र रमाइलो गरी हिमालमा नाचौंला भन्ने कुरा दक्षताका साथ लयात्मक तरीकाले प्रस्तुत गर्नुभएको पाइन्छ । उहाँले सगरमाथा शिखरमा पहिले नेपाली पुगेको कुरालाई गौरवपूर्ण र वीररसको उपमालाई समेट्न सफल हुनुभएको भेटिन्छ ।
राष्ट्रकवि घिमिरेको अविस्मरणीय ‘गौरी शोककाव्य’को दुइटा हृदयस्पर्शी श्लोक ‘गाईलाई लग्यो नि आज कसले…’ र ‘यी रोए पनि दुःख लाग्छ…’लाई यहाँ उल्लेख गरिएको छ । पत्नी शोकबाट विक्षिप्त जस्तै हुनुभएका राष्ट्रकविले दुई जना साना छोरीहरूलाई कसरी हुर्काउने र घरव्यवहार कसरी सम्हाल्ने भन्ने चिन्ताले सताएको अवस्थामा अश्रुधारा बहाउँदै सिर्जना गर्नुभएको कालजयी श्लोकहरू हुन् यी । स्रष्टा सँगै मर्मज्ञ र सहृदयी पाठकहरू पनि भक्कानिंदै रोएका उदाहरणहरू नेपाली समाजमा भेटिन्छन् ।
‘गाईलाई लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पोथी पाश परी मरी नि ! गुँडमा बच्चा नहुर्कीकन
के हेर्छ्यौ यतिको बिजोग धरती माता ! तिमी फाट हे
आमा बालककी नमार भगवान् ! संसार भर्ने भए ।’
प्रयुक्त श्लोकमा पनि विम्बको प्रयोग ज्यादै प्रभावकारी तरिकाले समेटिएको पाइन्छ । भरखर ब्याएको गाईको बाच्छोलाई आमाबाट छुटाउँदाको अवस्था कस्तो हुन्छ भन्ने कुरा सहजै कल्पना गर्न सकिन्छ । राष्ट्रकवि घिमिरेले चराले गुँडमा भरखर जन्माएका बच्चाहरूलाई नहुर्काउँदै शिकारीले आमा चरालाई पाशोमा पारेर मार्दाको कहाली लाग्दा परिघटनालाई पनि हृदयस्पर्शी ढङ्गले श्लोकको रचना गर्नुभएको पाइन्छ । संसार अँध्यारो भएको अवस्थामा मनलाई सम्हाल्न त्यति सजिलो कहाँ हुन्छ र ! ए धरती माता ! तिमी यस्तो बिजोग के हेरेर बसिरहन्छ्यौ, यसको सट्टा बरु तिमी फाट भन्दै भगवानलाई संसार भर्ने हो भने बालककी आमालाई नमार भनेर बिन्ती गरिएको देखिन्छ । मानिसले जीवनमा कस्तोसम्म आपत् व्यहोर्नु पर्नेरहेछ भन्ने उदाहरण सटिक तरिकाले प्रस्तुत भएको भेटिन्छ ।
‘यी रोए पनि दुःख लाग्छ— यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन— यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ— यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ— यिनले फुर्की नखेले पनि ।’
राष्ट्रकवि घिमिरेले मानव जीवनमा घटेका घटनाहरूमा एउटा कर्म गर्दा अर्कै अर्थ लाग्नसक्ने कुरालाई समेत अत्यन्त मार्मिक र वैज्ञानिक दृष्टिकोणले कवितात्मक शैलीलाई परिमार्जनका साथ प्रस्तुत गर्नुभएको भेटिन्छ । कुनै पनि विषयलाई कुशलतापूर्वक काव्यात्मक शैलीद्वारा प्रस्तुत गर्नसक्नु उहाँको वैशिष्ट्यता हो ।
आफूलाई जन्मदिने आमाको देहान्त भइसकेको समेत थाहा हुन नसक्ने कहालीलाग्दो परिस्थितिमा भुइँमा लुटुपुटु गर्दै पिताजीको काखमा आएर रुँदै निदाएको अवस्था ज्यादै पीडादायक हुन् । पत्नी वियोगले छटपटिनुभएका कविज्यू छोरीहरू रोए पनि आमालाई सम्झिएर रोएका हुन् कि अथवा उनीहरू हाँस्दा पनि आमालाई बिर्सिएर हाँसेका हुन् कि भन्ने भ्रममा पर्नुभएको अवस्था छर्लङ्ग भएको प्रष्ट हुन्छ ।
यति मात्र नभएर यी छोरीहरू हुर्किएर खेले तापनि हर्षपूर्वक कसले हेर्ला भन्ने कुण्ठा एकातिर छ भने अर्कोतर्फ कलिला लालाबाला फुर्किएर नखेले पनि आफूलाई पीर लाग्ने विषयलाई समेत सटिक तरिकाले चित्रण गरिएको पाइन्छ ।
करुणरस प्रधान राष्ट्रकवि घिमिरेको कालजयी गौरी शोककाव्य अनन्तकालसम्म जीवित रहिरहनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

