डा. मुकुन्द पथिक

डाँफे चरीझैँ नाचेर आई
मनमा आँधी छोडेर गई
जीवनका दुःख हटाउँछु भन्थी
सारा सुख मेरा लुटेर गई ।

मृग नयन लिएर आई
झर्किदै आँखा तरेर गई
परेवाको रूप लिएर आई
मुटुमा गोली हानेर गई ।

डाँफे चरीझैँ नाचेर आई
मनमा आँधी छोडेर गई
फूलको थुङ्गामा सुताउँछु भन्थी
डरलाग्दो झाडीमा फालेर गई ।

प्रेमको स्नान गराउँछु भन्थी
छङ्गाछुर भिरमा पारेर गई
हिमाल हाँसेझैँ मुसुक्क हाँसी
डरलाग्दो सिंह भएर गई ।