नेपाली हास्यव्यङ्ग्य साहित्यको दीर्घकालीन प्रवर्धन गर्ने उद्देश्यले ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ स्थापना गरिने भएको छ। ख्यातिप्राप्त हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह खाइराइड का लेखक राजेन्द्र कार्कीद्वारा स्थापित उक्त पुरस्कार नेपाली भाषी विद्यालय तहका विद्यार्थीहरूबीच हुने प्रतियोगितामार्फत प्रदान गरिनेछ।
भानुभक्त, देवकोटा र भैरव अर्यालले रोपेको नेपाली हास्यव्यङ्ग्य साहित्यको बिरुवालाई मलजल गर्ने आशयसहित सुरु हुन लागेको यो पुरस्कारको व्यवस्थापन अमेरिका स्थित साहित्यिक समूह ‘बाङ्गा अक्षर’ ले गर्नेछ।
बर्षेनि हास्यव्यङ्ग्य निबन्ध, कथा वा कविता मध्ये एक विधामा प्रतियोगिता आयोजना गरिने र यस वर्षको प्रतियोगिता निबन्ध विधामा केन्द्रित हुने जानकारी बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले क्यालिफोर्नियाबाट दिनुभएकाे छ । उहाँका अनुसार बाङ्गा अक्षरको स्थापनाको पहिलो वार्षिकोत्सवको अवसर पारेर मंसीर वा पुस महिनामा पुरस्कार वितरण गरिनेछ।
पुरस्कार राशी क्रमशः प्रथमका लागि रु बीस हजार, दोस्रोका लागि रु दश हजार र तेस्रो पुरस्कार दुई जनालाई जनही रु पाँच, पाँच हजार हुनेछ। प्रतियोगिताको विस्तृत सूचना र सहभागिता प्रक्रिया चाँडै बाङ्गा अक्षरले सार्वजनिक गर्ने बताइएको छ।
प्रतियोगितामा संसारभरका कक्षा १२ सम्म अध्ययनरत नेपाली भाषी विद्यार्थीहरूले भाग लिन सक्नेछन्। यो पहलले हास्यव्यङ्ग्य साहित्यमा नयाँ पुस्ताको उत्साह बढाउने र नेपाली साहित्यमा हास्य विधालाई सशक्त बनाउने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










