आज म बिउँझदा मेरो सिरानी
निथ्रुक्क भिजेको थियो
अनि मेरो मानसपटलमा
हरिया सपनाको रिल घुमिरहेको थियो
म तिनै सपनामा आफूलाई
फेरि जोडिने अनि रमाइरहने
एउटा निरर्थक प्रयासमा थिएँ
जहाँ म थिएँ
मेरी आमा थिइन्
हाम्रो काली भैंसी थियो
हामी – म र आमा काली भैँसीको ढाडमा थियौं
टन्टलापुर घाम लागेका थिए
कालीले हामीलाई लाँदै थियो
पर स्याल कराउने जङ्गल नजिकैको
उसको प्यारो दहतर्फ
जहाँ ऊ दिनभर आहाल बस्थ्यो
म नजिकैको काभ्रोको रुखमा चढेर
अमिला टुसा चबाउँदै हरिया
रुखका हाँगामा चराका गुँड खोज्थे
पोखरीको डिलमा बसेर आमा
पानीमा साना साना ढुंगा फ्याँक्थिन्
एकोहोरो धमिलो पानीमा हेरिरहन्थिन्
मानौँ उनी पानीसँग मैले नबुझ्ने भाषामा
केही भनिरहेकी छन्
बिउँझिदा बिउँझिदै मेरो मन अमिलो भयो
किनकि न त त्यहाँ काली भैंसी थियो
न मेरी आमा, न जङ्गल, न पोखरी
त्यहाँ त एउटा अजङ्गको होटल थियो
त्यसको एक कोठामा म सुतिरहेको थिएँ
भिजेको सिरानीमा हरिया सपना सम्झँदै।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।