
सधैँ भएन, भएन अनि भएन मात्र भन्न जानेका
लाएर र खाएर नअघाउने उमेरमा
“भएन” को भारीले थिचेर
मरेर पनि मुक्ति पाउन नसकेका
भड्किएका आत्माहरू
घरी घरी टाउको उठाउँछन्
र विदेशी माटोमा मनको कुण्ठा फुकाउँछन्
वर्गाकार हाते मेसिनका दासहरू
त्यही मेसिनमा देखिने नौटङ्की दुनियाँलाई
आफ्ना पीडा र कुण्ठा बिसाउने चौतारी सम्झेर
कहिले कराउँछन्,
कहिले बर्बराउँछन्,
कहिले चिच्याउँछन्
कहिले दिउँसै सपना देख्छन्
दुनियाँमा आफूलाई मात्र सबैभन्दा श्रेष्ठ देख्छन्
आफ्नो भाग्यको ठेगान छैन
फेसबुकका भित्तामा दुनियाँको भाग्य लेख्छन्
देश बिग्रिएको देख्छन्
देश भाँडिएको देख्छन्
देश झुकेको देख्छन्
कसैले देश थुकेको देख्छन्
फलानाले देश लुटेको देख्छन्
ढिस्कनाले देश चुटेको देख्छन्
तर आफ्नो धोती खुस्किसक्यो
आफ्नै नग्नताले लाज पचाइसक्यो
आफूलाई भने देख्दै देख्दैनन्
आफूले गरेर पुर्याउनु परेन
भनरे पुर्याइदिए भैहाल्छ
खोकिसक्दा संसारभरि आफ्नो महानवाणी गइहाल्छ
देश बिग्रिँदा उनलाई के
देश सप्रिँदा उनलाई के
बिग्रिएको देश छोडेर आफू सप्रिन हिँडेका पिशाचहरू
डलरको मुते न्यानोमा आफू ढाडिएपछि
आफ्नो अतृप्त पूर्व जीवन सम्झेर
घरी घरी भड्किने गर्छन्
अज्ञात दर्शक र श्रोतातर्फ फर्किएर
गाली र मिथ्याको मेघ गर्जनसहित
पड्किने गर्छन्
अतृप्त आत्माहरू,
फुर्सद पायो कि सामाजिक सञ्जालमा आउँछन्
टुटे फुटेका स्वदेशी सम्झनाका किस्साहरू सम्झदै
कहिले आफ्नै दुर्गतिका गीत गाउँछन्
गोर्खे भूत चढेका दिन मोबाइलकै स्क्रिनमा देश बनाउँछन्
यिनीहरूलाई सबै थोक गनाउँछ
देश गनाउँछ,
परदेश गनाउँछ,
छिमेक गनाउँछ,
समाज गनाउँछ,
साथी गनाउँछ,
अर्काको सबै थोक गनाउँछ तर
आफ्नो भने पाद पनि बसाउँछ
भूतहरू पिशाचहरूभन्दा धेरै ज्ञानी हुन्छन्
एक पटक एक ठाउँको लागि मरिसकेपछि
घरी घरी त्यही ठाउँलाई सम्झेर रोइलो गरिराख्दैनन्
उनीहरू आफ्नै संसारमा हराएका हुन्छन्
कुनै सिकायत छैन
कुनै हल्ला छैन
उनीहरूको आफ्नै दुनियाँ छ
आफ्नै कार्य तालिका छ
उनीहरू आफू बन्छन् तर
अर्कालाई बनाउने ठेक्का लिदैनन्
किनकि उनीहरूसँग संसार सम्याउने समय छैन
तर यी विदेशमा बसेर
मरेर पनि मर्न मर्न नसकेका
भगौडा पिशाचहरू अराजक हुन्छन्
शारीरिक रुपमा खसी भैसकेका तर
मानसिक रुपमा बोकाको फुइँ नबिर्सेका
भर्खर खसी पारेका बोकाजस्ता हुन्छन्
यिनीहरु दाँत झरेका बाघजस्तै हुन्
कुर्लन सक्ने
फुर्ति देखाइहाल्ने
झम्टिन सक्ने
तर गर्न केही नसक्ने
यिनलाई व्यावसायिकताको ब थाहा हुँदैन
तर आडम्बरको अ देखी र सम्मकै पितृ बुझाउन सक्छन्
यस्ता पिशाचहरू जताततै हुन सक्छन्
तपाईंको घरमा हुन सक्छन्
तपाईंको समाजमा हुन सक्छन्
तपाईंको छिमेकमा हुन सक्छन्
अथवा, तपाईंभित्रै प्रवेश गर्न सक्छन्
त्यसैले होशियार रहनु होला, सजग रहनुहोला
पिचासहरूदेखि
किनकि यिनीहरू समयको बर्बादी हुन्
तनाव उमार्ने खेतबारी हुन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

