काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘हिमाल त कालै भएछ’ शीर्षक कविता सङ्ग्रह प्रकाशनमा आएको छ ।
क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि गोपालप्रसाद रिमालको १०८ औं जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा कविका सुपुत्र मदनप्रसाद, साहित्यकार तथा पूर्वप्रशासक हरिप्रसाद रिमाल, प्रकाशक स्कन्दा रिमाल, विद्युत्कर्मी साहित्य समाजका सल्लाहकार कृष्णदेव शब्दसेना लगायतले कृति विमोचन गर्नुभयो ।
कृतिमा खोला, हिमाल, पत्रकारिता, राजनीति, पर्यावरण, जलवायु परिवर्तन, प्रदूषण, जन्मदिन, विवाह, जागिर, मानिसमा रहेको अतिप्रलोभन, शासकको क्रूरता, निम्न वर्गको पीडालगायत विषय समेटिएका २९ कविता सङ्गृहित छन् । ती सबै कविता सन् २०२४ मा रचना गरिएका हुन् ।
सो अवसरमा पदयात्री तथा नियात्राकार विष्णुप्रसाद शर्मा पराजुली र पत्रकार एवं साहित्यकार गान्धीराज काफ्लेले रिमालले हिमाल र खोलालाई प्रतीक बनाएर वर्तमान जल्दाबल्दा विषयलाई उजागर गरेको बताउनुभयो । आध्यात्मिक चिन्तक तथा पूर्वप्रशासक हरिप्रसाद रिमालले पत्रकार भएर पनि श्याम रिमालले निरन्तर साहित्य साधना गरिरहेको जनाउँदै कालजयी साहित्य रचना गर्न स्रष्टाहरूलाई आग्रह गर्नुभयो ।
प्रथम गद्यकवि तथा नेपाली समस्यामूलक नाटकका प्रणेता गोपालप्रसाद रिमालका सुपुत्र मदनप्रसादले आफ्ना पिताले राजनीति र साहित्यमा लागेर दुःख पाएकाले आफ्नी आमाले आफूहरूलाई ती क्षेत्रमा नलाग्न सुझाव दिएको बताउँदै पिताका नाममा अब छिट्टै प्रतिष्ठान गठन गरिने जानकारी दिनुभयो ।
प्रकाशकमध्येका इ शुभम अधिकारीले सरल भएर पनि प्रभावशाली रहेकाले श्याम रिमालका कविता प्रकाशन गर्न आफूहरू प्रेरित भएको बताउनुभयो । सङ्ग्रहका रचयिता तथा नुवाकोट, विदुर –८, बगुवाका श्याम रिमालले राजनीति, पत्रकारिता, पर्यावरण र समसामयिक विषयले तानेकाले आफूले सन् २०२४ मा लेखिएका कविता प्रकाशनमा ल्याएको जानकारी दिनुभयो । उहाँका यसअघि पाँच गीत र कवितासङ्ग्रह प्रकाशन भइसकेको छ ।