काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लेखिएको जेन्जी आन्दोलनमा केन्द्रित कवितासङ्ग्रह ‘लाभा’ प्रकाशित भएको छ । नवपुस्ताको भावना, विद्रोह र समसामयिक राजनीतिक यथार्थलाई समेट्दै तयार गरिएको यो कृति नेपाली साहित्यमा नयाँ हस्तक्षेपका रूपमा आएको बताइएको छ ।
विशेषता के छ भने, कृतिको प्रकाशकका रूपमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारीरहनुभएको छ, जसले यस प्रकाशनलाई भावनात्मक रूपमा अझ अर्थपूर्ण बनाएको छ ।
यस सङ्ग्रहमा २३ कविता र पुस्तकावरणमा समावेश एकसहित जम्मा २४ कविता रहेका छन् । यी कविताले नेपालमा भदौ २३ र २४ मा उत्कर्षमा पुगेको जेन्जी आन्दोलनको सन्दर्भलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छन् । ‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन्जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’ र ‘भदौ २३’ जस्ता शीर्षकमार्फत नवपुस्ताका आकाङ्क्षा, विद्रोह, कुशासन, भ्रष्टाचार र सामाजिक असन्तोषलाई अभिव्यक्त गरिएको छ ।
कृतिले निराश युवाहरूको उकुसमुकुस र आक्रोशलाई ‘लाभा’ (ज्वालामुखीबाट निस्कने पदार्थ) का रूपमा रूपान्तरण गर्दै समकालीन समाजको मनोविज्ञान चित्रण गरेको छ । जेन्जी आन्दोलनसँग सम्बन्धित नेपाली कवितासङ्ग्रहका रूपमा यसलाई सम्भवतः पहिलो प्रयास मानिएको छ ।
रिमालका यसअघि ‘एउटा काँढा बिझ्दा’, ‘त्रिशूलीको किनाराबाट’, ‘बारपाक’, ‘नदी बग्दैन’, ‘चमेरो’ र ‘हिमाल त कालै भएछ’ लगायत कृतिहरू प्रकाशित भइसकेका छन् । उनी हाल आफ्ना विभिन्न निबन्धहरूको सङ्ग्रह प्रकाशनको तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।
समकालीन राजनीतिक चेतना र युवापुस्ताको आवाजलाई काव्यात्मक रूपमा प्रस्तुत गर्ने प्रयासका कारण ‘लाभा’ लाई नेपाली साहित्यमा एक महत्त्वपूर्ण कृतिका रूपमा हेरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










